कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रकिङ चितवन 

विमल खतिवडा

काठमाडौँ — सांगीतिक जमघटको थलो पनि हो चितवन । यहाँ पहिला लोक गीत मन पराइन्थ्यो । विस्तारै जमात पपतर्फ तानियो । अचेल रक–पपकै वर्चस्व छ र बीचमा मेटल पनि घुसेको छ । हजारौं दर्श उफार्ने कन्सर्ट पनि यस्तै गीतको हुन्छ । यस्ता संगतले बजार कब्जा गर्न थालेपछि यहाँ स्थानीय ब्यान्डहरू पनि खुल्न थालेका छन् ।

रकिङ चितवन 

केटाहरू मात्र होइनन्, ब्यान्डमा केटीको संख्या पनि बढ्दो छ । हाल सक्रिय यहाँका १५ ब्यान्डमध्ये तीनमा भोकलिस्ट केटी छन् । भोकलिस्ट केटी रहेको पुरानो ब्यान्ड टाँडीको ‘क्रोमाटिक’ हो । उनी हुन्, आकांक्षा हमाल । रत्ननगर कलेजमा व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययनरत २० वर्षीया उनी रक गीत गाउँछिन् । प्राय: मेला, महोत्सवमा उनको ब्यान्डलाई निम्तो आउँछ ।

‘ब्यान्ड सुरु भएको चार वर्ष भयो । अहिलेसम्म सबैको नजरमा परिएको छ,’ आकांक्षाले भनिन् । उनी गितार बजाउँछिन् । ब्यान्डका अरू चार सदस्य भने केटाहरू हुन् । यसमा विमल पुन व्यवस्थापनमै बढी समय दिने गर्छन् । अस्ट्रेलिया बस्ने उनी ब्यान्डकै लागि वार्षिक कम्तीमा एकपल्ट स्वदेश फर्कने गर्छन् । ब्यान्डलाई आवश्यक सामग्री जुटाउने काम पनि उनकै हो । नीरज बीके ड्रमर, नवीन दर्नाल लिड गितारिस्ट र अशोक लामा बास गितारिस्ट छन् ।


‘कन्सर्टमा लगातार २५ वटासम्म गीत गाउने गरेकी छु,’ आकांक्षा भन्छिन्, ‘मास भीड हेरेर गाउँछु, पाका पुराना भए लोक–पप गाउँछु । दर्शक युवाहरू भए रक प्याटर्नको गीत गाउँछु ।’ उनीहरू कन्सर्टको कमाइ कहिले भाग लगाएर लिन्छन् भने कहिले ब्यान्डको सामान खरिद गर्न खर्चिन्छन् । स्थानीय युवामाझ क्रोमाटिकले रक ब्यान्डको पहिचान बनाएको छ । ‘दर्शक/श्रोताले जे डिमान्ड गर्छन्, त्यो हामीले पूरा गर्ने (गाउने) गरेका छौं,’ आकांक्षाले भनिन् ।

रामपुरका दुई ब्यान्डमा रानामगर दिदीबहिनी अञ्जना र अञ्जुको जगजगी छ । दुवै भोकलिस्ट हुन् । २६ वर्षीया अञ्जना द रोड्स ब्यान्डको लिड भोकलिस्ट हुन् भने अञ्जु (२०) ‘ब्रो हुड’ की । ब्यान्ड पुरानो भए पनि अञ्जनाले भोकलिस्टका रूपमा गत अगस्टमा मात्र ब्यान्डमा जोइन गरेकी हुन् । ब्यान्ड पुरानै भए पनि ब्रो हुडमा नयाँ सदस्य हुन् अञ्जु । उनी यस ब्यान्डमा भोकलिस्टका रूपमा देखा परेको एक वर्ष भयो । दुवैले सबै किसिमका गीत गाउँछन् ।


अचेल बार र रेस्टुराँमा साँझको माहोलमा रक गीतकै माग उच्च छ । चितवनमा २०५० सालतिर स्वस्तिक ब्यान्ड स्थापना भएको थियो । त्यहींबाट चितवनमा सांगीतिक समूह खुल्ने क्रम सुरु भएको ‘प्रश्न’ ब्यान्डका भोकलिस्ट किसान मगर बताउँछन् । ‘पचपन्न सालतिर द स्याडोज खुल्यो, हामीले ०५८ मा प्रश्न सुरु गर्‍यौं,’ उनले भने, ‘ब्यान्ड खुल्ने र बन्द हुने क्रम उस्ताउस्तै छ । तर पछिल्लो समय सक्रिय ब्यान्डको संख्या बढिरहेको छ ।’ उनको ब्यान्डले तीन एल्बम बजारमा ल्याइसकेको छ र अहिले चौथो एल्बमको तयारीमा छ ।

‘पहिला लोक–पप मन पराउने धेरै थिए, त्यसैअनुसारका गीत गाइन्थ्यो,’ किसानले भने, ‘चार वर्षयता ट्रेन्ड फेरिएको छ । कन्सर्टमा रक, मेटल गीत मन पराउने जमातको बाहुल्य हुन थालेको छ ।’ चिसो मौसममा हुने कन्सर्टले वातावरण नै तताउने गर्छ । चर्चित गायक/गायिका वा ब्यान्डको उपस्थितिमा हुने कन्सर्टमा प्रवेश पाउनै गाह्रो हुन्छ किनभने खाली मैदान पनि दर्शकले भरिभराउ हुन्छ ।



कन्सर्ट कल्चर

‘सिन्डिकेट’ बाट चर्चित बनेका कालिम्पोङका गायक विपुल क्षत्रीको कन्सर्ट डेढ वर्षअघि नारायणगढको क्याम्पा चौरमा भएको थियो । त्यसबेला उर्लिएको दर्शकलाई सम्हाल्न आयोजकलाई मुस्किल परेको थियो । विपुल जुन गीत गाउँथे, दर्शक ‘वान्स मोर वान्स मोर’ भन्दै चिच्याउँथे । र, उनले दोहोर्‍याएरै गाएका थिए । उक्त कन्सर्टमा आउटसाइडर्स र आरोग्य ब्यान्ड पनि थिए ।

विपुल मात्र होइनन्, प्राय: यहाँका सबै कन्सर्टमा दर्शकको भीड हुने गर्छ । नाम चलेका कलाकार र गायक/गायिका, ब्यान्डको उपस्थिति रहने कन्सर्टमा त थेगिनसक्नु नै हुन्छ । एउटै कन्सर्टमा पनि दर्शक संगीतको फरक स्वादमा रम्न चाहन्छन् । महिनैपिच्छे हुने कन्सर्टमा डान्सिङ गीत खुबै रुचाइन्छ । नियमित रूपमा कन्सर्ट आयोजना गरिरहेका दिनेश पाशा भन्छन्, ‘मिडियाको विकाससँगै जिल्लामा कन्सर्ट ट्रेन्ड बढेको हो ।’

१९७४ एडीको कन्सर्ट २०६० सालतिर हुँदा पनि दर्शकले नारायणी किनार भरिएको थियो । सत्र वर्षयता कन्सर्ट आयोजना गरिरहेको टीएसएन इभेन्ट्सका सञ्चालक रूपेश सेन भन्छन्, ‘पहिला चर्चित ब्यान्ड र गायक/गायिका एल्बम विमोचन गर्नकै लागि पनि चितवन आउँथे । अहिले कन्सर्टका लागि आउँछन् ।’

[email protected]

प्रकाशित : पुस २१, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?