जागिर होइन आफ्नै काम

उनीहरूले तहल्का मच्चाउने त्यस्तो ठूलो केही काम गरेका छैनन् । न त कुनै ठूलो सफलता हासिल गरेका छन् । तर, उनीहरूले गर्न खोजेको काम भने भिन्न छ । अरूभन्दा भिन्न । यो वर्णन हो, काठमाडौंका आकार अधिकारी, २३ र धादिङका हरि श्रेष्ठ, २४ र उनीहरूको कम्पनी अटोमेसन रिसर्च सेन्टरको ।

 जागिर होइन आफ्नै काम

अचेलका युवा पुस्ता जागिर खानेभन्दा पनि आफंै केही गर्ने सोचले अघि बढेका पाइन्छन् । यस्तै इन्जिनियरिङ अध्ययन पूरा गरेपछि आफंै काम थालेका युवाका मिहिनेत :

सातदोबाटो चोकबाट अलि भित्र पाटन औद्योगिक क्षेत्र नजिकै एउटा शान्त घरको दोस्रो तलामा आकार र हरिको अफिस छ, जहाँ उनीहरू आफ्ना अन्य साथीहरूसँग नयाँ उत्पादनको अनुसन्धानमा तल्लीन हुन्छन् । कम्पनी स्थापना गरेको एक वर्षमा उनीहरूले केही काम पनि गरेर देखाइसकेका छन् । उनीहरूले खेर गएको कागजबाट पेन्सिल बनाउने मेसिन बनाएर बिक्री गरिसकेका छन् । अहिले भने उनीहरू माटो निरीक्षण गर्ने डिभाइसको ‘प्रोटोटाइप’ तयार गर्ने अन्तिम चरणमा पुगेका छन् ।
यो उनीहरूले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अनुरोधमा तयार पारेका हुन् । उनीहरूले बनाएको डिभाइसले इन्टरनेटको सहयोगमा माटोसम्बन्धी तथ्यांकहरू टाढा बसेर पनि थाहा पाउन सकिन्छ । माटोमा राखिने डिभाइसले माटोको तापक्रम, आद्र्रता, अम्लीयपना र मुलायमको तथ्यांक राख्न सक्छ । उनीहरू यो तथ्यांक दिनेबाहेक माटोअनुसारको बाली सिफारिस गर्न सक्ने एप्लिकेसन बनाउन चाहन्छन् जुन कृषकका लागि ‘शिक्षक’ बनोस् ।


साथै, यही एप्लिकेसनअन्तर्गत कृषकले मोबाइलबाटै आफ्नो ग्रिनहाउसमा पानी हाल्नेदेखि तापक्रम नियन्त्रण गर्नेसम्मको काम गर्न सक्नेछन् । 
‘नार्कले देशभर रहेको आफ्नो ५२ वटा अनुसन्धान केन्द्रमा हाम्रो डिभाइस प्रयोग गर्ने आश्वासन दिएको छ,’ आकार भन्छन्, ‘त्योबाहेक कृषकहरूले पनि यसको प्रयोग गर्न सक्छन् ।’ आफूले बनाएको डिभाइस निकै सानो भएकाले जहाँ पनि लगेर प्रयोग गर्न सकिने उनले बताए । उनीहरूले १५ हजार खर्चेर यो ‘प्रोटोटाइप’ तयार पारेका हुन् ।


