कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मिस टेक

विजय तिमल्सिना

काठमाडौं — नेपालमा दुई दशकयता ब्युटी प्याजेन्टहरु खहरे खोलाजस्तै बढिरहेका छन् । यसैलाई व्यक्तित्व विकासका रुपमा लिने युवतीहरु ठूलै संख्यामा छन् । गत वर्षदेखि ‘मिस टेक’ सुरू भयो र दोस्रो संस्करण पनि दसैंअघि सम्पन्न भयो ।

मिस टेक

मिस टेक सुन्दरी प्रतियोगिता होइन, युवतीहरुले बनाएको नौलो प्रविधिको प्रतिस्पर्धा हो । यो प्रतियोगिता युवतीहरुका लागि आकर्षक प्लेटफर्म बन्दै गएको छ ।

पोखराकी सुमित्रा खड्का र सुविना शर्मा अनि काठमाडौंकी सन्ध्या गुरागाईंको भेट माइक्रोसफ्ट स्टुडेन्ट पार्टनरसिप प्रोग्रामको सिलसिलामा भएको थियो । सुमित्रा र सुविना पश्चिमाञ्चल क्याम्पसमा इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरका विद्यार्थी हुन् । उनीहरूको काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययन गरिरहेकी सन्ध्यासँगको भेट मित्रतामा मात्रै सीमित नभई व्यावसायिक रूपमै अघि बढ्ने तरखरमा छ । उनीहरूको टिम ‘माउन्टेन गर्ल’ मिस टेक २०१७ को विजेता बन्यो ।

असोज पहिलो साता राजधानीमा सम्पन्न मिस टेक प्रतियोगिताको दौरान गरिएको दुईदिने 
ह्याकाथनमा उनीहरूले बनाएको गर्भवती महिला र पेटमा रहेको आमाको स्वास्थ्यको रेकर्ड राख्ने डिभाइस उत्कृष्ट घोषित भएको थियो । मिस टेकको विजेताका रूपमा उनीहरूको टोलीले ५० हजार पुरस्कार पायो र यसले बढाएको आत्मविश्वास उनीहरूका लागि सबभन्दा महत्त्वपूर्ण पुरस्कार हो, जसलाई मापन गर्ने कुनै आधार छैन ।
उनीहरूले बनाएको प्रोटोटाइप डिभाइसले पेटमा रहेको बच्चाको मुटुको चालको तथ्यांक राख्नुका साथै गर्भवती महिलाको शरीरको तापक्रप पनि जाँच्छ । यो डिभाइस कस्तो हो ? सुमित्रा भन्छिन्, ‘यो कम्मरमा लगाउने पेटीजस्तो छ, जसले पेटमा रहेको बच्चाको मुटुको चाल र आमाको शरीरको तापक्रप नाप्छ ।’


