कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

छनोटको क्लाइमेक्स

हिमेश

फुटबलको विश्वकप छनोटमा त्यस्तो के छ, जुन विश्वकप आफैंमा छैन ? यो प्रश्न अर्जेन्टिना र लियोनल मेसीलाई सोधे हुन्छ । अथवा अर्जेन्टिनी समर्थकलाई । एक वर्षपछि रूसमा हुने विश्वकपको छनोट अहिले ‘क्लाइमेक्स’ मा पुगेको छ । अफ्रिकी समूह चरण र प्ले–अफलाई छाडेर छनोटका खेल समाप्त भइसकेका छन् । सन् २०१८ को विश्वकपमा कुन–कुन टिमले खेल्नेछ त, त्यसको समीकरण पनि लगभग तय भइसकेको छ ।

छनोटको क्लाइमेक्स

अर्बौं जनसंख्यालाई आकर्षित पार्ने विश्वकप फुटबल अर्को वर्ष रुसमा हुँदै छ । त्यसमा ३२ टिमबीच चर्को प्रतिस्पर्धा हुनेछ । यसको छनोट पनि उत्तिकै चर्को छ, जुन सुपरस्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको टिमले गरेको संघर्ष नियाले हुन्छ । आइसल्यान्ड र पानामाले इतिहास रच्दा रुसको यात्रा तय गर्ने २२ टिममा समृद्ध अमेरिका र सात वर्षअघि फाइनल खेलेको नेदरल्यान्ड्स परेनन् ।

धेरैलाई डर थियो, कतै यही समीकरणमा अर्जेन्टिना नपर्ने त होइन ? अर्जेन्टिनी टिममाथि नै यति धेरै चिन्ता किन त ? हाम्रोतिर त हद नै देखियो, अर्जेन्टिना समर्थकहरूको डर, चिन्ता, पछि खुसी र उमंग । उत्तर र कारण पनि स्पष्ट छ । र, यो हो, लियोनल मेसी । मेसी निर्विवाद रूपमा हाम्रा पुस्ताले देख्न पाएका सबैभन्दा राम्रा खेलाडी हुन्, यसमा कुनै शंका छैन । तर यही मेसी भएको टिमले छनोटमा भने लगातार संघर्ष गर्नुपर्‍यो ।
त्यसो त अर्जेन्टिनी टिममा अरू उत्तिकै राम्रा खेलाडी नभएको पनि होइन, तर एउटा टिमका रूपमा अर्जेन्टिनाको प्रदर्शन छनोटमा पक्कै राम्रो हुन सकेन । त्यसैले इक्वेडरविरुद्धको अन्तिम छनोट खेल अगाडि अर्जेन्टिना टिममाथि ठूलो दबाब थियो । मेसीमाथि त अझ धेरै दबाब । तर विश्व फुटबलको पनि एउटा अघोषित नियम जस्तै हो, मेसी जस्ता खेलाडीले आफ्नो वास्तविक रूप देखाउने भनेको अन्त्यतिर नै हो, जति बेला टिमलाई साँच्चै अब्बल दर्जाको खेल आवश्यक हुन्छ । 
इक्वेडरको क्युटोमा खेल्न सजिलो हुन्न किनभने यो समुद्री सतहबाट २८ सय मिटर उचाइमा पर्दछ । खेल्दा मात्र कहाँ हो र ? यहाँ पुग्दा पनि सास फेर्न गाह्रो मान्ने धेरै छन् । ब्राजिली टिमको एउटा तस्बिर निकै भाइरल भएको थियो, यही क्युटोमा खेल्दाको । त्यस तस्बिरमा देखिन्छ, ड्ेरसिङ रुममा केही खेलाडी सीधै सिलिन्डरबाट अक्सिजन लिइरहेका छन् । फेरि इतिहास पल्टाउने हो भने क्युटोमा अर्जेन्टिनाको पछिल्ला केही प्रदर्शन राम्रा पनि थिएनन् ।
सायद मेसीलाई यस्तै गाह्रो र अप्ठ्यारो स्थिति मनपर्दो हो । इक्वेडरविरुद्ध एक गोलले पछाडि परेको स्थितिमा पनि मेसीले निकै उत्कृष्ट ह्याट्रिक गरे । यी तीन गोल फेरि दोहोर्‍याएर हेर्नुपर्छ, सबै एकसेएक छन् । एउटा हेरेपछि त्यही उत्कृष्ट जस्तो लाग्छ, फेरि अर्को हेर्दा त्यो झन् उत्तिकै उत्कृष्ट । मेसीको विशेषता नै यही हो । जुन दिन अर्जेन्टिना पनि रूसमा जाने तय भएको थियो, त्यही दिन पोर्चुगलले पनि त्यहाँ जाने टिकट काट्यो ।


पोर्चुगल अर्थात् क्रिस्टियानो रोनाल्डोको टिम । डर थियो, कतै यही युरोपेली च्याम्पियन पनि विश्वकपका लागि छनोट नहुने त होइन ? आखिरमा पोर्चुगल पनि आफ्नो समूहको छनोटमा शीर्ष स्थानमा रहेपछि प्ले–अफ पनि खेल्नुपरेन । छनोटका क्रममा मेसीको जति चर्चा भयो, सायद त्यति यसपल्ट रोनाल्डोको भएन । छनोटका क्रममा रोनाल्डोले पोर्चुगलका लागि त्यस्तो भूमिका खेल्न सकेनन्, जुन मेसीले अर्जेन्टिनाका लागि खेले, त्यसैले पो हो कि ?


