कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

व्यस्त मुखलाल

‘अब नेपाली र भोजपुरी फिल्मको करिअरलाई एकसाथ अघि बढाउनेछु’

काठमाडौँ — अभिनय गर्न थालेको तीन वर्ष पनि भएको छैन तर मुखलाल प्रसाद कानुको व्यस्तता ईष्र्यालाग्दो छ । भर्खरै निर्देशक/निर्माता रमाकान्त प्रसादको भोजपुरी फिल्म ‘इन्डियन’ र ‘गदर २’ को छायांकन सकाएर फर्केका थिए । लगत्तै उनलाई रमाकान्तले आउने फिल्म ‘एक बिहारी पाकिस्तान पे भारी’ मा पनि अनुबन्ध गरे ।

व्यस्त मुखलाल

भोजपुरी फिल्म उद्योगमा ‘शो म्यान’ र ‘जोहरी’ को छवि बनाएका रमाकान्त राम्रा कलाकारलाई अगाडि ल्याउने निर्देशकका रूपमा प्रख्यात छन् । विराज भट्टदेखि सुपरस्टार दिनेशलाल यादव निरहुवासम्मलाई उनै रमाकान्तले भोजपुरी फिल्ममा ‘ब्रेक’ दिएका थिए । त्यसैले पनि मुखलालको आशा बढेको छ ।

‘उहाँ कलाकारको क्षमता बुझ्ने खुबी भएको निर्माता/निर्देशक हो,’ मुखलालले भने, ‘उहाँको क्याम्पमा परेपछि म पनि निकै आशावादी छु ।’ ‘इन्डियन’ मा पाकिस्तानी आतंकवादीको भूमिकामा उनको अभिनय जोडदार थियो । उनको पहिरन, क्रूर अनि डरलाग्दो अनुहार र अभिनयले रमाकान्तलाई प्रभावित गरेको रहेछ ।

एक महिने भारत यात्रामा निस्कनुअघि मुखलालले वीरगन्जमै मह सञ्चारको फिल्म ‘शत्रुगते’ मा पनि अभिनय गरे । त्यसैले उनी नेपाली फिल्ममै पनि राम्रो अवसर पाउने आशामा छन् । ‘मलाई नेपाली फिल्ममा ठूलो ब्यानर आवश्यक थियो,’ उनले भने, ‘संयोगले त्यो छिट्टै मिल्यो, अब नेपाली र भोजपुरी फिल्मको करिअरलाई एकसाथ अघि बढाउनेछु ।’

उनी सामान्य साक्षर हुन् र पेसाले मजदुर । उनलाई कालो वर्ण, ठूला आँखा, क्रूर अनुहार अनि खाइलाग्दो ज्यानले फिल्ममा अभिनयको अवसर खोलेको हो । उनले तीन वर्षयता थुप्रै भोजपुरी र नेपाली फिल्ममा अभिनय गरेका छन् । पर्सा नगरदाहाका उनी हाल वीरगन्जस्थित प्रतिमा चोकमा मनकामना इन्जिनियरिङ वक्र्स सञ्चालन गर्छन् । उनी आफ्नो

पेसामा दैनिक घन र हथौडा पनि चलाउँछन् ।

‘पहिले आफ्नो कालो वर्णले खिन्न पनि बनाउँथ्यो,’ मुखलाल भन्छन्, ‘तर अहिले यही कालो वर्ण मलाई फापेको छ ।’ फिल्ममा अभिनय गर्दा छोटो अवधिमै उनले छुट्टै पहिचान बनाएका छन् । भोजपुरी फिल्म ‘एसपी खरेल द : रियल हिरो’ बाट डेब्यु गरेका उनी त्यसयता ‘दिवाना २’, ‘जब प्यार किया तो डरना किया’, ‘जय मधेस’, ‘दिलवाले’ हुँदै नेपाली फिल्म ‘हम जायेगा’, ‘डायरी’ र ‘रफ्तार’ मा पनि देखिएका छन् । अभिनयको औपचारिक तालिम नलिए पनि उनलाई संवाद र तोकिएको भूमिका निर्वाह गर्न अप्ठ्यारो परेको छैन ।

– शंकर आचार्य

प्रकाशित : पुस २८, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?