१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बुद्धका ती दिनहरू

नेपाल आइडलको उपाधि जितेका बुद्ध लामा आर्थिक रुपमा संघर्षरत परिवारबाट आएका हुन् । उनको संघर्षका कथा :
सजना बराल

काठमाडौं — जन्मायौ तिमीले आमा, हुर्कायौ तिमीले आमा
तर आज आफूबाट धेरै टाढा, बनायौ किन आमा...
यी आफ्नै शब्दलाई बुद्ध लामाले कम्पोज गराइसकेका छन् । अन्तरा थपेर अलि परिस्कृत गर्न बाँकी छ । त्यो चाँडै गर्नेछन् किनभने उनलाई जसरी पनि यो गीत एल्बममा समावेश गर्नु छ ।

बुद्धका ती दिनहरू

जन्मायौ तिमीले आमा, हुर्कायौ तिमीले आमा

तर आज आफूबाट धेरै टाढा, बनायौ किन आमा...

यी आफ्नै शब्दलाई बुद्ध लामाले कम्पोज गराइसकेका छन् । अन्तरा थपेर अलि परिस्कृत गर्न बाँकी छ । त्यो चाँडै गर्नेछन् किनभने उनलाई जसरी पनि यो गीत एल्बममा समावेश गर्नु छ । यसमा उनका भावनाहरू जोडिएका छन् । प्रेम समेटिएको छ । वास्तविकता उनिएको छ ।
‘मैले लेखेको पहिलो गीत हो,’ नेपाल आइडल बनेपछि व्यस्त रहेका बुद्धले भने, ‘आमाका लागि लेखेको हो । रेकर्ड गर्ने इच्छा थियो । पहिले सकिनँ । अब त जसरी पनि गर्छु ।’ नेपाल आइडल भएर उनले १५ लाख रुपैयाँको एल्बम सम्झौता पाए तर काम भने सुरु भएको छैन । कार पनि हात परेको छैन । बुद्धलाई पीर छ ।
‘घरमा कसैलाई गाडी चलाउन आउँदैन,’ उनले हाँस्दै भने, ‘त्यसबारे पछि सोचौंला । चिन्ता गीतको छ । सधैं अरूको गीत गाएर भएन । आफ्नै गीत गाउनुपर्छ ।’ उनी पहिलो गीत नै फ्लप भएको सोच्न चाहँदैनन् । बरु दह्रै मिहिनेत गर्ने मुडमा देखिए । आमामा समर्पित गीत खत्रा बनाउनेमा उनी ढुक्क छन् ।
उनकी आमा ५३ वर्षकी छन् । बेलाबेला ज्वरो आउने, मुटु दुख्ने समस्या छ । बिरामी भइरहने भएकाले आमा घरमै हुन्छिन् । पहिले उनी अरूका घरमा लुगा धुने, भाँडा माझ्ने गर्थिन् । बुबा पोखरा महानगरपालिकाको क्लिनर हुन् । चार सन्तानमध्ये बुद्ध कान्छो हुन् । भेना र भान्जालाई उनी ‘फ्यामिली प्याकेज’ मान्छन् ।
विसं २०५५ सालमा जन्मिएका बुद्ध दिदीको स्वर सुनेर हुर्किए । उनकी दिदी आँचलले पनि नेपाल आइडलमा भाग लिएकी थिइन् तर थिएटर राउन्डबाटै बाहिरिइन् । प्रतियोगिताबाट बाहिरिनुलाई बुद्ध दुर्भाग्य मान्छन् । ‘नराम्रो गाएर मात्र होइन मान्छे अनेक कारणले एलिमिनेट हुन्छ,’ उनले भने, ‘मेरी दिदी छोरा सम्झिएर गीतमा फोकस हुनुभएन । मभन्दा राम्रो गाउने अरू थुप्रै प्रतिस्पर्धी थिए । उनीहरू स्टेजमा नर्भस भए । ट्यालेन्ट भएर मात्रै नहुने रहेछ ।’
आइडलका करिब ४० एपिसोडमध्ये चार वटामा आफूले बिगारेको बुद्ध स्विकार्छन् । शब्द बिर्सिनाले आफू ‘लो’ देखिएकामा खिन्न छन् । उनलाई यसमा ठूलो विस्मात् छ । दबाबले त्यस्तो भएको बताए । ‘तर, मान्छेहरूले कुरा बुझिदिनुभएन,’ उनले अलिकति गुनासो पोखे, ‘मैले सधैं आफू भएर पर्फर्मेन्स दिएँ । धेरै नाटक गरिनँ । जस्तो आउँछ त्यस्तै गाएँ । वास्तविकता देखाएँ । शब्द कन्फ्युज भएको दिन धेरै पश्चताप हुन्थ्यो ।’
जेहोस् उनी सर्वाधिक मत पाएर गायन क्षेत्रको नमुना बनेका छन् । यसले उनको जीवन नै बदल्यो । सानै उमेरमा ठूलो सफलता हात परेकाले कहिलेकाहीँ छक्क पर्छन् । सपना हो कि जस्तो लाग्छ । तर, वरिपरिको माहोलले यथार्थ पुष्टि गर्छ । उनी खुसी हुन्छन् । ‘त्यत्रो सेकेन्ड, त्यत्रो घण्टा, त्यत्रो समय लगाएर ठूलो खुट्किलो उक्लिएँ,’ होचो कदका बुद्ध मुस्कुराउँदै बोले, ‘अब झन् धेरै च्यालेन्ज छ । विपक्षीहरूलाई मेरो टिममा ल्याउनु छ । संघर्ष गर्न छोड्दिनँ ।’


