#मीटू

फेसबुक, ट्वीटर र इन्स्टाग्राममा पछिल्लो साता निकै चर्चित बनेको ह्यासट्याग मीटू के हो ? यसले किन विश्वभरका सोसल मिडिया प्रयोगकर्ताको ध्यान खिच्यो ?
विजय तिमल्सिना

काठमाडौं — अमेरिकी कलाकार अलिसा मिलानोले १६ अक्टोबरमा ट्वीट गरेकी थिइन्, जसमा भनिएको थियो– यदि तपाईं यौन हिंसाको सिकार हुनुभएको छ भने यो ट्वीटको रिप्लाईमा मीटू लेख्नुहोस् । उनले गरेको ट्वीटमा ६८ हजार रिप्लाई आएको छ भने ५३ हजारले लाइक गरिसकेका छन् । २५ हजारले रि—ट्वीट गरेका छन् ।

 #मीटू

उनले यो ट्वीट यस्तो बेलामा गरेकी थिइन् जुन बेला हलिउडका ६० भन्दा बढी कलाकारले चर्चित फिल्म निर्माता हार्भे वाइनिस्टिनमाथि यौनजन्य हिंसा र दुव्र्यवहार गरेको आरोप लगाएका थिए । न्युयोर्क टाइम्सले अक्टोबर ५ मा वाइनिस्टिनले सन् १९९० देखि विभिन्न महिलामाथि यौन हिंसा र बलात्कार गरेको समाचार प्रकाशित गरेपछि बलिउड कलाकारहरू र उनका कर्मचारीले आफू पनि उनीबाट पीडित भएको भन्दै सार्वजनिक गर्ने लहर नै चल्यो । जसमा संसारभर परिचित एन्जेलिना जोलीसमेत थिइन् । गायिका लेडी गागाले मीटू ट्वीट गर्दै समर्थन जनाइन् । वाइनिस्टिनको सिकार महिला मात्रै नभएर पुरुष कलाकारसमेत थिए ।

हलिउड कलाकारले वाइनिस्टिनविरुद्ध गरेको यिनै खुलासाको बीचमा अलिसना मिलानोले गरेको ट्वीट अन्य सामान्य मानिसले पनि आफूमाथि कुनै समयमा भएको यौन हिंसाको घटना सार्वजनिक गर्ने उपयुक्त अवसर बन्यो । अनि सुरु भयो– मीटू ह्यासट्याग । यो अहिले मीटू मुभमेन्टका रूपमा चिनिन्छ । र, दुई साता यता फेसबुक, ट्वीटर र इन्स्टाग्राममा भाइरल बनेको छ । 

अक्टोबर १६ मा मिलानोले गरेको ट्वीट लगत्तै फेसबुकमा मात्रै ५० लाख बढी मीटू ह्यासट्याग प्रयोग भएको थियो भने यस्तो अन्तक्र्रियामा सहभागी बन्ने एक करोड बढी पुगेका थिए । यो संख्याले पनि थाहा हुन्छ, विश्वभर महिलामाथि हुने यौनजन्य हिंसाको मात्रा कति धेरै छ । 

अक्टाेबर १५ देखि १७ तारिखसम्म दैनिक ४० लाख पटकसम्म मीटू ह्यासट्याग प्रयाेग भएकाे थियाे । स्राेत : साेसल एभ्स

यही ट्रेन्डको बीचमा आफूमाथि भएको अन्यायको खुलासा गर्नेमध्येमा एक थिइन् ओलम्पिकमा गोल्ड मेडल जितेकी अमेरिकी जिम्न्यास्टिक खेलाडी मिकेला मेरोनी । उनले अक्टोबर १८ मा ट्वीट गर्दै खुलासा गरिन्– १३ वर्षको उमेरमा मलाई नेसनल टिमका डाक्टर ल्यारी नसरले बलात्कारको प्रयास गरेका थिए । अमेरिकी नेसनल टिमका पूर्वडाक्टर नसरलाई आरोप लगाउने मेरोननी एक्ली भने होइनन् । नसरविरुद्ध एक सयभन्दा बढी खेलाडीमाथि यौन शोषण गरेको आरोप छ । 

अमेरिकी कलाकारको ट्वीटले सुरु भएको यो ट्रेन्ड एक देशको सिमानामा मात्रै सीमित हुने कुरै थिएन । 

यसैबीच फ्रान्सेली पत्रकार सान्द्र मुलरले फ्रेन्च भाषामा ब्यालेन्सटोनपोर्क ह्यासट्यागमा राखेर गरेको ट्वीट पनि भाइरल बन्यो । यसको सामान्य अर्थ हुन्छ– अपराधीको नाम भन । र, यसैको प्रभावस्वरूप फ्रान्सका सोसल मिडिया प्रयोगकर्ताहरूले आफूमाथि यौन हिंसा गर्नेहरूको नामै तोकेर आफूमाथि भएको शोषणको खुलासा गरिरहेका छन् । फ्रान्सबाहेक इटाली, बेलायत, स्पेन, इजरायल हुँदै भारत र पाकिस्तानसम्म पनि यो ह्यासट्याग भाइरल बनेको छ ।

अक्टोबर २२ मा बेलायती पत्रिका द सनले युरोपेली संसद्का महिला कर्मचारीमाथि हुने यौन शोषणको खुलासा गर्दै ईयू संसद्लाई सेक्सुअल ह्यारेसमेन्टमा हट—बेडको संज्ञा दियो । उसले समाचारमा फ्रन्सेली पूर्ववातावरण मन्त्री योसाइफ कुसेले आफूपछि मन्त्री हुने होसलिन बेस्लोको स्तनमाथि हात राखेको तस्बिर समाचारसँगै प्रकाशित गरेर राजनीतिमासमेत महिलाहरू सुरक्षित नरहेको जनाउ दिएको छ । 

