कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भाइरल भइदियो

काठमाडौं — ‘भारइल भइदियो...’ । साँच्चै भाइरल नै भयो । खुबै हिट । यो गीत अपलोड गरिएको २४ घण्टाभित्रै युट्युबको नेपाल ट्रेन्डिङमा एक नम्बरमा उक्लियो । यसले दुई सातामै ३० लाख भ्युज पायो । मानस राजको शब्द, संगीत र स्वर त रुचाइयो नै, यो गीतको लोकप्रियताको पछाडि भिडियोको भूमिका अझ प्रभावकारी छ ।

भाइरल भइदियो

युट्युबमा अपलोड गरिएको दुई साताभित्रै ३० लाखले हेरेको भिडियो ‘भाइरल भइदियो...’ का निर्देशक सविन कार्कीबारे गोकर्ण गौतम लेख्छन् :

आठ वर्षीया दीक्षा ठकुरीको डान्स अनि भिडियोको कन्सेप्ट साँच्चै आकर्षक छ ।
निर्देशक सविन कार्कीको भाइरल भइदियो पहिलो अफिसियल म्युजिक भिडियो हो तर उनी युट्युबमा रम्नेका लागि परिचित हुन् । उनका कमेडी स्किट्स र कभर भिडियोले लाखौं भ्युज पाइसकेका छन् । डान्स गु्रप द कार्टुन्ज क्रुसँग छुटिएपछि सार्वजनिक भएको सविनको पहिलो डान्स भिडियो हो यो र फरक यही हो । यसमा उनकै अभिनय र डान्स देख्न सकिन्छ ।
सविन डान्सर मात्र होइनन्, कमेडियन मात्र पनि होइनन् । निर्देशन, सम्पादनदेखि कलरिङसम्म आफैं भ्याउँछन् । उनको स्वभाव नै ‘वान म्यान आर्मी’ जस्तो छ । कार्टुन्ज क्रुलाई युट्युबमार्फत स्थापित र व्यवस्थापन गर्ने श्रेय सविनलाई नै जान्छ । उनी चिनिएका पनि त्यहींबाट हो । फिल्म रेशम फिलिलीको बहुचर्चित गीत ‘जालमा...’ बाट कभर भिडियोमा इन्ट्री मारेको कार्टुन्ज क्रु ‘फन्टास्टिक वन्डरफुल...’ सम्म आइपुग्दा ‘हटकेक’ भइहाल्यो । स्टेज शोमा भ्याइनभ्याई । नाकाबन्दी स्पेसल भिडियो र नेपाल क्यान डान्स २०१४ ले क्रुलाई शिखरमा पुर्‍याएको थियो ।


यता कार्टुन्ज क्रु हिट भयो, उता सविन अलगिए । ‘क्रुका सबै साथीहरू दक्ष भए । म नभए पनि खासै फरक नपर्ने भएपछि एक्लै काम गर्ने निर्णयमा पुगें,’ उनले प्रस्ट्याए । उनलाई डान्समा मात्र सीमित हुनु थिएन, कमेडी पनि गर्नु थियो, आफ्नै मर्जीअनुरूप । यद्यपि उनी क्रुसँग असमझदारी भएको यथार्थ पनि नकार्दैनन् । स्कुल पढ्दा उनी हरेक कुरालाई ‘ट्वीस्ट’ गरेर हँसाउन माहिर थिए । त्यसैले साथीहरूबाट ताली पाउँथे भने सरबाट गाली । तैपनि कमेडी गर्न छोडेनन् । अलि ठूलो भएपछि भिडियो खिच्न र खेल्नतिर हुरुक्कै हुन थाले ।
उनले युट्युब च्यानल ‘बिस्ट अफिसियल’ सन् २००९ मै खोलेका थिए । बिस्ट उनको स्टेज नाम हो । युट्युबले भेरिफाइड गरेको यस च्यानल १ लाख ४४ हजारले सब्सक्राइब गरिसकेका छन् । डान्स भिडियोहरू अपलोड गर्ने यस च्यानलको कुल भ्युज ३ करोड २५ लाख नाघिसक्यो । उनले तीन वर्षअघि खोलेको अर्को च्यानल ‘सविन कार्की–बिस्ट’ को सब्सक्राइबर्स ६७ हजार पुगिसक्यो । छोटा कमेडी भिडियो अपलोड गर्ने यस च्यानललाई ४१ लाख पल्ट हेरिएको छ । यी दुई च्यानलले सविनको काम देखाउँछ । ‘भाइरल भइदियो...’ सँगै उनको कमेडी भिडियो ‘डेट गन रङ’ पनि युट्युबको नेपाल ट्रेन्डिङमा छाइरहेको छ । उनले युट्युबमा आफ्नो क्षमता देखाएर नाम र दाम कमाएनन् मात्र, डान्स, कोरियोग्राफी, भिडियो सम्पादन सबै युट्युबबाटै सिके पनि ।


सविन कार्टुन्ज क्रुबाट टाढिएको झन्डै डेढ वर्ष युट्युबबाट बिरानो भएका थिए । सीमित कमेडी भिडियो मात्र अपलोड गरे । यसबीचमा दुई महिना मुम्बईमा फिल्म मेकिङ पढे । ‘युट्युबमा कसरी जाने र दीर्घकालसम्म आफूलाई टिकाउने भनेर योजना बनाइरहेको थिएँ,’ चुपचाप रहेको अवधिबारे उनले मुख खोले । ‘भाइरल भइदियो...’ लाई त्यसको प्रतिफल मान्नुपर्छ, जसले उनको ‘कमब्याक’ दमदार बनायो । अब निरन्तर कमेडी र डान्स भिडियो अपलोड गर्ने उनले बताए । उनले दर्जनौं कन्सेप्ट र आइडिया मोबाइलमा नोट गरेका छन् ।
समय सान्दर्भिक कमेडी अनि युनिक तर सरल डान्स स्टेप सिर्जना गर्नु उनको विशेषता हो । यसमा उनलाई पुल्चोक इन्जिनियरिङमा पढिरहेका भाइ सञ्जय कार्कीले पनि साथ दिइरहेका छन् । उनका हरेक भिडियो छायांकन गर्ने सञ्जय नै हुन् । ‘भाइरल भइदियो...’ भाइरल भएपछि सविनलाई स्थापित गायक/गायिकाबाट भिडियो बनाउने प्रस्तावको ओइरो लागेको छ । तर उनी धेरै होइन, राम्रो गर्न चाहन्छन् ।
उनी डान्सका नयाँ ट्यालेन्टलाई आफ्नो च्यानलको ‘प्लेटर्फम’ दिन लागिपरेका छन् । त्यसैले सविन ‘नेपाल क्यान डान्स’ फेरि सुरु गर्दैछन् । कमेडी भिडियो त उनको विशेष खुबी भइहाल्यो । उनको मुख्य लक्ष्य हो– हँसाउनु । आफूलाई इन्टरटेनरका रूपमा चिनाउन चाहने उनी भन्छन्, ‘कमेडी र डान्स गरेर अरूलाई मनोरञ्जन दिँदा म आफैंलाई सबभन्दा बढी सन्तुष्टि मिल्छ । त्यसका लागि युट्युबभन्दा अर्को सशक्त माध्यम छैन ।’ उनको सपना युट्युबमै सीमित छैन, डान्सको कथा बोकेको फिल्म बनाउनु पनि छ । उनले फिल्मको प्रारम्भिक खाका बनाइसकेका छन् । 

प्रकाशित : मंसिर १५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?