अहिलेको आधुनिक फुटबलमा ‘मेसी भर्सेस रोनाल्डो’ को चर्चा कहिले पनि सेलाउने छैन । दुवै खेलाडीका उत्तिकै समर्थक छन् र यी समर्थकले मेसी अथवा रोनाल्डोको समर्थन गर्नु पछाडिका पनि उत्तिकै कारण होलान् । तर यसपल्टको छनोटका क्रममा मेसीले सिद्ध गरेका छन्, उनी वास्तवमै अद्भुत खेलाडी हुन् । उनी जत्तिको खेलाडी विरलै हेर्न पाइन्छ । मेसी मन पर्नु पछाडि उनको भलाद्मीपनले पनि उत्तिकै भूमिका खेल्छ अनि रोनाल्डो कम मन पर्नु पछाडि उनको केही घमण्डी पाराको कारण । 
विश्व फुटबलमा यस्तै चर्चा अति व्यापक हुन्छ र यसको उत्तरमा रोनाल्डो भन्ने गर्छन्, ‘धेरै मान्छे, मेरो प्रगति र उन्नति देखेर ईष्र्या गर्छन् ।’ केही हदसम्म होला पनि । यो चर्चा कहिल्यै सेलाउने पनि छैन, जसरी पेले राम्रो कि म्याराडोना राम्रो भन्ने विवाद ।
मेसी र रोनाल्डो दुवैले फेरि एकपल्ट के थाहा पाए भने विश्वकपको छनोट वास्तवमै निकै कठिन हुने गर्छ । त्यसैले कुन टिमले कसरी खेल्दा विश्वकपको अन्तिम चरणका लागि छनोट हुन्छ, त्यसको उत्तर पाइन्न । जसरी कुन फिल्म कुन कथा समातेर बनायो भने हिट हुन्छ, त्यसको उत्तर अहिलेसम्म कसैले दिन सकेका छैनन् । यसपल्टको विश्वकप छनोटले फेरि सिद्ध गरेको छ, छनोट यात्रा वास्तवमै पेचिलो छ ।
दक्षिण अमेरिकाबाटै चिली पनि त छनोट हुन सकेन जबकि यही टिमले लगातार दुईपल्ट कोपा अमेरिका जितिसकेको छ, त्यो पनि दुवैपल्ट उपाधि भिडन्तमा अर्जेन्टिनालाई हराएर । सँगै उत्तर 
अमेरिकी क्षेत्रबाट अमेरिका पनि छनोट हुन सकेन । फुटबल बजारका लागि अमेरिका छनोट हुनु राम्रो हुन्थ्यो । छनोटको अन्तिम खेल अगाडिसम्म अमेरिकाले एक पाइला रूस जाने बाटोमा अगाडि सारिसकेको थियो । तर ट्रिनिडाड एन्ड टोबागोसँगको खेल गुमाएपछि अमेरिका दुई पाइला पछाडि हट्न पनि बाध्य रह्यो । यही मज्जा हो, विश्वकप छनोटको ।


अमेरिकाको हारले पानामा भने पहिलोपल्ट विश्वकपमा छनोट भयो । जनसंख्याको आधारमा न ट्रिनिडाड ठूलो हो, न त पानामा नै । झन् युरोपमा आइसल्यान्डको के कुरा, यसको जनसंख्या तीन लाखभन्दा केही बढी मात्र । तर यही आइसल्यान्डले विश्व फुटबललाई चकित पारेर छनोट यात्रा सफलतापूर्वक पार गर्‍यो । यस्तै उपलब्धि नेदरल्यान्ड्सले पाउन सकेन । युरोपेली फुटबलको महाशक्ति हो, डच टिम । तर छनोटमा फेल हुनेमा एक पर्‍यो, यही टिम ।
इटालीले पनि सन् २०१८ जुन–जुलाईमा रूसमा खेल्ने हो अथवा होइन, तय भइसकेको छैन । इटाली पनि त फुटबलको महाशक्ति हो, ब्राजिल र जर्मनी जत्तिकै । बरु सायद ब्राजिल र जर्मनीजस्ता टिमसँग केही अचूक फर्मूला छ, छनोट कसरी खेल्नुपर्छ भनेर । उनीहरूको प्रदर्शन हेर्दा लाग्छ, छनोट खेल्न यिनीहरूबाट पो सिक्नुपर्छ । यही मज्जा हो, विश्वकप छनोटको । अनि क्वालिफिकेसन क्लाइमेक्सको ।

twitter : @himeshratna

प्रकाशित : आश्विन २७, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?