कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

रोबोटको रोचक भिडन्त

इन्जिनियरिङका विद्यार्थीका लागि प्रतिभा देखाउने थलोका रुपमा रहेको यन्त्र ६.० सोमबार सम्पन्न भयो । यसपालि रोबोटको फुटबल र रिमोट कन्ट्रोलबिना ‘अटोमेटिक अखडा’को प्रतिस्पर्धा रोमाञ्चक रह्यो ।
विजय तिमल्सिना

काठमाडौँ — पछिल्लो साताको दुई दिन लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको हल निकै व्यस्त रह्यो । हलको एक कुनामा हातमा रिमोट बोकेकाहरू ‘गोल गोल’ भन्दै चिच्याइरहेका थिए भने अर्कोतिरको समूह ‘जित्यौं’ भन्दै उफ्रिरहेका थिए । आइतबार र सोमबार दिनभर यस्तै चलिरह्यो ।

रोबोटको रोचक भिडन्त

यसमा हार–जितको प्रतिस्पर्धा रोबोटबीच भए पनि त्यसले हर्षोल्लास र निराशा मानिसलाई बनाएको थियो । अर्थात् रोबोटको प्रत्यक्ष सम्बन्ध मानिससँग जोडिएको थियो । काठमाडौं उपत्यकाका १९ वटा इन्जिनियरिङ कलेजका ५२ समूह रोबोटको प्रतिस्पर्धामा जोडिएका थिए । यो इभेन्ट थियो– यन्त्र ६.० । ६ वर्षयता भइरहेको रोबोटिक्स प्रतिस्पर्धा यन्त्र अहिले नेपालका इन्जिनियरिङ कलेज र यसका विद्यार्थीबीच चर्चित बनेको छ । उनीहरूका लागि सीप प्रदर्शन गर्ने थलो बनेको छ यो ।

यस वर्ष आयोजित यन्त्रमा केही नयाँ विधा थपिएका थिए, जसको चुनौती यहाँका इन्जिनियरिङका विद्यार्थीका लागि पनि नयाँ थियो । त्यसैले अघिल्ला वर्षभन्दा यसपालिको संस्करण रोचक बन्यो ।

यसपालि ‘राष्ट्रिय लिग’ नाम दिएर रोबोटबीचको फुटबल प्रतियोगिता राखिएको थियो । यसमा सहभागी हुनेलाई चुनौती थियो– तीन रोबोटको प्रयोग गरी विपक्षीको पोस्टमा धेरैभन्दा धेरै गोल गर्ने । प्रतिस्पर्धी तीन रोबोटलाई तीन मानिसले नियन्त्रण गरी प्रतिस्पर्धा गराइएको खेलका नियम भने वास्तविक फुटबलसँग मिल्दाजुल्दा थिए । र, यसमा वास्तविक फुटबलमा खेलाडीको जस्तै रोबोटबीचको घम्साघम्सीले रोचक बनिदियो ।

अर्को प्रतिस्पर्धा थियो– म्यानुअल अखडा । यो प्रतिस्पर्धामा सहभागीहरूले आफ्नो रोबोटले अर्को प्रतिस्पर्धीलाई रिङबाट आउट गर्नुपर्ने थियो । यसमा कुल आठ समूह थिए । प्रतियोगीले आफूले बनाएको रोबोट रिमोटबाट नियन्त्रण गर्दै विपक्षीमाथि आक्रमण गर्दा प्रतिस्पर्धा रोच बनेको थियो । लाग्थ्यो– मानिस आफैं जुधिरहेका छन् ।

यसपालिको अर्को नयाँ प्रतिस्पर्धा थियो– यन्त्र अटोमेटिक अखडा । रिमोटको सहायताबिना रोबोट आफैंले विपक्षीको पहिचान गरी रिङबाट आउट गर्नुपर्ने यसको विशेषता थियो ।

