‘फेक’ धन्दा

विजय तिमल्सिना

काठमाडौं — निर्वाचनको पूर्वसन्ध्यामा फेसबुकसहितका सोसल मिडिया दुरूपयोगको सम्भावना धेरै हुन्छ । प्रतिस्पर्धी वा मन नपरेका व्यक्तिविरूद्ध दुष्प्रचार गरी आफ्नो पक्षमा जनमत तान्ने प्रयासका लागि सोसल मिडियाको दुरूपयोग गर्दछ ।

विश्वकै समस्या बनेको यस्ता गलत अभ्यास नेपालमा पनि निर्वाचनको पूर्वसन्ध्यामा भइरहेको छ ।

आइतबार (१९ कात्तिक) कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफ्नो फेसबुक र ट्वीटरमा एउटा जानकारी सेयर गरे । त्यसमा भनिएको थियो– अब तपाईंहरूले यस्ता खालका समाचार बग्रेल्ती पढ्न पाउनु हुनेछ ।
मैले जितेको दुई महिनामा काठमाडौंलाई विश्वको नमुना सहर बनाउन सकिन भने राजनीति छाडिदिन्छु : गगन थापा
गगन थापाले १४ करोडको कृषि अनुदान खाएपछि
आफूविरुद्ध गलत प्रचारका लागि यस्ता झूटा समाचार बनाएर प्रोपोगान्डा गरिएपछि थापाले यो चुनावको मुखैमा आफूविरुद्ध हुन सक्ने सम्भावित आक्रमणलाई रोक्न यस्तो पोस्ट गरेका हुन् । ‘यस्ता खालको दुष्प्रयास गर्ने जति दोषी छन्, त्यति नै दोषी यस्ता निराधार हल्लालाई पत्याउने पनि छन्,’ आफ्नो पोस्टमा उनले भनेका छन् ।
यस्तै समस्याबाट पीडित बन्ने थापा एक्ला पात्र भने होइनन् । स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको प्रतिस्पर्धी रहेकी विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित एक चुनावी सभामा आफ्नो पीडा पोखिन्, ‘म अर्कै पार्टीमा जाने भनेर समाचार बनाइएको रै’छ । यो झूटो हो । यो समाचार होइन, वाहियात कुरा हो ।’
निर्वाचनको मुखैमा कुनै व्यक्तिविरुद्ध गलत हल्ला फैलाएर वा झूटो जानकारी फैलाएर उसको बदनाम गरी आफ्नो पक्षमा जनमत सिर्जना गर्नु पुरानै शैली हो । तर, अहिले यो शैली झनै ‘प्रभावकारी’ बनेको छ किनकि अहिले जस्तोसुकै जानकारीलाई पनि धेरैभन्दा धेरै मानिससमक्ष पुर्‍याउन सजिलो माध्यम छ– फेसबुक र यस्तै सोसल मिडिया ।
नेपालमा फेसबुक चलाउने संख्या करिब ९० लाख छ । कसैले फेसबुकमार्फत कुनै जानकारी धेरैभन्दा धेरै मानिससमक्ष पुर्‍याउनु छ भने सजिलो उपाय बनेको छ– फेसबुक विज्ञापन । यस्तो जानकारी कति सत्य छन् ? त्यो जाँच गर्ने कुनै निकाय छैन । यो समस्या नेपालको मात्रै होइन् । अहिले संसारको हरेक निर्वाचनमा फेसबुक एउटा टाउको दुखाइको विषय भएको छ । कुनै व्यक्ति, समूह वा देशले आफूअनुकूलको प्रचारका लागि फेसबुक प्रयोग गरिरहेका छन् ।
उदाहरणका लागि अघिल्लो वर्ष भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा जनमत परिवर्तनका लागि फेसबुकको महत्त्वपूर्ण भूमिका थियो भन्ने विषयको बहस अहिलेसम्म जारी छ । राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको पक्षमा जनमत सिर्जना गर्न रूसको लगानीमा विभिन्न अभियानहरू फेसबुकमा सञ्चालित थियो भन्ने कुराको पुष्टि फेसबुकले समेत गरिसकेको छ । 
