डेलिसियस डिमसम

सुरज कुँवर

काठमाडौं — ताइवानबाट उत्पत्ति भएको मानिने अनि चीनमा लोकप्रिय डिमसमको स्वाद लिनुभएको छ ? छैन भने तपाईंकै राजधानीमा यो मंगोलियन स्वादका परिकार आइसकेका छन् ।

 डेलिसियस डिमसम

सोल्टी होटलको अथेन्टिक चिनियाँ रेसिपी सर्भ गर्ने ‘वाउ जुआन’ का सेफ (ड्यान) धनकुमार लिम्बू डिमसम बनाइरहेका भेटिन्छन् । डिमसम कुनै बेला एसियालाई युरोप जोड्ने चर्चित सिल्करोडमा प्रख्यात थियो । अहिले यो विश्वमै लोकप्रिय छ । म:म जस्तै लाग्ने यो परिकार थुप्रै प्रकारमा बनाउन सकिन्छ । भेज, ननभेज, सि–फुडमा बनाइन्छ ।


भारतका विभिन्न सहरमा चिनियाँ सेफहरूसँग २१ वर्ष बिताएका धनकुमारले चिनियाँ स्वाद लिन चाहने नेपालीहरूका लागि एक दर्जन बढी रेसिपी राखेर मेनु तयार पारेका छन् । कुखुराको मासु, लसुन पाउडर, सस, मह राखेर स्टिम गरिने छा–सुई नामको डिमसम पकाउनका लागि सबैभन्दा धेरै समय लाग्ने परिकार हो । यसलाई तयार गर्न १३ घण्टा लाग्छ । तर, यो अर्डर गरेको ४५ मिनेटमै खान मिल्ने व्यवस्था गरिएको छ । म:मजस्तै स्टिम विधिबाटै पकाउने हो ।
अरू डिमसम भने ३ देखि १० मिनेटमै तयार गरिन्छन् । यसलाई हाई–हिटमा पकाउनुपर्छ । पकाएपछि खाइहाल्नुपर्छ । अर्थात् बुफेमा डिमसम राख्न सकिँदैन न त डिप–फ्रिजमा राख्न नै मिल्छ । यो परिकार खान चपस्टिक चलाउन नजान्नेले काँटाको भर परे पनि हुन्छ । यो परिकार बाँसको बक्समा सालको पातमाथि राखेर स्टिम गरिन्छ ।


चाइनिज हर्ब नभई नहुने मसलामा पर्छ । माछा, माछाको अण्डा, गंगटा, ल्याम्ब, प्राउन, लेउ, अण्डा, सस, सोया सस, ननभेज र सि–फुड डिमसममा प्रयोग हुन्छन् । ननभेजमा सिताके च्याउ, चाइनिज बन्दा, कमलको फूलको जराको धूलो, केशर, सिँगडा, कुरिलो भेज परिकारमा समावेश गरिन्छ । यी परिकारको किमा हुन्छ भने मैदा, चामल वा आलुको स्टार्च बाहिर भागमा राखिन्छ ।
यीमध्ये धेरै परिकार भारत, चीन लगायत देशबाट आयात गरिन्छ । ममलाई जस्तै अचारबिना यो परिकार खान पनि स्वादिलो हुन्न । यसका लागि सस चाहिन्छ । लसुन, प्याज, टमाटर केचअप, भेनिगर राखिएको स्विट सावर सस, अलि बढी पिरो राखिएको तिल र बदामको सस र प्लेन सोया सस राखेर खाने गरिन्छ ।


सोल्टी होटलका सेफले एउटा डिमसमलाई नेपाली कोदोसँग समायोजन गरेर पनि परिकार तयार गरेका छन् । हल्का नेपाली स्वादको कोदोको डिमसम । चिनियाँ फ्लेवरका डिमसमको स्वाद लिएपछि नेपाली कोदोको डिमसम अलि फरक लाग्न सक्छ । facebook.com1stnepali

प्रकाशित : मंसिर १, २०७४ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?