यन्त्रमा हरेक वर्ष प्रतिस्पर्धीका लागि अर्को एउटा मुख्य थिम पनि हुने गर्छ । यसपालिको मुख्य थिम ‘यन्त्र स्पेस’ राखिएको थियो । यसमा प्रतिस्पर्धाका लागि वाकिङ रोबोट अनिवार्य थियो । अर्थात् प्रतिस्पर्धीले

ह्विल (चक्का) प्रयोग गरिएको रोबोटको सट्टा वाकिङ रोबोट (हिँड्ने रोबोट) प्रयोग गर्नुपर्ने । त्यसैले चुनौती पनि नयाँ खालको थियो ।

रोबोटले ओरालो–उकालो पार गर्दै माटो बोकेर त्यसको तापक्रम परीक्षण गर्नुपर्ने चुनौती दिइएको थियो । यस्ता रोबोटका कन्ट्रोलरले प्रत्यक्ष नभई रोबोटमा जडित क्यामराबाट प्राप्त भिडियोमार्फत प्राप्त जानकारीअनुसार रोबोट नियन्त्रण गर्नुपर्ने थियो । यसमा हरेक समूहले दुई रोबोट बनाएका थिए । उनीहरू ह्विल प्रयोग गरिएको एउटा रोबोटबाट अर्को वाकिङ रोबोट भुइँमा खसाल्थे र ह्विल प्रयोग गरिएका रोबोटलाई अप्ठ्यारो बाटो पार गराउँदै बालुवा र गिट्टी टिप्न लैजान्थे । अर्को वाकिङ रोबोट भने एउटा कुनामा पुगेर अर्को रोबोटले ल्याउने सामग्रीको प्रतीक्षामा हुन्थ्यो । प्रतिस्पर्धा अन्यभन्दा जटिल भएकाले यसमा चार समूह मात्र सहभागी थिए ।

यन्त्र स्पेसमा ख्वप: इन्जिनियरिङ कलेजको अभिनव मैनालीको समूह पहिलो भयो । उनीहरूले बनाएको ‘फलन एन्जल’ रोबोट सुरुदेखि नै अन्य रोबोटभन्दा प्रभावकारी देखिएको थियो । यसअघिको यन्त्रमा पनि सहभागी भइसकेका मैनालीको नेतृत्वमा रूकेश प्रजापति, जिडेश गोविन्द वैद्य, सुदीप शर्मा र प्रवेश थापाको समूहले यसलाई तयार पारेको थियो । यसमा मोटर, ट्रान्समिटर, क्यामेराजस्ता सामग्री प्रयोग गर्दा करिब ८० हजार खर्च लागेको मैनालीले जानकारी दिए ।

२० टिम सहभागी राष्ट्रिय लिग फुटबल निकै रोमाञ्चक रह्यो र यसमा युनाइटेड एकेडेमीको यूएआर रोबोटिक्स–२ ले बाजी मार्‍यो । रिमोटको नियन्त्रणबिना रोबोटले प्रतिस्पर्धा गर्नुपर्ने अटोमेटिक अखडामा भने बिटल रोबोट विजेता बन्यो, यसलाई रुकेश गुसैन, रूपेशलाल कर्ण, पुस्वन्त राई, पाल्देन राई र सुजाता बस्यालको समूहले तयार पारेको थियो ।

म्यानुअल अखडामा भने ख्वप इन्जिनियरिङ कलेजकै टिम गोलेन प्रथम भयो । उनीहरूले बनाएको रोबोटले फाइनलमा ट्रिनिटी इन्टरनेसनल कलेजको रोबोनट्सले बनाएको रोबोटलाई पराजित गरेको थियो । ख्वप इन्जिनियरिङ कलेजका समीर सापकोटा, जिडेश गोविन्द वैद्य, राजेश जुसु, सिद्धार्थ गौतमको समूहले यसलाई बनाएको थियो ।