फेसबुकले यसै साता अमेरिकी राष्ट्रपति निर्वाचनमा रूसी संलग्नताबारे अनुसन्धान गरिरहेको अमेरिकी संसद्को एक समितिलाई बुझाएको प्रतिवेदनअनुसार रूसी कम्पनीले गरेका ८० हजार बढी पोस्टको १२ करोड ६० लाख अमेरिकी फेसबुक प्रयोगकर्ताको न्युजफिडमा पुगेको थियो । फेसबुक स्वामित्वको इन्स्टाग्राममा निर्वाचननजिक मात्रै १२ करोड पोस्ट भएको फेसबुकले जनाएको छ । उक्त समितिसमक्ष फेसबुकसहित गुगल र ट्वीटरले पनि आफ्नो प्लेटफर्म रूसी निकायले प्रयोग गरेको स्विकारेका छन् । तीमध्ये अधिकांश पोस्टमा ट्रम्पका प्रतिस्पर्धी हिलारी क्लिन्टनले चुनाव जिते अन्य देशका मानिसहरूको संख्या अमेरिकामा बढ्ने, रोजगारी गुम्ने, आतंककारी हमलाहरू बढ्नेलगायत भ्रम फैलाइएको थियो ।
केही महिनाअघि युरोपियन युनियनबाट बेलायत छुट्टिने कि नछुट्टिने भन्ने विषयमा बेलायतमा भएको जनमत संग्रहमा समेत फेसबुकमा सेयर गरिएको गलत जानकारीले जनमत प्रभावित भएको आशंका गरिएको छ । यसमा पनि रूसी संलग्नतामा बेलायत ईयूबाट छुट्टिनुपर्छ भन्ने खालका सामग्री फेसबुकमार्फत सेयर भएको विषयमा अनुसन्धान जारी छ ।
अचेल विश्वमै मानिसका लागि समाचार तथा जानकारी प्राप्त गर्ने माध्यम फेसबुक बनेको छ । विभिन्न अनुसन्धानअनुसार अमेरिकामा मात्रै करिब आधा जनसंख्याले समाचार तथा जानकारी फेसबुकबाट थाहा पाउँछन् । अमेरिकाजस्तो विकसित देशमा फेसबुकमा सक्रिय हुने मानिसहरूको संख्या कम हुँदै गएको पनि बताइन्छ ।
नेपालजस्तो विकासोन्मुख देशमा मानिसहरू फेसबुकलगायत सोसल मिडियामा धेरै समय बिताउँछन् र यस्ता सञ्जालमा जोडिने मानिसहरू पनि बढ्दो छ । यस आधारमा नेपालमा फेसबुकमार्फत नयाँ जानकारी पाउने संख्या धेरै हुन सक्छ । आफूकहाँ आइपुगेका जानकारी कसरी, कहाँबाट र किन आयो भन्ने नगर्ने स्वभाव मानिसहरूमा छ । आफ्नो विचार अनुकूलको जानकारी आयो भने त झन् उनीहरूले पत्याइहाल्छन् । 
उदाहरणका लागि सेन्टर फर मिडिया रिसर्चले गत मंसिरमा गरेको एक अध्ययनको निष्कर्ष हेरे पुग्छ । सेन्टरका अनुसन्धानकर्ता उज्ज्वल आचार्यका अनुसार एक नयाँ वेबसाइट बनाएर एउटा गलत समाचार प्रकाशित गरिएको थियो । त्यसमा भनिएको थियो– एमाले विश्वकै राष्ट्रवादी पार्टी : संयुक्त राष्ट्रसंघ । यो समाचार फेसबुकमा सेयर गरेपछि २४ घण्टाभित्र १ लाख १४ हजार मानिसहरूमा पुगेको थियो र २१ हजार बढीले लाइक, कमेन्ट र सेयर गरेका थिए । यसको स्रोतप्रति प्रश्न उठाउने मानिसहरूको संख्या भने अत्यन्तै कम थियो । यसबाट पनि थाहा हुन्छ कि सोसल मिडियामा सेयर हुने जानकारी र मानिसको पत्याइहाल्ने स्वभाव कति खतरनाक हुन सक्छ ।
