कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेक्नोलोजी ट्रेन्ड

काठमाडौँ — फेक न्युज, बिटक्वाइनको अकासिँदो मूल्य, एप्पल र सामसुङको प्रतिस्पर्धा यस्तै चर्चाले सन् २०१७ मा स्थान पाए । आगामी वर्ष प्रविधिको क्षेत्रमा के विषयले बढी महत्व पाउलान् ? २०१८ को टेक्नोलोजी ट्रेन्ड कस्तो होला ? केही अनुमान :

टेक्नोलोजी ट्रेन्ड

सोसल मिडियाको प्रभाव घट्ने

सन् २०१७ मा पूरा वर्ष सोसल मिडियाको खुबै आलोचना भयो । अमेरिकी राष्ट्रपति निर्वाचनमा गलत जानकारी फैलाउन भूमिका खेलेको भन्दै सुरु भएको आलोचनाले सोचेभन्दा ठूलै आकार लियो । फेसबुक, ट्वीटर, युट्युबलाई अतिवादी समूहले आफ्नो विचार फैलाउन उपयोग गरेको भनेर पनि आलोचना भइरह्यो ।

सोसल मिडियाले मानवीय सम्बन्धमा दरार उत्पन्न गरेको भन्दै यसको प्रयोग कम गर्न थाल्ने मानिसको संख्या पनि वृद्धि भइरहेको छ । आफ्नो उद्देश्य पूर्तिबाहेक अन्य समय यसमा बिताउनु हुन्न भन्ने मानिसको संख्या बढ्दो छ । सोसल मिडियामा आउने सबै कुरा पत्याउनु हुन्न भन्ने चेतना मानिसको बढ्दै छ । यिनै कारणले गर्दा आगामी वर्ष सोसल मिडियाको प्रभाव कम हुँदै जाने हो कि भन्ने अनुमान गर्नु जायज छ ।



भिडियोको वर्चस्व

केही अध्ययनहरूको दाबी के छ भने सन् २०१९ सम्ममा सोसल मिडियाका ८० प्रतिशत सामग्री भिडियो हुनेछन् । यसलाई पुष्टि गर्ने आधार के पनि छ भने अहिले चल्तीका सोसल मिडिया कम्पनीले भिडियो सामग्रीलाई महत्त्व दिन थालेका छन् र आफैं पनि भिडियो सामग्री उत्पादनमा अग्रसर भइसकेका छन् । फेसबुक र युट्युब आफैंले भिडियो कन्टेन्ट निर्माण गर्न सुरुवात गरिसकेका छन् ।

प्रयोगकर्तालाई पनि सबैभन्दा सजिलो र प्रभावकारी भिडियो सामग्री हेर्नमै रुचि हुन थालेको छ । विश्वभर इन्टरनेटको सहजता र घट्दो मूल्यले पनि भिडियो सामग्री हेर्ने संख्यामा वृद्धि भइरहेको छ । यिनै आधारहरूका कारण भिडियो सामग्रीले आगामी वर्ष सोसल मिडिया वा अन्य प्लेटफर्म ओगट्दै जाने अनुमान गर्न गाह्रो छैन ।



अन्तरिक्षमा मानव पर्यटक

इलन मस्कको स्पेस एक्सलाई दुई व्यक्तिले आगामी वर्ष अन्तरिक्षको भ्रमण गर्नका लागि रकम तिर्न तयार भएका छन् । उनीहरूलाई २०१८ मा अन्तरिक्षमा लैजाने कम्पनीको योजना छ । अन्तरिक्षमा उनीहरू पर्यटकका रूपमा जाने पहिला व्यक्ति हुनेछन् । अन्तरिक्षमा मानव बस्ती बसाल्ने सपना देखेका वैज्ञानिकहरूका लागि यो खुसीको खबरसमेत हुनेछ ।

स्पेस एक्सले अन्तरिक्षमा जाने फाल्कोन नामक ठूलो रकेटको यसै वर्ष परीक्षणसमेत गर्दैछ । अन्तरिक्षमा पहिलो मानव पर्यटकको यात्राले पक्कै पनि विश्वभरका अन्य व्यक्तिहरूमा यो जोखिम उठाउने साहस बढ्नेछ । योजनाअनुसार काम सफल भए सांकेतिक रूपमा भए पनि यो निकै ठूलो सफलता बन्नेछ ।


इलेक्ट्रिक कारको आगमन

केही अघिसम्म चालकरहित कारको आगमन चाँडै हुने र यसले बजारमा वर्चस्व राख्ने अनुमान गरिँदै आएको थियो । त्यसलाई सावित गर्दै चालकरहित कारको निर्माण र अनुसन्धान व्यापक हुन थालेको छ । यस्ता कार प्रयोग गर्न चाहने देशको सूची पनि बढ्दै छ । यो योजनाले मूर्त रूप लिन अझै समय लाग्ने भए पनि अहिले प्रयोगमा रहेको इन्धनको सट्टामा इलेक्ट्रिक कारको आगमन भने बढी सहज हुने देखिन्छ ।

इलेक्ट्रिक कार निर्माण गर्न टेस्लालगायत कम्पनीले लिएको अग्रसरता र उनीहरूले पाएको सफलताले यसलाई पुष्टि गर्छ । अहिले उत्कृष्ट डिजाइन र कार्यक्षमता भएका इलेक्ट्रिक कार निर्माणमा विभिन्न कम्पनी लागेका छन् । यसलाई कम मूल्यमा बजारमा पठाउन उनीहरूबीच प्रतिस्पर्धा भए आगामी वर्ष इलेक्ट्रिक कारकै चर्चा बढी हुनेछ ।



भर्चुअल मनीको बहस

क्यासलेस संसारको परिकल्पना भएको धेरै भइसकेको छ । पछिल्लो समय बिटक्वाइनको चर्चाले भर्चुअल मनीको भविष्यबारे धेरै बहस जन्माएको छ । बिटक्वाइनलाई भर्चुअल मनीको भविष्य भन्नेहरू नै यसले संसारभरको बैंकिङ प्रणालीमा जोखिम ल्याएको भन्दै चिन्ता गर्न थालेका छन् ।

योबाहेक बिटक्वाइनजस्ता भर्चुअल मनीका अवधारणाको जोखिमलाई कसरी कम गर्न सकिन्छ र यसको उपयुक्त विकल्प के हुन सक्छन् ? यस्तै विषयमाथि आगामी वर्ष बहस केन्द्रित हुन सक्छ । यो वर्षको मध्यतिरबाट सुरु भएको यो बहस यति चाँडै टुंगिने छाँटकाँट देखिन्न ।

–एजेन्सीहरूबाट

प्रकाशित : पुस २१, २०७४ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?