हुन त बुद्धले एक तहमा संघर्ष पहिले पनि गरेका थिए । घरको आर्थिक स्थिति कमजोर भएकाले प्लस टु पढ्दाताका नै जागिर खाए । आमाको उपचारका लागि त्यही बेला खटिए । उनी अमरसिंह चोकको नौमती दोहोरी साँझमा ४५ सय रुपैयाँ तलबको काम पाउँदा नाचेका थिए । ‘त्यतिले नै पुगिरहेको थियो, बाँचेकै थिएँ,’ उनले भने, ‘तर, तलब थोरै भयो भन्नेचाहिँ लाग्थ्यो । धेरै किचकिच गरेपछि ५५ सय बनाइदिनुभएको थियो ।’
पछि उनी दौंतरी दोहोरी साँझमा सालैजोलगायत भाका गाउन थाले । त्यहाँ पनि उति नै पारिश्रमिकले उनलाई दिक्क लगायो । टिप्स जोड्दा महिनाको ८ हजारजति कमाउँथे । त्यसैले घर र पढाइ खर्च पुर्‍याउनुपथ्र्यो । गुरुकुल संगीतालयमा म्युजिक पढ्थे । टुरिजम एन्ड होटल म्यानेजमेन्टमा स्नातक दोस्रो सेमेस्टर पढ्दै गर्दा उनी नेपाल आइडलमा पुगे ।
उनी इनोसेन्ट पाराका थिए । भाँती पुर्‍याएर बोल्न आउँदैन थियो । आइडलमा अरू बोलेको सुनेरै सिक्थे । ‘लाटोकोसेरो जस्तो थिएँ,’ उनले भने, ‘ट्वाल्ल परेर बस्थें । अरूको कुरा बुझ्दिन थिएँ । अहिले बाठो भइसकेको छु । धेरै कुरा बुझ्छु ।’ बोल्ने कुरा त भइगयो, गायनमा पनि असाध्यै सुधार भएको उनले बताए । त्यहाँको गु्रपिङले आत्मविश्वासी बनाएको बुद्धको भनाइ छ ।
आइडलले आफूलाई एकैचोटि भविष्यमा पुर्‍याइदिएको उनी बताउँछन् । यो नभएको भए यत्तिको ख्याति कमाउन १५/२० वर्ष लाग्ने उनको आकलन छ । ‘म अहिले फ्युचरमा पुगेजस्तो लाग्छ,’ उनले भने, ‘मेरो फ्युचर अहिले प्रेजेन्ट भएको छ । म आकाशमा उडिरहेको छु । आराम गर्न भुइँमा झर्छु र फेरि उड्छु ।’

प्रकाशित : आश्विन २०, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?