अरूको विरुद्ध कुप्रचार गर्ने र आफ्नोबारे राम्रो प्रचार गर्ने । यो अभ्यास चुनावका बेलामा धेरै हुन्छ किनकि प्रतिस्पर्धीबारे नकारात्मक धारणा मतदातामा पार्न सकियो भने आफ्नो पक्षमा मत झार्न सकिन्छ । सोसल मिडियाबारे जानकार आचार्य नेपालको निर्वाचनमा पनि यस्तो गलत अभ्यास धेरै हुन थालेको बताउँछन् ।
‘सोसल मिडियामार्फत आएको जानकारी कति सत्य हो ?, यो कहाँबाट आएको हो ? कसले सेयर गरेको हो ? यसको स्रोत के हो ? यसबारे प्रयोगकर्ताले बुझेर मात्रै पत्याउनुपर्छ,’ आचार्यले भने, ‘मिथ्या जानकारीको आधारमा मानिसले कुनै उम्मेदवारप्रति सकारात्मक धारणा बनाएर भोट हाले भने त्यो प्रजातन्त्रकै लागि खतरा बन्छ । त्यसैले इन्टरनेटको माध्यमबाट वा सोसल मिडियामा आएका सबै जानकारी सत्य नहुन पनि सक्छन् भन्ने बुझाउन जरुरी छ ।’
नियमन निकाय नभएकाले पनि चुनावको बेलामा अरूबारे गलत जानकारी सोसल मिडियामार्फत बाँड्ने धन्दा मौलाएको हो । 
कसैले आफूविरुद्ध फेसबुक वा कुनै सोसल मिडियामार्फत भ्रम फैलाइएको छ भने उजुरी गरिहाले पनि प्रहरीलाई त्यो भ्रम फैलाउने व्यक्ति ठम्याउन मुस्किल हुन्छ । किनकि यस्ता गलत जानकारी फैलाउनेहरूले आफ्नो वास्तविक एकाउन्ट नभई अर्को फेक एकाउन्ट खोलेर भ्रम फैलाइरहेका हुन्छन् । यस्तो काम विदेशमा बसेर गरिएको छ भने पत्ता लगाउन असम्भव जस्तै हुन्छ ।
बरु प्रहरीले केही महिनाअघि भएको स्थानीय निकायको निर्वाचनका क्रममा फेसबुकमा भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेणु दाहालविरुद्ध फेसबुकमा अश्लील गाली गरेका निरब ज्ञवालीलाई पक्राउ गरेको थियो । 
महानगरीय अपराध महाशाखा काठमाडौंका एसपी उमाशंकर पञ्जियारले चुनावको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको वा गालीगलौज गरेको विषयमा कुनै उजुरी नपरेको बताए । ‘सामाजिक सञ्जाल प्रयोगकर्ता भएकाले यस्ता खालका अभ्यास काठमाडौंमा बढी हुन सक्छन्,’ उनी भन्छन्, ‘कसैले उजुरी गरे कारबाही गर्छौं ।’ काठमाडौं बाहिर जिल्ला प्रहरी कार्यालयमार्फत पनि यस्ता विषयमा उजुरी गर्न सकिने उनले बताए । 
दुष्प्रचार कसरी भइरहेछ ?
  • चुनावका बेला विपक्षी उम्मेदवारका बारेमा नकारात्मक टिप्पणी गर्नका लागि छुट्टै फेसबुक पेज बनाउने र उनीहरूबारे नकारात्मक जानकारी पोस्ट गर्ने
  • कुनै डोमेन दर्ता गरेर समाचार पोर्टल जस्तो बनाउने र त्यसमा कुनै व्यक्तिका विरुद्ध भ्रमपूर्ण जानकारी राखेर समाचार बनाउने
  • फेसबुकमा पोस्ट गर्ने र विज्ञापन गरी धेरै लक्षित मानिसहरूसमक्ष पुर्‍याउने
फेक सूचनाबाट कसरी बच्ने ?
  • आफूकहाँ आइपुगेको जुनसुकै जानकारीलाई नपत्याउने
  • जानकारीको स्रोत के हो बुझ्ने
  • विश्वसनीय स्रोत भए मात्रै पत्याउने
  • आफूलाई त्यस्ता जानकारी भ्रामक लागेमा रिपोर्ट गर्ने

