चकलेटी हिरोको भविष्य

चकलेटी हिरोका रुपमा नेपाली फिल्ममा स्थापित भएका आर्यन सिग्देलद्वारा केही अभिनीत पछिल्ला फिल्महरु फ्लप भइरहेका छन् । कात्तिकमा रिलिज हुने ‘रूद्रप्रिया’ बाट के अपेक्षा गर्ने ?
गोकर्ण गौतम

अचेल चकलेटी हिरोको बोलवाला छ । अनमोल केसी आकर्षणको केन्द्रमा भइहाले, प्रदीप खड्का, पल शाह, सलिनमान बानियाँहरूको चमक पनि कम्ता लोभलाग्दो छैन । नेपाली फिल्ममा चकलेटी लुक्सको यो क्रेजको पहिलो हकदार आर्यन सिग्देल मानिन्छन् ।

 चकलेटी हिरोको भविष्य

उनले ‘मेरो एउटा साथी छ’ बाट यो ‘लिगेसी’ को बिजारोपण गरेका थिए, जतिबेला मल्टिप्लेक्स कल्चर’ भर्खर सुरु हुँदै थियो । अहिले राजधानीमात्र होइन, मोफसलका सहरमा पनि मल्टिप्लेक्स खोलिएका छन् ।

चकलेटी हिरोका दिन त सुरु भयो नै तर विडम्बना १ स्वयम् आर्यनलाई चाहिँ आफ्नो अस्तित्व जोगाउनै धौधौ परेको स्थिति छ । अघिल्लो वर्ष प्रदर्शित आफ्नै ब्यानरको ‘क्लासिक’ ले कमाल नदेखाएसँगै उनको करिअर र क्रेजमाथि प्रश्नचिह्न उठाइन थालिएको हो । आर्यन आफैं भन्छन्, ‘खोइ, भाग्यले साथ नदिएको हो कि के हो ? भनेजस्तो फिल्म नै गर्न पाइएको छैन । राम्रोभन्दा नराम्रोमध्ये कम नराम्रो सिनेमा खेल्नुपरेको छ ।’ उनी अनमोलहरूको आगमनलाई सकारात्मक र स्वागतयोग्य मान्छन् ।


