कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनौती नै अवसर

कान्तिपुर संवाददाता

काठमाडौं — हरेक क्षेत्रमा युवा सहभागिता बढ्दो छ । फरक/फरक क्षेत्रमा लागेर रमाउने युवा जमात्को कमी छैन । अवसरलाई उपयोग गर्न युवा पुस्ता अग्रसर छन् । कठिन नै भए पनि चुनौती सामना गर्न तयार हुन्छन् ।

 चुनौती नै अवसर

त्यसैले युवा पुस्ता लिडरका रुपमा चर्चित हुन थालेका छन् । जहाँ युवाले नेतृत्व गर्छ, त्यहाँ परिवर्तन हुन्छ भन्ने नारा नै चलेको छ । चितवनमा नेतृत्व तहमा काम गरिरहेका ६ युवाबारे विमल खतिवडा लेख्छन् :

अहिलेसम्म जिम्मेवारी सम्हाल्न गाह्रो भएको छैन । सबैले सम्मान गर्ने पेसा भएकाले होला, धेरै कुरामा ख्याल गर्नुपर्छ ।

भरतपुर ४ वैदिकनगरकी बबिता घिमिरे चितवन मेडिकल कलेजमा आईसीयू इन्चार्ज हुन् । उनीसहित दुई इन्चार्ज रहेको यसमा ३० जना स्टाफ कार्यरत छन् । उनी प्राय: ११ बजेदेखि ७ बजेसम्म काम गर्छिन् । ‘कहिलेकाहीँ स्टाफ म्यानेज गर्न गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘तर पेसाप्रति सन्तुष्ट छु, रिस्क नलिए केही पनि गर्न सकिँदैन ।’ परिवारको चाहना उनले एमबीबीएस गरे हुन्थ्यो भन्ने थियो । नर्स भए पनि उनलाई परिवारले राम्रै साथ दिएको छ ।
‘विदेश जाने सोच छैन,’ २७ वर्षीया बबिता भन्छिन्, ‘आफ्नै देशमा बसेर बिरामीको सेवा गर्न चाहन्छु । आफंैले नेतृत्व गरेर काम गर्नुको मज्जा नै बेग्लै हुन्छ ।’ उनी बेस्ट नर्सिङ स्टाफको अवार्ड पनि जितेकी छन् । ‘नेतृत्व लिएपछि त्यसलाई सम्हाल्न सक्नुपर्छ । कहिलेकाहीँ समस्या हुन्छ तर अहिलेसम्म मैले जिम्मेवारी पूरा गर्दै आएकी छु,’ उनले भनिन् ।
चितवन निकुञ्जअन्तर्गत सौराहा सेक्टरका प्रमुख अभिनय पाठक निकै व्यस्त हुन्छन् । जुनसुकै बेला र परिस्थितिमा पनि काममा खट्छन् । उनले यस कार्यालय सम्हालेको दुई वर्ष भइसक्यो । ‘सुरुमा कार्यालय प्रमुख भएर आउँदा मलाई कर्मचारीहरूले समेत पत्याएनन्,’ २७ वर्षीय उनले भने, ‘पछि सबैले चिन्दै गए, उमेर सानो भए पनि जिम्मेवारी ठूलै छ ।’ राप्ती नगरपालिका ६ स्थित आदर्श टोलका उनी ६७ कर्मचारीका हाकिम हुन् ।
शिक्षक दम्पतीका अभिनयले दोस्रोपल्टको लोकसेवा परीक्षामा २ नम्बरमा नाम निकालेका थिए । पोखराको वन विज्ञान अध्ययन संस्थानबाट फरेस्ट्रीमा बीएस्सी गरेका उनी कार्य अनुभव सुनाउँछन्, ‘पहिला कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोलाउँदा के बोल्ने, कसरी बोल्ने भन्ने डर हुन्थ्यो । बल्ल अचेल कन्फिडेन्स बढेको छ, बोल्न सक्ने भएको छु ।’ उनी आफ्नो गाउँबाट अधिकृतमा नाम निकाल्ने पहिलो व्यक्ति हुन् ।
‘चितवन निकुञ्जको अन्य क्षेत्रभन्दा यो सेक्टरमा चहलपहल बढी छ,’ उनी भन्छन्, ‘ठूला कार्यक्रम यहीं हुन्छन् । राति गस्ती हुन्छ । त्यसैले यो क्षेत्रलाई बढी सचेत भएर हेर्नुपर्छ ।’ कामको चापले नै उनी नजिकैको घर पनि दुर्लभै जाने गर्छन् । वाइल्ड लाइफ कन्जर्भेसन एन्ड म्यानेजमेन्टमा मास्टर्स गर्ने लक्ष्य राखेका उनको मोबाइल पनि निकै व्यस्त हुन्छ ।