bjtimalsina@gmail.com

प्रकाशित : कार्तिक २४, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्

बीटीएसको सनसनी

प्रयोगवादी कोरियाली केटाहरुको ब्यान्ड ‘बीटीएस’ ले विश्व संगीतमा तहल्का मच्चाइरहेको छ ।
सजना बराल

काठमाडौं — दक्षिण कोरियाली गायक साईको गीत ‘ओप्पा, गङ्नम स्टाइल...’ विश्व प्रसिद्ध बन्यो । युट्युब भ्युजमा यसले कायम गरेको रेकर्ड तोड्न ‘सी यु अगेन...’ लाई लामै समय कुर्नुपर्‍यो । गैरअङ्ग्रेजी भाषाको ‘गङ्नम स्टाइल...’ पछि स्पेनी गीत ‘डिस्पासितो...’ भाइरल बन्यो । अहिले के–पपले नै पुन: तहल्का मच्चाइरहेको छ ।

यसपटक गीत विशेषभन्दा पनि कोरियन ब्वाई ब्यान्डको चर्चा ठूलो छ । बीटीएस अर्थात् ब्यांगट्यान सोनियोन्डन (बुलेटप्रुफ ब्वाई स्काउट्स) साईपछिको कोरियन सेन्सेसन हो । सात सदस्यीय पप ब्यान्डका सबैभन्दा पाको सदस्य २४ वर्षका छन् । आफ्नै स्टाइलसहित प्रस्तुत हुने ‘ब्याकस्ट्रिट ब्वाइज’ र ‘वान डिरेक्सन’ कै पछिल्लो संस्करण मानिएको छ, बीटीएसलाई ।


सन् २०१३ मा स्थापना हुँदा बीटीएसले ‘नो मोर ड्रिम...’ गीत निकालेको थियो । त्यसले नवप्रतिभा अवार्डसँगै मेलन म्युजिक, गोल्डेन डिस्कलगायत थुप्रै अवार्ड जित्यो । डेब्यु गीतबाटै ब्यान्ड कोरियनमाझ लोकप्रिय बनेको थियो । सन् २०१५ को ‘द मोस्ट ब्युटिफुल मोमेन्ट इन लाइफ : पार्ट टु’, ‘योङ फरेभर’ र ‘विङ्ग्स’ एल्बम बिलबोर्ड चार्ट टु हन्ड्रेडमा परे । 
यो सूचीको टप टेनमा इन्ट्री गर्ने पहिलो कोरियन समूह पनि यही हो ।
बिलबोर्ड प्रवेशसँगै ब्यान्डको ख्याति चुलिन थाल्यो । सामाजिक सञ्जालमा फलोअर्स अर्थात् आर्मी (ब्यान्ड आफ्ना फ्यानलाई आर्मी भन्छ) बढे । भोग, द न्युयोर्क टाइम्स, फोब्र्स, टाइम जस्ता ठूला पत्रिकाले फुच्चे गायकहरूको लोकप्रियतामाथि सकारात्मक समीक्षा छाप्न थाले । स्थानीय सञ्चार माध्यममा त ब्यान्ड दिनका दिन प्रस्तुत हुनु नौलो कुरै भएन । 