हरेक वर्ष भइरहेको रोबोटिक्स प्रतिस्पर्धा यन्त्र यहाँका विद्यार्थी र किशोरहरूको सीप तिखार्ने अवसर पनि हो । सन् २०१३ का यन्त्रमा मुख्य उपाधि जितेका गणेश विक्रम आलेले बम डिस्पोजल रोबोट बनाएर अघिल्लो महिना मात्रै नेपाली सेनालाई ३० लाख रुपैयाँमा बिक्री गरेका थिए ।

प्रतिस्पर्धीहरूको क्षमता अभिवृद्धि गर्न हरेक वर्ष यन्त्रमा चुनौती थप्दै जाने आयोजक नेपाल रोबोटिक्स एसोसिएसन (र्‍यान) का अध्यक्ष विकास गुरुङले बताए । ‘यो वर्ष पनि हामीले विभिन्न प्रतिस्पर्धामा भिन्न खालका थिम राखेर प्रतिस्पर्धीले बेग्लै क्षमताको रोबोट बनाउन सकून् भन्ने ध्येय राखेका थियौं,’ उनले भने, ‘यसपालि वाकिङ रोबोट नयाँ प्रतियोगिता भयो । अर्को वर्ष यही चुनौती सामान्य बन्नेछ ।’

रिमोट कन्ट्रोलबिना प्रतिस्पर्धा गर्नुपर्ने अटोमेटिक अखडा विधा समावेश गरी प्रतिस्पर्धीलाई आर्टिफिसियल इन्टेलिजेन्टयुक्त रोबोट बनाउन प्रोत्साहन गरिएको थियो । साथै, ‘यन्त्र स्पेस’ थिममा वाकिङ रोबोट अनिवार्य गरेर ह्विलबेस रोबोटको विकल्पमा जान खोजेको गुरुङले बताए । सबै विधाका विजेता अर्को साता मुम्बईमा हुने आईआईटी बम्बेको टेक फेस्टमा सहभागी हुन पाउने छन् ।

सुनोज श्रेष्ठ

पूर्वअध्यक्ष, र्‍यान

सन् २०१२ बाट सुरु भएको यन्त्र बर्सेनि भइरहनु नै आफैंमा ठूलो उपलब्धि हो । सुरुमा हामीले कलेज र विभिन्न आईटी कम्पनीसँग चन्दा उठाएर यन्त्र सञ्चालन गर्नुपरेको थियो तर अहिले सरकारी निकाय र अन्य संस्थाले पनि यसलाई चासो दिएर सहयोग गर्न थालेका छन् । यस्ता सहयोगको निरन्तरताले यस क्षेत्रमा लाग्नेहरू नयाँ आइडियामा लाग्न सक्छन् । सुरुवाती चरणमा विद्यार्थीले सिकेको कुरा व्यवहारमा उतार्ने थलो थियो यन्त्र । अब यन्त्रले प्रतिस्पर्धामा आउने रोबोटलाई नेपाललाई सुहाउँदो बनाउने, राम्रो रोबोटलाई व्यवसायीकरण गर्ने र बजार सुहाउँदो तयार गर्नेमा पनि ध्यान दिनुपर्छ ।


गणेश विक्रम आले

विजेता, यन्त्र २.०

हामीले सन् २०१३ मा भएको यन्त्र २.० को मुख्य विधा जितेका थियौं । त्यो बेलाको तुलनामा अहिले यन्त्रमा धेरै सुधार भएको छ । प्रतिस्पर्धीको संख्या वृद्धि भएको छ भने यसमा रुचि राख्ने जमात पनि

बढेको छ । यन्त्रमा प्रतिस्पर्धा गर्ने रोबोट पनि पहिलेभन्दा धेरै सुधारिएका छन् । नेपालमा रोबोटिक्सलाई अझ माथिल्लो स्तरमा लैजान यस्ता प्रतियोगितामा प्रतिस्पर्धा गर्ने रोबोटहरू अब व्यावहारिक खालको बनाउनुपर्छ, जुन दैनिक जीवनमा उपयोग गर्न सकियोस् ।


[email protected]

प्रकाशित : पुस ७, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?