बीपीएच (ब्याचलर अफ पब्लिक हेल्थ) गरेकी भरतपुर १६ स्थित विजयनगरकी प्रमिता ढकाल अहिले मास कम्युनिकेसनमा मास्टर्स गर्दैछिन् । जति पढाइ, त्यति नै उनको व्यस्तता बढ्दो छ । २७ वर्षीया उनी स्थानीय क्रिस्टल टेलिभिजनमा समाचार संयोजक हुन् । उनको नेतृत्वमा पहिले २४ जनाले काम गर्थे, अहिले आठ जना छन् । उनी समाचार संकलनदेखि प्रस्तुत पनि गर्नेसम्म काम गर्छिन् ।
‘मिडियामा लागेपछि सबैले चिन्ने भएकी छु,’ उनी भन्छिन्, ‘ढुक्क भएर काम गर्ने भएकी छु ।’ उनी तलब पाउनसाथ बा–आमालाई उपहार लिएर जान्छिन् । ‘अहिलेसम्म जिम्मेवारी सम्हाल्न गाह्रो भएको छैन । सबैले सम्मान गर्ने पेसा भएकाले होला धेरै कुरामा ख्याल गर्नुपर्छ,’ उनले दशकयताको अनुभव सुनाइन्, ‘तर महिला पत्रकारलाई हेप्ने प्रवृत्ति देख्दा भने दु:ख लाग्छ । पुरुषसरह काम गर्दा पनि महिला पत्रकार भनेपछि हाम्रै समाजमा नाक खुम्च्याउने चलन छ । तर मैले हिम्मत हारेकी छैन ।’
अहिलेका युवा पुस्ता जति गाह्रो काम त्यति नै इन्जोए गर्दै जिम्मेवारी पूरा गर्ने गर्छन् । यो कुरा गोरखा अजिरकोट गाउँपालिका २ खरिबोटका कुश सापकोटामा पनि लागू हुन्छ । २७ वर्षीय उनी सौराहाको होटल पार्कसाइडका म्यानेजर हुन् । होटलको लेखा पनि उनी आफैं हेर्छन् । बीबीएस पास गरेका उनको चाहना बिजनेस गर्ने हो, अहिले भने म्यानेजरको जिम्मेवारी सम्हाल्न व्यस्त छन् । ‘कामप्रति सन्तुष्ट छु र यसैको कमाइले चितवनमै जग्गा पनि जोडेको छु,’ २२ कर्मचारीलाई व्यवस्थापन गरिरहेका उनले भने । पाहुनालाई सत्कार गर्नेदेखि लिएर अरू काममा उनी बिहान ६ बजेदेखि राति १० बजेसम्मै खटिरहेका भेटिन्छन् ।
भरतपुर १९ शारदानगरकी विन्दु भण्डारी भेटनरी डाक्टर हुन् । तर उनी जलवायु परिवर्तनको अभियन्ता बनेकी चार वर्ष भइसक्यो । २४ वर्षीया उनी ‘क्लाइडमेट्स’ की उपाध्यक्ष हुन् । यो संस्थामा ३० देशका ४ सय युवा सक्रिय सदस्य छन् । त्यसको नेपाल शाखाका रूपमा यही वर्ष (सन् ०१७) मा क्लाइडमेड्स नेपाल बनेको हो । यसको बोर्डमा १३ जना र पूरा संस्थामा १ सय ५ सदस्य छन् । विन्दुले संस्थामा मेन्टरको काम गर्छिन् ।
उनले सुरुमा अभियानमा आवश्यक खर्च जुटाउन पार्ट–टाइम टिचिङ पनि गरेकी थिइन् । ‘सामाजिक काममा सक्रिय छु,’ उनी भन्छिन्, ‘छोरीले उदाहरणीय काम गरेको भनी बा–आमा पनि दंग छन् ।’ अभियानकै सिलसिलामा उनी अमेरिका, दक्षिण कोरिया, फ्रान्स, मोरक्को र भारत पनि पुगेकी छन् । काम र अभियानलाई सँगै अगाडि बढाउने उनको योजना छ ।
भोजपुरको षडानन्द नगरपालिका १ नेपालेडाँडाका निरञ्जन भट्टराईले प्रहरी निरीक्षक (इन्स्पेक्टर) का रूपमा सात महिनायता भरतपुरको १० नम्बर वडा प्रहरी कार्यालय सम्हालिरहेका छन् । २७ वर्षीय उनको कमान्डमा ७१ जना प्रहरी छन् । फिजिक्समा मास्टर्स सकाएका उनले भने, ‘सानैदेखिको रहर फौजीमा छिर्ने थियो । त्यो सपना साकार भएको छ ।’ उनको काम समाजमा शान्ति स्थापना गर्नु हो । जहाँ समस्या छ, त्यहाँ उनको टोली तुरुन्तै पुग्ने गर्छ । चाडबाडमा पनि बिदा मिलेमात्र उनी घर पुग्छन् । ‘प्रहरीमा लागेपछि निडर भएको छु,’ शिक्षकका यी सन्तानले भने, ‘चौबिसै घण्टा आफ्नो क्षेत्रको मोनिटरिङ गर्नुपर्छ ।’ 

 

प्रकाशित : आश्विन २०, २०७४ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?