कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

निर्मात्री होड

सुशील पौडेल

काठमाडौं — महिलालाई सौन्दर्यको पर्याय मात्रै मानिँदासम्म फिल्म क्षेत्रमा नायिका आयु लामो हुँदैन । उमेरले ३० नकट्दै थुप्रै नायिका पलायन भएका उदाहरण छन् । सायद, पलायन हुन नपरोस् भनेर यतिबेला अधिकांश चल्तीका नायिकाहरू फिल्म निर्माणतर्फ लागेका छन् ।

निर्मात्री होड


सिर्जना बस्नेत, मौसमी मल्ल, सुस्मिता केसी, करिश्मा मानन्धर, ऋचा घिमिरेले सुरु गरेको निर्माताको लाइनमा यतिबेला नयाँ नायिकाहरू थपिने क्रम जारी छ । लामो समय फिल्म क्षेत्रको अनुभवका आधारमा पनि नायिकाहरूले अन्य पेसाको सट्टा फिल्मकै अर्को पाटोमा जानुलाई सहज र औचित्यपूर्ण ठानेको बताउँछन् । नम्रता श्रेष्ठ सोल सिस्टर्स, छुल्ठिम गुरुङ डायरीबाट असफल रहे पनि शिल्पा पोखरेलले भने मंगलमबाट निर्माताका रूपमा आंशिक सफलता पाइन् । निर्माताकै रूपमा ऋचासिंह ठकुरी सुपर गोर्खे र अशिष्मा नकर्मी नेवारी फिल्म लाखे भाजु थपिँदैछन् ।
साताअघि मात्रै केकी अधिकारीले फिल्म लभ सासाका लागि यस वर्षको सर्वोत्कृष्ट नायिकाको समीक्षक समाजद्वारा आयोजित क्रिटिक्स अवार्ड जितिन् । डेब्यु फिल्म स्वरमा गरेको अभिनयदेखि पछिल्ला घामपानी वा ऐश्वर्यमा गरेको अभिनयले केकीलाई नेपाली नायिकामाझ अग्रपंक्तिमा उभ्याएको छ । तर यतिबेला उनी भने कोहलपुर एक्सप्रेसमार्फत निर्माताको लाइनमा समेत उभिएकी छन् । सुटिङ भइरहेको विशाल भण्डारी निर्देशित उक्त फिल्मबाट केकीको नयाँ अध्याय सुरु हुँदै छ ।
नेपाल जस्तो पितृसत्तात्मक समाजमा विवाहपछि नायिकाको करिअरमा लगभग ब्रेक लाग्छ । यो पनि कारण हुन सक्छ, क्रिकेटर शरद भेषावकरसँग विवाह गरेको वर्ष नबित्दै निशाले फिल्म निर्माणमा हात हाल्नु । सौगात मल्ल र बेनिशा हमालको जोडी लिएर बनाइएको 
झ्यानाकुटीबाट उनले निर्माणमा समेत आंशिक सफलता हात पारिन् । यसअघि अधिकांश नायिका निर्माणमा असफल भइरहेका थिए ।


कहाँ भेटिएलाका लागि श्रीकृष्ण श्रेष्ठले नायिकाका रूपमा श्वेता खड्कालाई भेटाएका थिए । उक्त जोडी रिलमा त जम्यो नै, यथार्थमा पनि जम्यो । कोहिनूरसम्म आइपुग्दा श्वेताले श्रीकृष्णलाई गुमाउन पुगिन् । तर उनले श्रीकृष्णको फिल्म निर्माणको लयलाई भने टुट्न दिइनन् । यसपटक उनले दयाहाङ राईसँग जोडी बाँध्दै कान्छी मात्रै खेलिनन्, निर्माणसमेत आफैंले गरिन् । अनमोल केसी अभिनीत कृकै रिलिज डेटमा कान्छी ल्याउन खोजिरहेकी छिन् श्वेता ।


हिरोबाट हिरोइन बनेर देखापरेकी रेखाले लामो समय एक नम्बरकी नायिकाका रूपमा राज गरिन् । छविराज ओझासँग विवाह गरेपछि रेखाकै ब्यानरबाट फिल्म निर्माण हुन थाले पनि रेखा भने छविलाई छोडेपछि नै खास निर्माता बनिन् । निर्माणसँगै उनी आफ्नो फिल्मको शीर्ष भूमिकामा पनि आइरहेकी छन् । निर्माताका रूपमा धेरै फिल्म दिने र व्यावसायिक सफलता हात पार्ने नायिकामा पनि रेखा अगाडि नै आउँछिन् । आर्यन सिग्देलसँग अभिनीत पछिल्लो फिल्म रुद्रप्रियाले भने उनलाई सफल बनाएन ।
नायिकाका रूपमा सफल नाम हो, झरना थापा । यिनै झरना यस वर्ष निर्माणसँगै निर्देशक पनि भएर देखा परिन्, ए मेरो हजुर २ मार्फत । यसले उनलाई राम्रै सफलता पनि दिलायो । आफ्नै पति सुनीलकुमार थापासँगको निर्माण सहकार्यले झरनालाई नायिकाबाट निर्माताको बाटोमा टसमस हुन दिएन । फिल्ममा भने उनले साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँको जोडीलाई उतारेकी थिइन् ।


फस्ट लभदेखि अभिनयलाई प्रिय बनाएकी ऋचा बेलाबखत को आफ्नो होस् वा सुनकेशरी मार्फत आफूलाई एक्सपेरिमेन्ट गरिरहन्छिन् । ब्लकबस्टर्स लुट वा क्रिटिकल्ली एक्लेम्ड टलकजंग भर्सेज टुल्के र उमाजस्ता फिल्म दिएकी ऋचा पनि पछिल्लोपटक निर्माताको लाइनमा आएकी छन् । अर्पण थापासँग मिलेर आधा लभ निर्माण गरे पनि यसले उनलाई निर्माताका रूपमा भने सफलता दिलाएन तर फिल्म निर्माणको जोस भने उनमा अझै यथावत् छ । 

[email protected] 

 

प्रकाशित : मंसिर १५, २०७४ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?