कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

म्युजियमको गाइड

अब स्मार्टफोन लिएर अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेश गर्नेले भित्रका जानकारी पाउनका लागि गाइड खोजिरहनु पर्दैन, इन्टरनेसनल माउन्टेन म्युजियम डाउनलोड गरे पुग्छ ।
भीम घिमिरे

काठमाडौँ — पोखराको घुम्नैपर्ने स्थानमध्ये अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पनि हो । विश्वका अग्ला शिखर, तिनको अवस्थिति, आरोहणको इतिहास, हिमाली जनजीवन र जलवायु परिवर्तनबारे बुझ्न चाहनेहरूका लागि उक्त संग्रहालय महत्त्वपूर्ण पाठशाला हो ।

म्युजियमको गाइड

करिब २ लाख ५० हजारले वार्षिक यस संग्रहालय अवलोकन गर्छन् । अब स्मार्टफोन लिएर संग्रहालय प्रवेश गर्नेले भित्रका जानकारी पाउनका लागि गाइड खोजिरहनु पर्दैन किनभने ‘इन्टरनेसनल माउन्टेन म्युजियम’ डाउनलोड गरे पुग्छ । सूचना प्रविधिका प्राध्यापक र विद्यार्थीको एक समूहले हेर्न–सुन्न मिल्ने गरी यो एप्स तयार पारेको हो, जुन अहिले परीक्षण कालमा छ । केही सातापछि विभिन्न भाषामा यसले सेवा दिने बताइएको छ ।

दक्षिण कोरियाको हाङदोङ युनिभर्सिटी र पोखरा विश्वविद्यालयको एउटा साझेदार परियोजनाले प्राध्यापक र विद्यार्थीलाई सघाउन यो एप्सको योजना ल्याएको हो । एप्समा जानकारी संग्रहमा जुटिरहेको समूहमा नेतृत्वकर्ता राजेन्द्रबहादुर थापा भन्छन्, ‘धेरै पर्यटक पुग्ने, उनीहरूको खाँचोलाई मोबाइल फोनमार्फत सम्बोधन गर्ने हामीले म्युजियमका लागि एप्स बनाउँदा उपयोगी हुने ठान्यौं । हाम्रो यही प्रस्ताव विश्वविद्यालयले स्विकार्‍यो र काम थाल्यौं ।’

गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सका प्राध्यापक थापासँगै एप्स बनाउन पोखरा विश्वविद्यालयका अनुप आचार्य, हरि केसी, महेश शाक्य, सुजन ताम्राकार, विद्यार्थीहरू हरि लामिछाने, सूर्यमान श्रेष्ठ र शंकर आचार्य नेपाल इनोभेसन टेक्नोलोजी एन्ड इन्टरप्रेनरसिप सेन्टरमार्फत कार्यरत छन् । ‘यस एप आफ्नो मोबाइलमा डाउनलोड गरेकाहरूले भित्र पसेपछि जुन–जुन कक्षमा पुग्छन्, त्यसको जानकारी अडियो–भिडियोको माध्यमबाट पाउन सक्छन्,’ प्रोजेक्ट लिडर थापाले भने, ‘हामीले एप्स प्ले स्टोरमा राखेर ट्रायल गरिसक्यौं । अहिले म्युजियम भित्रको जानकारी अंग्रेजी र नेपाली भाषामा संग्रह गर्ने काम भइरहेको छ ।’

जुन कक्षमा पुगिन्छ, त्यसको क्यूआर कोड रिडरमा देखाउने वा कोड नम्बर हेरेर हाल्नेबित्तिकै एप्सले जानकारी दिन सुरु गर्छ । प्रारम्भिक चरणमा एप्समा अंग्रेजी भाषामा जानकारीहरू राखिएको छ । समूहका सदस्य अनुप आचार्यका अनुसार एप्सले संग्रहालयभित्र रहुन्जेल मात्रै अधिकतम जानकारी दिन्छ ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयभित्र पसेर आफूलाई बुझाउन गाइड चाहियो भन्नेका लागि तीन जना गाइड पनि छन् । संग्रहालयका प्रमुख बलप्रसाद राई संसार सूचना प्रविधिको द्रुत विकासमा लम्किरहेका बेला आफ्नो म्युजियमले पनि उत्साही युवाको साथ पाएको बताउँछन् । ‘युरोपेली अमेरिकी पर्यटक गाइड खोज्दैनन्, विस्तारै घुम्छन्, लेखेका कुरा पढ्दै जान्छन्,’ उनले भने, ‘गाइड खोज्ने दक्षिण एसियालीहरू हुन् । धेरै समूह आउँदा हाम्रो सीमित जनशक्तिले धान्न गाह्रो हुन्छ । त्यसैले एप्स संग्रहालयका लागि महत्त्वपूर्ण हुनेछ । हामी म्युजियमका जानकारी कसरी सरल भाषामा दिने भनेर लेखक, इतिहासकार र जानकारहरूसँग बुझ्दै छौं ।’ परीक्षणका लागि अंग्रेजीमा थोरै जानकारी राखिएको छ । मागअनुसार अन्य भाषामा पनि जानकारी राखिने राईले बताए ।

प्रकाशित : पुस २१, २०७४ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?