बीटीएस प्रयोगवादी ब्यान्ड हो । कुनै बेला ‘बटरफ्लाई...’ जस्तो स्लो–सेन्टिमेन्टल गीत निकालेको ब्यान्ड अहिले ‘डीएनए...’ मार्फत आफूलाई नयाँ धारमा प्रस्तुत गरिरहेको छ । इलेक्ट्रो–र्‍याप शैलीको पछिल्लो गीत सुनेपछि संगीत विज्ञहरूले बीटीएसलाई क्यानडियन गायक सावन मेन्डेस र स्कटिस केल्भिन ह्यारीसँग दाँज्न थालेका छन् । के–पपको विशेषता नै भनौं, डान्ससहितको आकर्षक म्युजिक भिडियोले पनि ब्यान्डको अनलाइन फेम मज्जाले बढाइदिएको छ ।
टाइम म्यागजिनले इन्टरनेटका २५ प्रभावशाली व्यक्तिमध्ये बीटीएसलाई एक मानेको छ । फोब्र्सका अनुसार सन् २०१६ मा बीटीएस सबैभन्दा बढी रिट्वीट भएको आर्टिस्ट/ब्यान्ड हो । ट्वीटरले ब्यान्डलाई समेटेर पहिलो पटक के–पप इमोजी लन्च गर्‍यो । केही महिनाअघिको बिलबोर्ड म्युजिक अवार्डमा पनि ब्यान्डलाई नै टप सोसल आर्टिस्टको ट्रफी दिइएको थियो । उक्त विधामा जस्टिन बिबर, सेलेना गोमेज, एरियाना ग्राण्डीलगायत स्टारहरू मनोनीत थिए । 
एकपछि अर्को रेकर्ड कायम गरिरहेको ब्यान्डलाई पछिल्लो एल्बम ‘लभ योरसेल्फ...’ ले झनै फाइदा पुर्‍याइरहेको छ । करिब महिना दिनअघि रिलिज गरिएको उक्त एल्बम बिलबोर्डको उच्च स्थानमा पुग्ने के–पप एल्बम बन्यो । अमेरिकी बजारमा बिक्री उच्च भइरहेका बेला आइट्युन्स एल्बम–चार्टको नम्बर एक स्थानमा पनि यही एल्बम पुगेको छ । त्यसमै समाविष्ट ‘डीएनए...’ गीतको भिडियोले युट्युबमा अपलोड भएको २० घण्टामै २ करोड भ्युज पाएको थियो ।
बीटीएस ब्यान्डमा चार पप गायक– जिमिन, भी, जंगकुक, जीनसँगै तीन र्‍यापर (र्‍याप मोन्स्टर्स, सुगा र जे–होप) आबद्ध छन् । उनीहरू सबै दक्षिण कोरियाको राजधानी सोलमा बस्छन्, रुम मेट्स हुन् । चार वर्षको सहकार्यमा ब्यान्डले तीन वटा वल्र्ड टुर गरेको छ भने चार वटा स्टुडियो एल्बम र पाँच वटा इपी सार्वजनिक गरिसकेको छ । सबैभन्दा ठूलो कुराचाहिँ विश्वभरका लाखौं फ्यान यसले कमाएको छ ।
अङ्ग्रेजी भाषामा एउटा पनि गीत ननिकाली र बिनाप्रचारप्रसार यति धेरै प्रसिद्ध हुन चानचुने कुरा होइन । त्यसमाथि अमेरिका र क्यानडामा दक्षिण कोरियाली आर्टिस्टको यस्तो लोकप्रियता देखेर कतिपयले आश्चर्य जनाएका छन् । ‘अमेरिकी र क्यानडियन संगीत संसारमा कोरियन ब्यान्डले प्रवेश पाउनु गाह्रो कुरा हो,’ क्यानडाको सीटीभी न्युजले लेखेको छ, ‘तर, बीटीएस समूह अपवाद बनिरहेको छ ।’
बीटीएसले १९ नोभेम्बरमा हुने अमेरिकन म्युजिक अवार्ड्स (एएमए) मा समेत प्रस्तुति दिने भएको छ । यसअघि बिलबोर्ड म्युजिक अवार्डमा पनि उनीहरूले कोरियन गीत सुनाएका थिए । ब्यान्डले एएमएमा भाग लिने खबर बाहिर आएसँगै ट्वीटरमा ‘बीटीएस एक्स एएमए’ ट्ेरन्डिङमा छ । समारोहमा क्रिस्टिना एगुलेरा, सेलेना गोमेज, डायना रोजस्ता सेलिब्रिटीले पनि प्रस्तुति दिने छन् ।
सन् २०१५ मा पहिलोपटक यूएस टुरमा जाँदासम्म बीटीएसले एउटा मात्रै पूर्ण एल्बम निकालेको थियो । तैपनि त्यसबेला एकै दिन सबै बिक्री भएको बिलबोर्ड म्यागजिनले उल्लेख गरेको छ । ‘ब्यान्डको मार्केटिङ नीति बलियो छ,’ कोरियन पत्रकार ग्रेस जियोङलाई उद्धृत गर्दै बिलबोर्ड लेख्छ, ‘कोरियन भाषा नबुझ्नेलाई पनि उनीहरूले आकर्षित गर्न जानेका छन् । तर, बीटीएसलाई अब एउटा भाइरल गीतको खाँचो छ । गङ्नम स्टाइल जस्तै... ।’ 
–एजेन्सीको सहयोगमा

प्रकाशित : कार्तिक २४, २०७४ ०९:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT