कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेपाली क्रिकेटका नयाँ पुस्ता

‘अनिल निकै प्रतिभावान् छन् र उनलाई निडर स्वभावले बलियो बनाएको छ ।’–पारस खड्का, कप्तान, विराटनगर वारियर्स
‘नेपाली टिमले नयाँ फिनिसरका रुपमा रोहितलाई पाएको छ’–शरद भेषावकर, कप्तान, भैरहवा ग्लाडिएटर्स
सुबास हुमागाईं

काठमाडौँ — राष्ट्रिय टिमका कप्तान पारस खड्का नेतृत्वको विराटनगर वारियर्स गत साता एभरेस्ट प्रिमियर लिग (ईपीएल) च्याम्पियन बन्यो । अन्तिम बलसम्म पुगेको फाइनल निकै रोमाञ्चक बनेको थियो । भैरहवा ग्लाडियटर्सलाई १ रनले पन्छाउँदै विराटनगरले उपाधि जित्दाका नायक बने, अनिलकुमार साह । उपविजेतामा रोकिएको भैरहवाका रोहितकुमार पौडेलले पनि प्रतियोगितामा निकै प्रभावशाली देखिए ।

नेपाली क्रिकेटका नयाँ पुस्ता

फाइनलमा विराटनगरका श्रीलंकाली बलर साहान अदिशाले आफ्नो स्पेलको पहिलो बल फ्याँकेपछि घाइते हुँदा अनिलले बलिङ गर्नुपरेको थियो । पार्ट–टाइम बलरका रूपमा प्रयोग गर्दै आएका हङकङका अंशुमन रथलाई एकै ओभरमा ३६ रन खर्चेपछि कप्तान पारसले अनिललाई बलिङ गर्ने जिम्मेवारी दिनुको विकल्प थिएन । अन्तिम ओभरमा भैरहवालाई च्याम्पियन बन्न नौ रन आवश्यक थियो र टी–ट्वान्टी क्रिकेटमा यस्तो चुनौती पार गर्नु गाह्रो होइन । तर अनिलको २० औं ओभरमा सात रनमात्र दिएर तीन विकेट लिएपछि विराटनगरले बाजी मार्‍यो ।

हुन त अनिल एक वर्षयता प्रतिभावान् क्रिकेटरका रूपमा चिनिइसकेका थिए तर बलर होइन, ब्याट्सम्यानका रूपमा । उनले यू–१९ हुँदै राष्ट्रिय टिमसम्म स्थान बनाएर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरिसके । ईपीएलको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानी रहेको ललितपुर प्याट्रियट्सविरुद्ध पनि उनी म्यानअ फ द म्याच नै भएका थिए ।

भैरहवालाई लिग चरणमा ललितपुर प्याट्रियट्सविरुद्ध जित हात पार्न १५ बलमा ३५ रन चाहिएको थियो । त्यसबेला क्रिजमा पुगेका रोहितले ११ बलमा ३१ रन जोड्दै भैरहवालाई जित दिलाएका थिए । उनले अनुभवी महबुब आलमको एकै ओभरमा १९ रन बनाएका थिए । क्वालिफायरमा ललितपुरविरुद्ध अन्तिम ओभरमा भैरहवालाई १३ रन आवश्यक थियो । भारतीय बलर दिपेश भण्डारीको २० औं ओभरमा रोहितले सुरुका दुवै बलमा छक्का प्रहार गरे भने तेस्रोमा १ रन जोड्दै भैरहवालाई फाइनल पुर्‍याएका थिए । यी दुई खेलले रोहितको प्रतिभा उजागर गर्छन् । त्यसैले त उनी विदेशी खेलाडी प्रभावशाली रहँदा पनि ईपीएलमा मोस्ट भ्यालुएबल प्लेयर चुनिए ।

‘नेपाली टिमले नयाँ फिनिसर पाएको छ,’ रोहितबारे भैरहवाका कप्तान शरद भेषावकरले भने । एक समय शरद आफैं नेपाली टिमका ‘फिनिसर’ का रूपमा चिनिएका थिए, जो कठिन परिस्थितिमा पनि नतिजा आफ्नो पक्षमा पार्दै खेल टुंग्याउने गर्थे । रोहित राष्ट्रिय टिममा छनोट हुने भन्ने कुनै ठेगान छैन । यसको जवाफ शरदसँग पनि थिएन । तर अहिलेको लय र करिअरको उक्लिँदो ग्राफ हेर्ने हो भने रोहितलाई चाँडै राष्ट्रिय टिममा स्थान पाउनेछन् ।

उनकै जस्तो भूमिकामा रहेका राष्ट्रिम टिमका खेलाडीहरूले लय गुमाएको

धेरै भइसक्यो । ती सिनियर खेलाडीले ईपीएलमा पनि गतिलो प्रदर्शन गर्न सकेनन् । त्यसैले रोहितका लागि राष्ट्रिय टिममा चाँडै ढोका खुल्न सक्छ ।

रोहित पनि राष्ट्रिय टिममा पुग्नका लागि कडा मिहिनेत गर्ने बताउँछन् । ईपीएलको अनुभव अहिलेसम्मकै क्रिकेट करिअरको सबभन्दा राम्रो भएको उनको ठम्याइ छ । ‘यू–१९ प्रतियोगिता खेल्दा दर्शक एकदमै कम हुन्थे । खेलाडीको स्तरमा पनि त्यति धेरै भिन्नता हुन्थेन,’ उनले भने, ‘हजारौं दर्शकसामु ईपीएलमा खेल्दा अर्कै किसिमको ऊर्जा पैदा भयो । केही नर्भस भए पनि अर्को इन्डमा अनुभवी खेलाडीको साथले निकै हौसला मिल्यो ।’ उनले दुई वर्षयता यू–१९ प्रतियोगिता खेलेका थिए । मिडल अर्डरका यी ब्याट्सम्यानले निरन्तर राम्रो प्रदर्शन गरेकाले नै घरेलु क्रिकेटमा सिनियरहरूसँगै मैदानमा खेल्ने अवसर पाइरहेका छन् ।

ईपीएलमा विदेशी खेलाडीको आगमनले घरेलु क्रिकेटरले पनि अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्ने मौका पाएको मान्छन्, रोहित । ‘राष्ट्रिय टोलीमा नपरेका घरेलु खेलाडीले पनि यस प्रतियोगितामा विदेशी खेलाडीसँग खेल्न पाए । एउटै टिममा रहेर उनीहरूको अनुभव र खेल्ने शैलीबारे बुझ्न पाइयो । मैदानभित्र मात्र होइन, बाहिरी गतिविधि पनि सिक्न पाइयो,’ रोहितले भने ।

ईपीएलको पूर्वसन्ध्यामा राष्ट्रिय टिमबाट अमेरिकाविरुद्ध मैत्रीपूर्ण खेलमा मौका पाएका अनिलले कान्छो संस्करणको क्रिकेटमा विराटनगरबाट खेल्दै टीयू क्रिकेट मैदानमा राम्रै छाप छाडे । ईपीएलको सुरुमा हङकङका अंशुमन रथ र बाबर हायात खासलै नचल्दा कप्तान पारसलाई क्रिजमा साथ दिने अनिल नै थिए । उनी म्यान अफ द म्याच पनि भएका थिए । फाइनलमा पनि उनको बल र ब्याट दुवै चम्किएको थियो ।

यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका अनिलले स्वदेश फर्कनसाथ राष्ट्रिय टिममा स्थान पाएका थिए । कप्तान पारस प्रतिभावान् भएकाले नै अनिलले राष्ट्रिय टिममा स्थान पाएको बताउँछन् । ‘अनिल निकै प्रतिभावान् खेलाडी हुन् । निडर स्वभावले उनलाई खेलमा बलियो बनाएको छ । उनले अझ धेरै राम्रो गर्ने सम्भावना देख्छु र त्यसप्रति आशावादी पनि छु,’ पारसले भने ।

क्रिकेट कौशलमा निरन्तर सुधार गरिरहेका अनिल भने आफ्नो प्रदर्शनलाई निरन्तरता दिनु नै पहिलो लक्ष्य भएको बताउँछन् । ‘अचेल राम्रो क्रिकेट खेलिरहेको छु,’ उनले भने, ‘यू १९

एसिया कपमा गरिएको प्रदर्शनले राष्ट्रिय टिमको क्याम्पमा स्थान बनाउन सकें । क्याम्पमा पनि राम्रै गरेपछि यूएई टुरमा जाने मौका पाएँ । अब यसलाई निरन्तरता दिँदै खेलमा थप सुधार गर्नु मेरो लक्ष्य हो । किनभने राष्ट्रिय टिममा रहिरहन निरन्तर राम्रो खेल्नुपर्छ ।’ उनले थपे, ‘अब चाँडै राष्ट्रिय टिमले महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ । त्यसमा मेरा तर्फबाट सक्दो सहयोग गर्न चाहन्छु ।’

यू–१९ का सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी राष्ट्रिय टिमका नियमित खेलाडी भइसकेका छन् । यू–१९ एसिया कपको प्रदर्शनको आधारमा अनिलसँगै रोहित र आसिफ शेखले पनि राष्ट्रिय टिमको क्याम्पमा स्थान पाएका थिए । तर उनीहरू टिममा परेनन् । वैकल्पिकमा परेका अनिललाई यूएई टुरमा समावेश गरिएको थियो । तर उनको यात्रा खासै गतिलो भएन ।

राष्ट्रिय टिममा युवा खेलाडीको आगमनले भविष्यमा आउने खेलाडीलाई अझै सहज हुने अनिल बताउँछन् । ‘सन्दीप र दीपेन्द्र टिममा हुँदा ड्रेसिङ रुमको वातावरणमा घुलमिल हुन

मलाई निकै सजिलो भयो,’ उनले भने, ‘सिनियर र प्रशिक्षकको सहयोग लिन सहज भयो ।’

नेपालले फेब्रुअरी २०१८ मा विश्व क्रिकेट लिग डिभिजन २ मा प्रतिस्पर्धा गर्नेछ । विश्वकप २०१९ को छनोटमा पुग्न डिभिजन २ को शीर्ष दुई स्थानमा रहनुपर्छ । विश्वकप छनोटसम्म मात्र पुगे पनि नेपाली क्रिकेटका लागि थुप्रै अवसर खुल्नेछ । त्यसकारण निकै महत्त्वपूर्ण रहेको विश्वकप छनोटको बाटोमा अनिल र रोहितजस्ता युवा प्रतिभा उपयोगी हुन सक्छन् ।

Twitter: @SubasTheOne

प्रकाशित : पुस २१, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?