कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपाली रोबोट

विजय तिमल्सिना

काठमाडौं — रोबोट मेकर गणेशविक्रम आले बालकुमारीस्थित आफ्नो ल्याबमा रोबोटको अनुसन्धान र परीक्षणमै दिन बिताउँछन् । दुई वर्षअघि नेपाली सेनाले उनीसँग सात लाख रुपैयाँमा बम डिस्पोजल रोबोट किनेपछि उनी चर्चित बनेका थिए ।

नेपाली रोबोट

गत साता उनले सेनालाई आफ्नो अर्को रोबोट पनि बिक्री गरेका छन् । उनले बनाएको रोबोट सेनाले ३० लाख तिरेर किनेको हो । आफूले निर्माण गरेको रोबोट सेनालाई हस्तान्तरण गरेपछि आलेले भने, ‘यसले थप काम गर्न हौसला दिएको छ ।’


सेनालाई हस्तान्तरण गरेको दोस्रो रोबोट पहिलाको भन्दा उच्चस्तरीय भएको आलेको दाबी छ । भन्छन्, ‘यो बम डिस्पोजल रोबोट नेपालका लागि सुहाउँदो छ ।’ सेनाकै आवश्यकताअनुसार डिजाइन गरिएकाले यो बढी उपयोगी हुने आलेको विश्वास छ ।
रोबोटमा चार क्यामेरा जडान गरिएका छन् र ती सबै नाइट भिजन हुन् । यसको तौल करिब ५० केजी छ र दुई जनाले बोक्न मिल्ने गरी यसलाई डिजाइन गरिएको छ । रोबोटले १५ केजीसम्मको तौल बोकेर हिँड्न सक्छ भने २५ केजीसम्मको भार घिसार्न सक्छ । एकपटक चार्ज गरेपछि यसमा एक घण्टा ब्याट्री टिक्छ । आले र उनको समूहले यसलाई तीन महिनामा तयार पारेको हो ।


रोबोटलाई वायर र वायरलेस दुवै तरिकाले चलाउन मिल्ने उनले बताए । उनका अनुसार यसको रिमोटले ६ सय मिटर दूरीसम्म काम गर्छ । यसले बम डिस्पोज गर्दा टाढा बसेरसमेत काम गर्न सजिलो हुन्छ । यसमा जडान गरिएका चार क्यामराले खिचेको दृश्य तत्काल विभिन्न कोणबाट हेर्न मिल्छ । र, ३६ एक्स जुम गर्न मिल्ने व्यवस्था छ । रोबोटको स्पिडका लागि सात विकल्प छन् । यो रोबोट प्रतिघण्टा ६ सय मिटरसम्म दौडाउन मिल्छ । यसलाई २ मिटर अग्लो बनाउन सकिन्छ ।
विदेशमा बनाइएका रोबोट महँगो र बिग्रिएमा बनाउन झन्झटिलो हुने भएकाले आफूले निर्माण गरेको रोबोट बढी प्रभावकारी हुने आलेले बताए । ‘यो रोबोट अन्य बम डिस्पोजल रोबोटको तुलनामा हलुका पनि छ,’ उनले भने, ‘नेपाली सेनाको इन्जिनियरिङ विभागको माग र सुझावअनुसार रोबोट तयार गरिएको हो । बम डिस्पोज गर्दा आवश्यक पर्ने सुविधाहरू राखेर बनाएकाले यो प्रभावकारी हुन्छ भन्ने ठान्छु । यसलाई अझै अपग्रेड गर्न पनि सकिन्छ ।’


सेनाले २०७० साल चैतमा आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी प्रतिस्पर्धामा प्रथम भएपछि आलेमाथि सेनाको आँखा परेको थियो । दुई वर्षअघि उनीसँग सेनाले पहिलोपल्ट रोबोट खरिद गरेको थियो । पहिलो पटक सेनाले आफ्नो देशमै बनेको बम डिस्पोजल रोबोटलाई विश्वास गरेपछि आले चर्चामा आएका थिए ।
तेह्रथुमका आलेले आफ्ना साथी यज्ञप्रसाद देवकोटा, उज्ज्वल कोइराला, श्रीकृष्ण र अर्जुन सिम्खडासँग मिलेर यो रोबोट तयार पारेका हुन् । अघिल्लो वर्ष माघबाट प्रोजेक्ट सुरु गरेका उनले वैशाखमा सकाएका थिए । त्यसयता केही समय उनले सेनाको सुझावअनुसार रोबोट मोडिफाई गरेका थिए र सेना आफंैले पनि परीक्षण गरेपछि मात्र खरिद गरेको हो ।
अब अन्य काम गर्न सक्ने रोबोट पनि बनाउन सकिने विश्वास भएको आले बताउँछन् । यसअघि इन्जिनियरिङका विद्यार्थीलाई रोबोट मेकिङबारे प्रशिक्षण दिएर पकेट मनी जुटाउने उनी अब रोबोट उत्पादनलाई व्यावसायिक बनाउने सोचमा छन् । ‘अब अरू काम गर्ने रोबोट बनाउने विचार छ,’ उनले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्ससहितको रोबोट बनाउने योजना पनि बनाइरहेको छु ।’ 

 [email protected]

प्रकाशित : मंसिर १, २०७४ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?