पेन्सिल बनाउने मेसिन भने उनीहरू आफूले बनाएलगत्तै धादिङका आफ्नै साथीलाई बिक्री गरेका थिए । साथीले सोही मेसिन प्रयोग गरी पेन्सिल उत्पादन थालेको सुन्दा उनीहरू दंग पनि छन् । ‘नेपालमा प्राय:जसो यस्ता मेसिन चीनबाट आउँदारहेछन् जसको मूल्य १२ लाख जति पर्ने रहेछ, तर हामीले 
बनाएको मेसिन तीन लाखमा बिक्री गरेका हौं,’ हरिले भने ।
अटोमेसनमा नियमित अनुसन्धानबाहेक उनीहरूले नियमित आम्दानीका लागि अन्य बाटो पनि पहिल्याएका छन् । आकार र हरि आफ्ना साथी सन्दीप बुढा र त्रिवेश कायस्थसँगै राजधानीका तीन स्कुलमा नियमित रूपमा अटोमेसन सम्बन्धी क्लास दिन पुग्छन् जसबाट उनीहरूको नियमित आम्दानी टरेको छ । 
यसबाहेक उनीहरूले भित्ते घडीलाई ह्यान्डीक्र्याफ्टसँग जोडेर उत्पादन गरी बजारमा बिक्री गर्ने तयारी गरिरहेका छन् । जसका लागि उनीहरूले आफ्नो साथीको अर्को समूहलाई जिम्मा दिएका छन् । ‘कुनै कुराको अनुसन्धान गरेर उत्पादन गरी ब्रान्डका रूपमा बिक्री गर्ने जिम्मा अर्को समूहलाई दिने हाम्रो योजना हो जसका कारण हामी रिसर्चमा केन्द्रित हुन पाइयोस्,’ आकार भन्छन्, ‘यसले गर्दा धेरै काम गर्न सजिलो हुन्छ ।’
भित्ते घडीलाई विभिन्न हाते कलासँग जोडेर बिक्री गर्ने आफ्नो योजना सफल हुनेमा उनीहरू विश्वस्त छन् किनकि उनीहरूले परीक्षणका लागि बनाएको १५० वटा यस्ता सामग्री बजारमा मन पराइएको छ । अब उनीहरू यसको ‘मास प्रोडक्सन’ मा जाने तयारीमा छन् र काम धमाधम अघि बढिरहेको छ ।
ठूला ‘सिस्टम’ मा मात्रै नभई स–साना सामान पनि नयाँ ढंगबाट बनाएर बिक्री गर्ने उनीहरूको योजना छ । त्यसका लागि बसेर पढ्न मिल्ने र ल्यापटप राखेर चलाउन मिल्ने सानो खालको टेबुल बनाएर बिक्री गर्ने योजनामा छन् उनीहरू । यसका लागि पट्याउन मिल्ने टेबुलको आफैंले नमुना तयार पारिसकेका छन् ।
बेङ्लोरको राजीव गान्धी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङ सकाएका आकार र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा व्याचलर गरेका हरिले किन नेपाल आएर जागिर खोज्न नलागेर रिसर्च कम्पनी खोल्नेतिर सोचे ? हरि जवाफ दिन्छन्, ‘जागिर खाएर पढेको खर्च उठाउन १० वर्ष लाग्छ, आफ्नै लागि काम गरे चाँडै सफल भइन्छ ।’


आकार नोभेम्बर २८ देखि ३० सम्म भारतको हैदराबादमा हुने ग्लोबल इन्टरप्रिनरसिप समिटमा सहभागी हुँदैछन् । समिटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इभान्का ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम छ । सहभागीका रूपमा अन्य देशका प्रतिनिधिसँग सम्बन्ध बढाउने र उद्यमीको अनुभव हासिल गर्ने उनको योजना छ । यसबाहेक आकार र हरि दुवैको अर्को प्रतिबद्धता पनि छ । ‘हामी कुनै पनि हालतमा कामका लागि विदेश नजाने भनेर नेपाल फर्किएका हौं,’ उनीहरू भन्छन्, ‘बरु अरूलाई काम दिन सकियोस् ।’
डिजाइन गरेको प्रोडक्ट बनाउन वर्कसप धाउनुपर्ने बाध्यताले उनीहरूलाई नयाँ सोच पनि दिएको छ । खेर गएको कागजबाट पेन्सिल बनाउने मेसिन उत्पादन र अन्य कामका लागि आफ्नै ‘वर्कसप’ बनाउने उनीहरूको योजना छ । खोजेको सामान बजारमा नभेटिँदा भने उनीहरू बेलाबेला समस्यामा पर्छन् । साथीहरूसँग सापटी मागेर कम्पनी स्थापना गरेको आकार र हरिले बताए । भन्छन्, ‘तीन लाख सापटी लिएका थियौं, आधा पैसा तिर्‍यौं ।’ एउटै ‘प्रोडक्ट’ सफल भए बाँकी ऋण तिरिन्छ, उनीहरू 
ढुक्क छन् । 

[email protected]

तस्बिरहरु: अंगद ढकाल

प्रकाशित : आश्विन २७, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?