कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाईबाई पेट्टी

हिमेश

काठमाडौं — अमेरिकी संगीतकार, गायक र गीतकार टम पेट्टीको निधन निकै अप्रत्याशित रह्यो । विश्वास नै गर्न नसकिने । सुरुमा उनलाई हृदयाघात भएको थियो भनियो । पछि मृत्युको अपुष्ट समाचार पनि आयो । फेरि अर्को समाचार आयो, होइन, उनी जीवित नै छन् ।

 बाईबाई पेट्टी

तर अन्त्यमा जुन समाचारलाई लिएर डर थियो, त्यही भयो । पेट्टी साँच्चै रहेनन् । केही समयका लागि पेट्टीका प्रशंसक अन्योलमा रहे, तर उनको परिवारले अन्त्यमा पुष्टि गरेको थियो, उनको निधनलाई ।

उनी नेपालमा कति लोकप्रिय छन्, त्यसलाई नाप्ने औजार छैन । तर कुनै समय उनका गीत काठमाडौंतिर खुबै राम्रोसँग सुनिन्थे, सन् ९० अगाडिसम्म । सन् १९५० को अक्टोबरमा उनको जन्म भएको थियो, फ्लोरिडामा । उनी ६६ वर्ष बाँचे । उनकै नाम अगाडि आउने गरेर ब्यान्ड बनाइएको थियो, टम पेट्टी एन्ड द हर्टब्रेकर्स । उनी यस ब्यान्डका फ्रन्टम्यान थिए । उनका केही गीत सोलो आर्टिस्टका रूपमा पनि रहेको छ । 
उनको खास ख्याति भने सन् ८० को सुपर ब्यान्ड ट्राभलिङ विलबरिजबाट रहेको हो भन्दा पनि फरक भने पर्दैन । यसको अर्थ टम पेट्टी एन्ड द हर्टब्रेकर्सलाई कम आँक्ने पनि होइन । ट्राभलिङ विलबरिज वास्तवमै सुपर ब्यान्ड थियो । नहोस् पनि किन ? यस ब्यान्डका सदस्य थिए, बब ड्यालन, जर्ज ह्यारिसन, जेफ लेन, रोय ओरबिसन र तिनै टम पेट्टी । यति नाम चलेका व्यक्तित्व कुनै एक ब्यान्डमा समेटिन सक्छ र ? धेरैको प्रश्न यस्तै रहने गथ्र्यो ।
साँच्चै यो ब्यान्ड धेरै वर्ष टिक्न सकेन । खालि सक्रिय रह्यो, सन् १९८८ देखि १९९० सम्म मात्र । तर जति उनीहरू सँगै रहे, विश्व संगीतले सुन्न पायो, केही महान् गीत । ब्यान्डले खालि दुई एल्बम मात्र निकाल्यो । तर दुवै उत्तिकै चर्चित रहे, उत्तिकै मनपराइए पनि । सन् १९८८ मा उनीहरूले जारी गरेको गीत हो, ‘ट्वीटर एन्ड द मन्की म्यान’ । हाम्रोतिर पनि खुबै लोकप्रिय रहेको गीत हो । एकक्षण फुर्सद निकालेर यो गीत सुन्ने हो भने खुबै मज्जा आउने गर्छ ।
पेट्टीका अधिकांश गीत या त रक एन्ड रोल रहे, होइन भने रक । उनको व्यक्तित्वमा अरू नाम चलेका गायकको जस्तो जादुयी छनक पाइन्न । उनी प्राय: सामान्य देखिन्छन् । अझ धेरै अवसरमा त कन्ट्री सिंगर जस्तो । तर उनको आवाजमा जादु प्रस्ट सुन्न सकिन्छ । त्यसैले उनी पनि सबैभन्दा एल्बम बिक्री हुने कलाकारमध्येमा एक पर्छन् । सन् २००२ मा त हो, उनलाई ‘रक एन्ड रोल हल अफ फेम’ राखिएको । यो उनका लागि पनि ठूलै उपलब्धि थियो ।


दस वर्षको उमेरमा उनले एल्भिस प्रिस्लेलाई भेटेका रहेछन् । त्यही अवसरमा पेट्टीले निर्णय गरे– आफू पनि यही क्षेत्रमा लाग्छु । सन् १९७६ मा उनले टम पेट्टी एन्ड द हर्टब्रेकर्स ब् यान्ड बनाए । रक ब्यान्डका रूपमा यसले उत्तिकै ख्याति पनि कमायो । केही सिनेमा पेट्टीले अभिनय पनि गरे । खासमा उनको मृत्यु यति धेरै किन अप्रत्याशित रह्यो त ? हिजो जस्तै हो, उनले आफ्नो पछिल्लो कन्सर्ट गरेको । मृत्युको सात दिन अगाडिसम्म पनि स्टेजमै व्यस्त थिए ।
उनले पछिल्लोपटक गाएको लस एन्जलसमा थियो र यससँगै समाप्त भएको थियो, उनीहरू अर्थात् टम पेट्टी एन्ड द हर्टब्रेकर्स ब्यान्डको ५३ दिन लामो टुर । अन्तिम कन्सर्टको अन्तिम गीत थियो, उही ‘अमेरिकन गर्ल’ । उनी लगभग अधिकांश कन्सर्टको अन्त्य यही गीतबाट गर्थे र लस एन्जलसको कन्सर्ट पनि अपवाद रहेन । उनको सबैभन्दा मन पराइएको गीत हो, यो । यससँगै उनको अर्को निकै लोकप्रिय गीत रहेको छ, ‘फ्रि फलिङ’ ।
कन्सर्टमा मात्र उनले अमेरिकन गल्र्स सात सयपल्ट गाइसकेको छ भनिन्छ । ‘ट्वीटर एन्ड द मन्की म्यान’ सँगै यी दुई गीत दोहोर्‍याएर सुन्दा अझ मीठो लाग्नेछ । यहाँनिर उत्तिकै उल्लेख गर्न लायक तथ्य के पनि हो भने टम पेट्टी एन्ड द हर्टब्रेकर्स ब्यान्ड टुरकै क्रममा आफ्नो ब्यान्ड स्थापनाको ४० वर्ष पनि मनाइरहेका थिए । त्यसैले टुर सुरु हुन अगाडि पेट्टीले भनेका थिए, हाम्रा लागि यो निकै 
सम्झनालायक हुनेछ । नभन्दै यस्तै भयो, तर दु:खान्त रूपमा । तस्बिरहरु: एजेन्सी

[email protected]

प्रकाशित : आश्विन २०, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?