नोभा टेक

उनीहरूले बनाएको डिभाइसले अरू काम पनि गर्छ । यसबाट गर्भवती महिलाको स्वास्थ्य अवस्थाको जानकारी चिकित्सकसमक्ष पुर्‍याउन सकिन्छ र तत्काल सम्बन्धित महिलालाई नै पनि जानकारी दिन सकिन्छ । बच्चाको मुटुको चाल अस्वाभाविक भए वा महिलाको शरीरमा अस्वाभाविक तापक्रम भए यसले तत्कालै जानकारी दिन सक्छ । यसका लागि उनीहरूले वेब एप्लिकेसन बनाएका छन् । तत्कालका लागि वेब बेस एप्लिकेसन बनाए पनि भविष्यमा भने मोबाइल म्यासेजमार्फत जानकारी बाँड्ने काम गर्ने उनीहरूको योजना छ ।
तथ्यांक विभागका अनुसार हिमाली क्षेत्रमा मातृ मृत्युदर बढी रहेकाले यस्तो डिभाइस बनाउने योजना फुरेको सुमित्रा बताउँछिन् । यस टोलीले प्रतियोगिताका क्रममा बनाएको यो डिभाइसलाई व्यावसायिक रूप दिने योजना बनाएका छन् । ‘यसलाई प्रोडक्टका रूपमा निकाल्दा १५ सय रुपैयाँ जति खर्च लाग्ने अनुमान छ तर एक जनाले प्रयोग गरेपछि अरूले पनि यसलाई प्रयोग गर्न सक्ने भएकाले डिभाइस बनाएर आवश्यक पर्नेहरूलाई भाडामा दिने योजना बनाएका छौं,’ उनले भनिन् । उनीहरू 
आफ्नो डिभाइसलाई विश्वसनीय बनाउनका लागि चिकित्सकहरूसँग सल्लाह गर्ने 
योजनामा छन् ।
उनीहरूले आफ्नो डिभाइस निर्माणमा टेम्प्रेचर सेन्सर, हार्टविट सेन्सरसहित वाईफाई मोड्युम प्रयोग गरेका छन् । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) द्वारा आयोजित दोस्रो मिस टेक प्रतियोगितामा महिलाहरूसम्बन्धी विषय छानेर कुनै समस्या सुल्झाउने उपाय निकाल्ने, त्यसको प्रोटोटाइप बनाउने र त्यसलाई व्यवसायमा ढाल्ने योजना बनाउने चुनौती दिइएको थियो ।
यसपालि अघिल्लो संस्करणभन्दा के फरक रह्यो त ? र्‍यानका अध्यक्ष विकास गुरुङ भन्छन्, ‘यो वर्ष पहिलो पटक युवतीहरूले महिलासम्बन्धी समस्या समाधानको उपाय सुझाएर त्यसको प्रोटोटाइप पनि बनाएर प्रस्तुत गरे । यसलाई व्यवसायमा कसरी बदल्ने योजना पनि बनाए । यो नै नयाँ कुरा हो ।’
मिस टेक २०१७ मा उपविजेता भएको टिम हो– प्रोजेक्ट आवाज । उनीहरूको प्रोब्लम सल्भिङ डिभाइस महिला हिंसासँग सम्बन्धित छ । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका चार विद्यार्थी सम्मिलित प्रोजेक्ट आवाजले महिलाहरूले आफ्नो आवाजमार्फत गुनासो गर्न सक्ने डिभाइस बनाएको छ ।
आफ्नो डिभाइसबारे बुझाउन प्रोजेक्ट आवाजकी सदस्य सदिच्छा भण्डारी एटीएम मेसिनको उदाहरण दिन्छिन् । ‘हामीले यस्तो डिभाइसको प्रोटोटाइप बनाएका छौं, जहाँ गएर महिलाहरूले आफूमाथि भएको हिंसाको उजुरी बोलेरै दिन सक्छन्,’ उनले भनिन् । यस्तो गुनासो सीधै प्रहरी वा सम्बन्धित निकायमा पुगोस् भन्ने उनीहरूको योजना हो । कसरी पुग्छ त ? सदिच्छा भन्छिन्, ‘डिभाइसमा क्यामेरा र फिंगरप्रिन्ट स्क्यानर राखेका छौं जसले पीडितको पहिचान गर्न सजिलो हुन्छ ।’
प्रोजेक्ट आवाज टिम आफ्नो डिभाइस व्यापारिक प्रयोजनका लागि नभई सम्बन्धित क्षेत्रमा काम गरिरहेका संघ–संस्थाको सहयोगमा विभिन्न ठाउँमा राख्ने योजनामा छन् । पीडितहरूका गुनासा सम्बन्धित निकायबाहेक अन्यत्र नपुगोस् भन्ने उनीहरूको चाहना छ । सदिच्छाका अनुसार भ्वाइस रेकर्डर, स्पाई क्यामेराको प्रयोगसहितको आफ्नो डिभाइसको निर्माण मूल्य १२ हजार रुपैयाँ हुन्छ । यस समूहमा उनीसहित प्रविना रिमाल, ममिता राई र ममता यादव संलग्न छन् ।
हिमालय कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरू अस्मिता कोइराला, बेलमता भण्डारी र सारा पौडेलले बनाएको अटोमेटिक ग्रिनहाउस फार्मिङ सिस्टमको योजनाले मिस टेक २०१७ मा तेस्रो पुरस्कार जित्यो । यस टोलीको नाम हो– नोभा टेक । उनीहरूको योजनाबारे सारा भन्छिन्, ‘ग्रिनहाउसको तापक्रम र माटोको अवस्था मापन गरी स्वत: काम गर्न सक्ने प्रविधि ।’ ग्रिनहाउसको अवस्था हेरी यसले स्वत: पानी हाल्ने वा अझ तातो बनाउने निर्णय गर्न सक्छ । उनीहरू यस्तो प्रविधिले किसानलाई सजिलो हुने विश्वास गर्छन् ।


प्रोजेक्ट आवाज


अटोमेटिक ग्रिनहाउस फार्मिङ सिस्टमका लागि उनीहरूले हल्का मार्केट रिसर्च पनि गरेका छन् । उनीहरूले बनाएको प्रविधि एक सय वर्ग फिटका लागि करिब ५० हजार रुपैयाँ खर्च हुन्छ । ‘बजारमा यसैका लागि किसानले एक लाख रुपैयाँसम्म तिर्छन्,’ सारा भन्छिन्, ‘त्यसैले हाम्रो योजना किसानले मन पराउनुहुन्छ जस्तो लाग्छ ।’ 
आफ्नो यही प्रोजेक्टलाई व्यावसायिक रूपमा अगाडि बढाउने उनीहरूको योजना छ । यसैका लागि उनीहरूले अन्य दुई साथीसँग मिलेर कम्पनी पनि खोलिसकेका छन् ।
मिस टेकमा यसपालि १६ टिममा ५२ युवती सहभागी थिए । आयोजक र्‍यान अध्यक्ष विकास गुरुङ आकर्षण बढ्दै गएकाले हरेक वर्ष मिस टेक प्रतियोगिता आयोजना गर्ने बताउँछन् । उनी भन्छन्, ‘युवती र किशोरीका लागि विभिन्न सौन्दर्य प्रतियोगिता मात्रै हुन्छ । प्रविधि क्षेत्रमा उनीहरूको नेतृत्वदायी भूमिका बढाउन मिस टेक आयोजना भएको हो ।’ यसमा सरकारी र अन्य निकायले पनि चासो देखाएकाले हरेक वर्ष यसलाई बृहत् बनाउँदै लैजाने योजना उनले सुनाए । 

[email protected]

प्रकाशित : आश्विन २०, २०७४ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?