कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

साहसी नेचर गाइड

विमल खतिवडा

काठमाडौं — चितवनको खैरहनी नगरपालिका १२ स्थित कुमरोजकी बिमिता भण्डारीले सौराहामा नेचर गाइडका रूपमा काम गर्न थालेको ६ वर्ष भइसक्यो । २३ वर्षीय उनले चितवन राष्ट्रिय निकुञ्जबाट लाइसेन्स निकालेर नेचर गाइड थालेकी हुन् । पाहुनालाई जंगल–वाक र जिप सफारी गराउनु उनको काम हो ।

साहसी नेचर गाइड

जंगल वाकमा जाँदा भने गैंडा, बाघ, भालु र हात्तीले आक्रमण गर्ने डर हुन्छ । ‘पहिला डर लाग्थ्यो । अहिले बानी परिसक्यो,’ उनले भनिन् । उनको साथमा लौरो र दूरबिन हुन्छन् । ड्रेस बेग्लै हुन्छ । जंगल वाकमा बढीमा १२ जनासम्मको समूह निस्कन्छ । ‘यो पेसा रिस्की हो तर मलाई च्यालेन्जिङ काम नै मनपर्छ,’ उनले भनिन्, ‘कामबाट म सन्तुष्ट छु ।’ उनलाई परिवारले पनि राम्रो साथ दिइरहेको बताइन् ।
‘हात्ती र गैंडासँग जंगलमा पटकपटक जम्काभेट हुन्छ,’ सानैदेखि साहसी उनी भन्छिन्, ‘जनावरको आनीबानी थाहा भएकाले जोखिम मोलेर पर्यटकको सुरक्षा गर्दै आफ्नै गन्तव्यतिर लाग्ने गरेका छौं ।’ जंगल वाकमा पर्यटकको सुरक्षा गर्ने जिम्मेवारी गाइडको हुने भएकाले उनी निकै सचेत हुनुपर्छ । उनीसँगै अर्का एक सिकारु गाइड पनि पठाइएको हुन्छ । ‘जोखिमपूर्ण काम भएकाले मेरो उमेरका अरू केटी देखिएको छैन,’ साहसी छोरीका रूपमा घरमा पहिचान बनाएकी उनले बताइन् ।
गोरखा घ्याल्चोकका २६ वर्षीय आशिष रेग्मीले पनि सौराहामा नेचर गाइडका रूपमा काम गरेको १० वर्ष भयो । सिकारु गाइडबाट काम थालेका उनी पाहुनालाई कसरी जंगल वाक गराउने, कहाँ–कसरी चरा देखाउने, घुमाउने भन्नेबारे उनी जानकार छन् । नेचर गाइड बन्न निकुञ्जभित्र र आसपास पाइने चरा, वन्यजन्तु, सर्प, गोहीका बारेमा राम्रो ज्ञान हुनुपर्छ । ‘सिक्नै दुई वर्ष लाग्यो,’ ६ वर्षअघि नेचर गाइडको साइसेन्स लिएका उनले भने, ‘विद्यालयको पढाइ सकेपछि नातेदारसँग सौराहा आइपुगे । कसैले नगरेको केही भिन्न काम गरौं भनेर नेचर गाइड बनियो ।’
उनी कामप्रति खुसी छन् । ‘दुई घण्टादेखि ७ दिनसम्म जंगल वाकमा जाने पाहुना आउँछन् । उनीहरूलाई जनावर र चराहरू जानकारी दिनुपर्छ,’ उनले भने । सात दिन घुम्ने पर्यटक दिनमा जंगल वाक गर्ने र साँझ आसपासका होटल, रिसोर्ट तथा होमस्टेमा बस्छन् । ‘गत वर्ष बच्चासँगै एउटा गैंडा भेटियो । त्यसले आक्रमण गर्ने प्रयास गर्‍यो । त्यसबेला त अन्तिम दिन आएछ जस्तो लागेको थियो तर लौरोको सहारामा पाहुनालाई जोगाउँदै आफू पनि जोगिएँ,’ आफ्नो कामबारे आशिषले सुनाए ।
राप्ती नगरपालिका १ का प्रेमबहादुर बम्जन १२ कक्षा सकेपछि नेचर गाइड बनेका थिए । ‘पर्यटन सम्भावना भएको क्षेत्र भएकाले गाइड बनेको हो । आठ वर्षयता पर्यटकलाई घुमाउन–देखाउन सक्रिय उनले बने । ‘धेरैपल्ट गैंडासँग जम्काभेट भएको छ,’ उनले भने इन्काउन्टर भयो,’ २८ वर्षीय उनले भने, ‘वन्यजन्तुको व्यवहार थाहा भएपछि सुरक्षित हुन सकिन्छ ।’
खैरहनी नगरपालिका १२ का २३ वर्षीय सन्देश रेग्मी पनि नेचर गाइड बनेको चार वर्ष भयो । ‘विदेशीलाई आफ्नो गाउँ–ठाउँबारेमा जानकारी गराउँदै घुमाउन पाउँदा खुसी लाग्छ । अचेल यसैले व्यस्तता बढाएको छ,’ उनले भने । उनी भुवानी शंकर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक चौथो वर्षमा अध्ययनरत छन् ।
‘जोखिम भए पनि काम राम्रो छ,’ सन्देशले भने, ‘साहसिक काम गर्न थालेपछि धेरैले मलाई चिन्छन् । त्यसैले पनि यसैमा रमाइरहेको छु ।’ अहिले नेचर गाइडका लागि सौराहामा व्यस्त रहने सिजन हो । पर्यटक बढेसँगै यहाँ नेचर गाइड बन्नेहरू पनि बढिरहेका छन् । एसएलसी पास गरेपछि नेचर गाइडको लाइसेन्सको परीक्षा दिन योग्यता पुग्छ । करिब ५ सयले नेचर गाइडको लाइसेन्स निकाले पनि २ सय हाराहारी मात्र यसै काममा सक्रिय छन् । [email protected]

प्रकाशित : मंसिर १, २०७४ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?