भाग्यमानी हुनु नहुनु एउटा पक्ष हो तर तीतो सत्यचाहिँ आर्यनले दर्शकको अपेक्षा र समयानुकूल फिल्म नगरेकै हुन् । उनका फिल्म र दर्शकको स्वादको ‘रिदम’ मिलेको छैन । ‘क्लासिक’ पछि ‘होमवर्क’ ले निराश बनायो । कात्तिक २ गते झन्डै डेढ वर्षपछि उनी अभिनीत ‘रुद्रप्रिया’ रिलिज हुँदै छ । रेखा थापासँगको ‘रि–युनियन’ आर्यनका लागि कतिको फलदायी होला भन्ने सवाल त उठ्छ नै । एक समयको ‘हिट कपल’ सात वर्षपछि स्क्रिन सेयर गर्दैछन् । बीचमा उनीहरूबीच चर्को कटुता थियो । किनारा लाग्ने स्थितिका बीच फेरि सहकार्य गरेको छ यो जोडीले । तर चिन्ता रेखासँगको सम्बन्धको उतारचढाव र नाफा/घाटाको होइन, ‘रुद्रप्रिया’ को बक्सअफिस र प्रतिक्रियाले आर्यनको करिअरलाई पार्न सक्ने असरबारे हो किनभने तत्कालका लागि उनीसँग अर्को फिल्म छैन ।
धेरैलाई पत्तो नहोला, फिल्म स्टार हुनु अगाडि आर्यन सडक नाटक गर्थे । राष्ट्रिय नाचघरमा नृत्य सिक्थे । टेलिफिल्म खेल्थे । त्यसैले पनि फिल्ममा उनको अभिनयले प्रशंसा बटुल्यो । आनीबानी त्यस्तै सरल । ‘देख्दै हिरो लाग्ने’ लुक्सले जोड दियो । आर्यनपछि प्रदीप र पललाई ‘हटकेक’ बनाएका ‘मेरो एउटा साथी छ’ का निर्देशक सुदर्शन थापा आर्यनसँग अरू चकलेटी हिरो दाँज्न नमिल्ने बताउँछन् । सुरुमा त आर्यनको प्रतिस्पर्धी नै थिएनन् । केही पछि जीवन लुइँटेल आए ।
आर्यन एकसाथ ‘हिफाजत’ जस्तो सिंगल थिएटर र ‘फस्ट लभ’ जस्तो मल्टिप्लेक्स लक्षित फिल्म खेल्थे, दुवै हिट हुन्थ्यो । सुटिङ अगाडि वर्कसप हुनुपर्छ भन्थे । उनी अगाडि सायदै कुनै मूलधारको हिरोले निर्देशकसँग स्क्रिप्ट माग्ने र कमेन्ट गर्ने सामथ्र्य राखेको थियो । अब प्रश्न उठ्छ, यति गुण हुँदाहुँदै आर्यन किन ओरालो लागे त ? सुरुमा उनकै जवाफ, ‘मैले कहिल्यै आफूलाई स्टार महसुस गराउन सकिनँ । महत्त्वाकांक्षा पनि राखिनँ । अर्को कमजोरीचाहिँ मेरो अब्बल फिल्म सर्कल भएन ।’
आर्यनले आफ्नै बलबुतामा सफलता कमाए तर बचाउन सकेनन् । उनी आफैंलाई यस्तै लाग्न थालेको रहेछ । उनलाई न हिजोको सफलताको कारण थाहा छ, न आजको असफलताको तथ्य नै । एकसुरले काम गरे तर चनाखो भएनन् । फिल्मबाट बाहेक कमाइको अरू स्रोत थिएन, त्यसैले बीचमा ‘पैसाकै लागि फिल्म खेले,’ ‘सपना’, ‘पुनर्जन्म’, ‘दबाब’ लगायतका फिल्म खेले । परिवार पाल्नै पर्‍यो । ‘आवेग’ र ‘नाइके’ मा एक्सन भूमिकामा देखिए, माखो मरेन । बरु साख झन् धुमिलियो ।
उनी आफ्नो करिअरको सवालमा जति गम्भीर हुनुपर्ने हो, भएनन् । कतिसम्म भने सुदर्शन निर्देशित ‘मधुमास’ ले समेत आर्यनलाई उकास्न सकेन । अलिपछि त सुदर्शनसँगको सम्बन्धमै तिक्तता आयो, अहिले ‘आई एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ का निर्देशक दिनेश राउतसँग सुमधुरता छैन । उनले सुदर्शनसँगको सम्बन्ध भने फेरि जोडेका छन् । उनलाई बल्ल आफ्नो फिल्मी यात्रालाई फेरि रफ्तार दिने फिल्मको चर्को अभाव महसुस हुन थालेको छ ।
‘रुद्रप्रिया’ ले त्यो खालीपना पूरा गर्ला नि, आखिर रेखासँगको ‘किस्मत’ बाटै हो, उनको भाग्य चम्किएको । तर आर्यन यो फिल्मले आफ्नो करिअरलाई ‘बुस्ट’ गर्ने सवालमा उतिविघ्न आशावादी देखिएनन् । आर्यनले मलीन स्वरमा भने, ‘फिल्म राम्रो बनेको छ । हिट हुनुपर्ने हो तर मेरै करिअरका लागि वरदान सावित होला भन्ने लाग्दैन ।’ 


आर्यनको करिअर
हिट फिल्म
किस्मत (सन् २००७)
मेरो एउटा साथी छ (सन् २००९)
फस्ट लभ (सन् २०१०)
कसले चोर्‍यो मेरो मन (सन् २०१०)
नोभेम्बर रेन (सन् २०१४)

फ्लप फिल्म 
कोही मेरो (सन् २०१०)
आई एम सरी (सन् २०१२)
कलिउड (सन् २०१३)
अल्बिदा (सन् २०१४)
होमवर्क (सन् २०१६)


[email protected]

प्रकाशित : आश्विन २७, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?