३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

साबाउ : धिमाल संग्रहालय

आधुनिकता समयको माग हो तर आफ्नो संस्कृति पनि जोगाउनुपर्छ ।
अर्जुन राजवंशी

काठमाडौँ — ग्राहकको ध्यान तान्ने बाहनामा होटल–रेस्टुराँहरू सधैं आफ्नो भान्सालाई विशेष स्वादिलो बनाउने प्रयास गरिरहेका हुन्छन् । ग्राहकहरू पनि स्वादिलो भान्सा भएतिरै तानिन्छन् । तर, दमकमा रेस्टुराँप्रतिको आकर्षण स्वादमा मात्रै सीमित छैन, खान्कीसँगै स्वपहिचानको अपनत्व पनि जोडिएको छ । यसले ग्राहकको मन जितेको छ ।

साबाउ : धिमाल संग्रहालय

फाल्गुनन्द चोकमा छ– साबाउ रुफटप रेस्टुराँ । सहरभित्रका करिब चार सय होटल, रेस्टुराँभन्दा निकै भिन्न छ यो । रेस्टुराँमा खाना अर्डर गरेपछि खाना कुर्न मोबाइलमा व्यस्त भइरहनु पर्दैन । रेस्टुराँका भित्ता र वातावरणले जो–कोहीलाई मोहित तुल्याउँछ । प्रवेशद्वारदेखि नै आकर्षक सजावटले ग्राहकलाई पूर्वी नेपालको धिमाल संस्कृति बुझ्ने अवसर पनि दिन्छ ।


रेस्टुराँ दमककै ६५ वर्षीया भक्तिमान धिमालले सञ्चालनमा ल्याएका हुन् । भेला भएर खाने प्रचलनलाई धिमाल भाषामा साबाउ भनिन्छ र यसैको नामबाट गत वर्ष पुसमा रेस्टुराँ सञ्चालनमा ल्याइएको थियो । रेस्टुराँले स्वादिलो खानासँगै ऐतिहासिक–सांस्कृतिक पहिचानको एउटा संग्रहालयको झलक दिन्छ । होटलका प्रत्येक भित्तामा धिमाल जातिका मौलिक सामग्री सजाइएका छन् । झापा र मोरङमा बसोबास गर्ने आदिवासी हो धिमाल । उसले आदिम कालमा प्रयोग गर्ने दैनिक जीवनसँग सम्बन्धित वस्तुहरू संग्रह गरी रेस्टुराँमा राखिएको छ ।

सरकारी जागिरमा तीन दशक बिताएका भक्तिमानले व्यवसायसँगै आफ्नो जातीय पहिचानलाई प्रचार गरिरहेका छन् । उनले रेस्टुराँमा आएका हरेक ग्राहकलाई आफ्ना मौलिक पहिचानबारे व्याख्या गरिदिन्छन् । त्यसैले उनको रेस्टुराँमा खानासँगै सांस्कृतिक वस्तुको पनि तारिफ हुने गर्छ । वास्तवमा यो रेस्टुराँ नै संग्रहालयजस्तो छ ।

करिब एक वर्षको मिहिनेतपछि भक्तिमानले धिमालका मौलिक बाजागाजा उर्नी, ढोल, बाँसुरी, गोमाना र तुन्जाई रेस्टुराँमा ल्याएका हुन् । यी बाजाहरू मुख्यत: उत्सव, विवाह र पूजामा धिमाल जातिले बजाउने गर्छन् । धिमाल गाउँमा पनि लोप भइसकेका यी बाजाहरू उनले कालिगढ झिकाएर आफ्नै लगानीमा बनाउन लगाएका हुन् । उनले धिमाल जातिले विगतमा विवाह गर्दा जन्ती जान प्रयोग गरिने भार गोरा (गोरु गाडा) लाई तेस्रो तल्लामा राखिएको छ, यसैमा बसेर ग्राहकले खानाको स्वाद लिन सक्छन् । गोरु गाडाका चक्काहरूलाई खाने टेबल बनाइएको छ ।


धिमाल जातिले धान कुट्न प्रयोग गर्दै गर्ने फाझो सिम (ओखली), झो सिम र सेना सिममा अचार, मसला बनाइन्छ । माछा मार्दा बोकिने पोही, ठूला पोखरीमा माछा मार्दा प्रयोग गरिने जालो, ढुङ्ग्री र माछा उघाइने सोल्लीलाई पनि आकर्षक रूपमा राखिएका छन् ।

कृषिको झल्को दिन एउटै रूखबाट बनाइएको गाची हाले (हलो), जुङ्ले (जुवा), मावा, पटाहा, पिमाइधी (लट्ठी), घुम (वर्षामा ओढ्ने) लाई पनि रेस्टुराँमा प्रयोग गरिएको छ । अलग वेशभूषाकै कारण दमक, उर्लाबारी, पथरी, बेलबारीमा धिमाल महिलालाई चिन्न सकिन्छ । उनीहरू आफैंले बनाएको पेटानी लगाउँछन् । पेटानी बनाउन प्रयोग गरिने केरखा, भुल्का, जार्खा, चार्खीलगायत मेसिन पनि रेस्टुराँको उत्तरतिर भित्तामा देखिन्छ । विवाहमा प्रयोग गरिने भाँडो घिङ्सी, जान्ता, रोती, खाताउँलगायत पनि संगृहीत छन् ।


धिमाल जनजातिबाट पहिलो अधिकृत भएका भक्तिमानले जातीय पहिचानको संरक्षण र प्रवद्र्धनकै निम्ति मिहिनेत गरेर रेस्टुराँ खोलेका हुन् । ‘आधुनिकता समयको माग हो तर आफ्नो संस्कृति पनि जोगाउनुपर्छ,’ उनले भने, ‘पहिला यिनै सामानहरू नहुँदा हाम्रो दैनिक जीवन चलाउन कठिन हुन्थ्यो । तर अहिले यी सामग्री प्रयोगमा छैनन् । नयाँ पुस्ताले यी सामग्री चिन्नै छाडिसके । त्यसैले सांस्कृतिक पहिचान दिने सामग्रीहरू रेस्टुराँमा संग्रह गरिएको हो ।’ मोरङ र झापामा सीमित धिमालको जनसंख्या करिब ३० हजार रहेको छ ।

प्रकाशित : पुस २१, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?