मीटू ह्यासट्यागमा पछिल्लो साता मात्रै ट्वीटरमा करिव नौ करोड पटक ट्वीट भएको छ । इन्स्टाग्राममा साढे पाँच लाख पटक प्रयोग भएको प्रविधि विज्ञ एकेन्द्र लम्सालले जानकारी दिए ।

यौन हिंसाको सिकार महिला मात्रै नभएर पुरुष पनि हुन्छन् । मीटू ह्यासट्यागको समर्थनमा महिला मात्रै नभएर पुरुषले पनि भने आफूमाथि भएको यौन हिंसाको घटना सार्वजनिक गरिरहेका छन् भने कति पुरुषले महिलामाथि हुने यौन हिंसा र शोषणको घटनामा आफू पनि कुनै न कुनै रूपले जिम्मेवार भएको भन्दै आईह्याभ र इटवाजमी ह्यासट्यागमा ट्वीट गरेका छन् । कतिले भने आफू अहिलेसम्म महिलामाथि हुने यौन हिंसाको घटनामा सलंग्न नरहेको भन्दै नटमी ह्यासट्यागमा ट्वीट गरेका छन् ।

रगताम्य भएको अनुहारको तस्बिर पोस्ट गर्दै इजिप्टको कायरोकी फोटो पत्रकार रीना इफेन्डीले सबैको ध्यान खिचिन् । सन् २०११ मा कायरोमा एक ट्याक्सी चालकले गरेको बलात्कार प्रयास रोक्ने क्रममा उनीमाथि चक्कु प्रहार भएको थियो । घटनालगत्तै उनले आफ्नो मुहारको फोटो खिचेर राखे पनि त्यो सार्वजनिक गर्ने हिम्मत भने गरेकी थिइनन् । घटना भएको एक वर्षपछि उनले सार्वजनिक गरेको फोटो कायरोमा चर्चित बनेको थियो । मीटू मुभमेन्टको समर्थनमा उनले आफ्नो उक्त फोटो पुन: पोस्ट गरेपछि भने यसले संसारकै ध्यान खिचेको छ । उनले मीटू ह्यासट्यागमा आफूमाथि भएको बलात्कारको प्रयास सविस्तार वर्णन गरेकी छन् ।

मीटू ह्यासट्याग लाेकप्रिय बनेकाे देश । स्राेत : साेसल एभ्स । 

वाइनिस्टिन काण्ड र मीटू मुभमेन्टको प्रभावकै बीच फ्रान्सका लैंगिक समानता मन्त्रीले संसद्मा नयाँ कानुनको प्रस्ताव गरेका छन् जसमा १८ वर्ष कम उमेरका व्यक्तिमाथि हुने यौन शोषण र सडकमा हुने यौनजन्य हिंसाको घटनामा दोषीलाई कडा कारबाहीको प्रस्ताव गरिएको छ ।

मीटू ह्यासट्याग अहिले सोसल मिडियामा भाइरल बने पनि यो १० वर्षअघि माइस्पेल नामक सोसल नेटवर्किङ साइटमार्फत ताराना बुर्केले सुरुवात गरेकी थिइन् । एक बालिकाले उनलाई आफूमाथि भएको यौन शोषणको खुलासा गरेपछि उनले माइस्पेसमा मीटू लेखेर यो अभियानको सुरुवात गरेकी थिइन् । बुर्के आफैं पनि यौन हिंसाकी सिकार भएकी थिइन् । उनले ती बालिकाले जस्तै आफूले पनि समस्या भोगेको भाव व्यक्त गर्न मीटू अभियान सुरु गरेको अन्तर्वार्ताहरूमा बताएकी छन् । र, भनेकी छन्– त्यो अभियान भाइरल बनाउनका लागि नभई कम पहुँच भएका महिलालाई सहानुभूतिमार्फत सबल बनाउनका लागि थियो ।

सबैले मीटू ह्यासट्यागको समर्थन मात्रै गरिरहेका छैनन् । केहीको धारणा छ– यसले पार्ने प्रभाव गलत पनि हुन सक्छ । उनीहरू भन्छन्– यस्तो खुलासाले पीडितलाई झन् पीडा पनि थप्न सक्छ वा झन् बढी जोखिममा पनि पर्न सक्छन् । 

सोसल मिडियामा धेरै मानिसको पहुँच र यसको प्रभावका कारण मीटू अभियानले अहिले यत्तिको चर्चा पाएको होला तर सोसल मिडियामा भाइरल भएर मात्रै महिलामाथि घरमा, कार्यालयमा वा सार्वजनिक स्थलमा हुने यौन हिंसाको समस्या समाधान हुँदैन । यूएन वुमनको तथ्यांकअनुसार संसारमा ३५ प्रतिशत महिलाले आफ्नो जीवनको कुनै समयमा यौन हिंसाको समस्या भोगेका छन् । अझै कुनै देशमा त यो मात्रा ७० प्रतिशतसम्म छ ।

यो समस्या साँच्चिकै समाधान गर्ने हो भने यसलाई सोसल मिडियाबाट मानवीय व्यवहारमा सार्नु आवश्यक छ । 
–एजेन्सीको सहयोगमा

[email protected]

प्रकाशित : कार्तिक १०, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?