महँगा काउटिन्हो

कान्तिपुर संवाददाता

काठमाडौँ — फिलिप काउटिन्हो जनवरी २०१३ मा एन्फिल्ड पुगेका थिए, जहाँ उनले लिभरपुलका लागि २ सय खेल खेल्दै ५४ गोल गरे । पछिल्ला तीनै सिजन उनले गोलको दोहोरो अंक छोएका छन् । यसले उनी लिभरपुलका ‘ठूला’ खेलाडी थिए भन्ने सावित गर्छ ।

उनले यसै साता एन्फिल्ड छाड्दै बार्सिलोना रोजेका छन् । ‘समर ट्रान्सफर’ मै बार्सिलोनाले लिन चाहे पनि उसको तीनपल्टको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरिदिएको थियो । काउटिन्होले चाहेपछि अन्तत: लिभरपुल उनलाई बिदाइ गर्न बाध्य भएको हो । सिजनको पहिलो हाफमा उनले ‘रेड्स’ का लागि बिनाहिचकिचाहट राम्रो खेल प्रदर्शन गरे । स्थानान्तरण रोकिएकामा कहिल्यै क्लब र उसका समर्थकलाई आघात पुर्‍याउने गरी बोलेनन् । त्यसैले एन्फिल्ड छाडे पनि उनी लिभरपुल समर्थकमाझ लोकप्रिय नै छन् ।
प्रिमियर लिगमा उनी आफैं गोल त गर्थे नै तर त्यसभन्दा बढी गोलको अवसर सिर्जना गर्ने खेलाडीका रूपमा काउटिन्होले पहिचान बनाएका थिए । लुइस सुआरेज र काउटिन्होले लिभरपुलमा एक सिजन सँगै खेलेका थिए । उनीहरू फेरि एकसाथ खेल्दैछन् । यसपल्ट क्लब र लिग बदलिएको छ । अब उनीहरूले बार्सिलोनाका लागि स्पेनी ला लिगा खेल्नेछन् । लियोनल मेसी, आन्द्रेस इनिस्टा, जेरार्ड पीकेसँगै खेल्न पाउने भएकाले पनि क्याटलन सरुवाप्रति उनी उत्साहित छन् ।
नेयमर र काउटिन्हो एकसाथ ब्राजिलको राष्ट्रिय टिमबाट खेल्छन् । नेयमरलाई समर ट्रान्सफरमा २२ करोड २० लाख युरोको कीर्तिमान मूल्यमा पसजीएसजी जानबाट रोक्न सकेन । त्यसयता ठूला खेलाडी भित्र्याउने प्रयासमा बार्सिलोनाले काउटिन्होमाथि १६ करोड युरो लगाएको हो । नेयमर र पीएसजीकै किलियन एम्बाप्पे (१८ करोड युरो) पछिका सबभन्दा महँगा फुटबलर काउटिन्हो नै हुन् । उनी बार्सिलोनाका पनि इतिहासकै सबभन्दा महँगा खेलाडी हुन् ।

प्रकाशित : पुस २८, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

व्यस्त मुखलाल

‘अब नेपाली र भोजपुरी फिल्मको करिअरलाई एकसाथ अघि बढाउनेछु’
कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनय गर्न थालेको तीन वर्ष पनि भएको छैन तर मुखलाल प्रसाद कानुको व्यस्तता ईष्र्यालाग्दो छ । भर्खरै निर्देशक/निर्माता रमाकान्त प्रसादको भोजपुरी फिल्म ‘इन्डियन’ र ‘गदर २’ को छायांकन सकाएर फर्केका थिए । लगत्तै उनलाई रमाकान्तले आउने फिल्म ‘एक बिहारी पाकिस्तान पे भारी’ मा पनि अनुबन्ध गरे ।

भोजपुरी फिल्म उद्योगमा ‘शो म्यान’ र ‘जोहरी’ को छवि बनाएका रमाकान्त राम्रा कलाकारलाई अगाडि ल्याउने निर्देशकका रूपमा प्रख्यात छन् । विराज भट्टदेखि सुपरस्टार दिनेशलाल यादव निरहुवासम्मलाई उनै रमाकान्तले भोजपुरी फिल्ममा ‘ब्रेक’ दिएका थिए । त्यसैले पनि मुखलालको आशा बढेको छ ।
‘उहाँ कलाकारको क्षमता बुझ्ने खुबी भएको निर्माता/निर्देशक हो,’ मुखलालले भने, ‘उहाँको क्याम्पमा परेपछि म पनि निकै आशावादी छु ।’ ‘इन्डियन’ मा पाकिस्तानी आतंकवादीको भूमिकामा उनको अभिनय जोडदार थियो । उनको पहिरन, क्रूर अनि डरलाग्दो अनुहार र अभिनयले रमाकान्तलाई प्रभावित गरेको रहेछ ।
एक महिने भारत यात्रामा निस्कनुअघि मुखलालले वीरगन्जमै मह सञ्चारको फिल्म ‘शत्रुगते’ मा पनि अभिनय गरे । त्यसैले उनी नेपाली फिल्ममै पनि राम्रो अवसर पाउने आशामा छन् । ‘मलाई नेपाली फिल्ममा ठूलो ब्यानर आवश्यक थियो,’ उनले भने, ‘संयोगले त्यो छिट्टै मिल्यो, अब नेपाली र भोजपुरी फिल्मको करिअरलाई एकसाथ अघि बढाउनेछु ।’
उनी सामान्य साक्षर हुन् र पेसाले मजदुर । उनलाई कालो वर्ण, ठूला आँखा, क्रूर अनुहार अनि खाइलाग्दो ज्यानले फिल्ममा अभिनयको अवसर खोलेको हो । उनले तीन वर्षयता थुप्रै भोजपुरी र नेपाली फिल्ममा अभिनय गरेका छन् । पर्सा नगरदाहाका उनी हाल वीरगन्जस्थित प्रतिमा चोकमा मनकामना इन्जिनियरिङ वक्र्स सञ्चालन गर्छन् । उनी आफ्नो
पेसामा दैनिक घन र हथौडा पनि चलाउँछन् ।
‘पहिले आफ्नो कालो वर्णले खिन्न पनि बनाउँथ्यो,’ मुखलाल भन्छन्, ‘तर अहिले यही कालो वर्ण मलाई फापेको छ ।’ फिल्ममा अभिनय गर्दा छोटो अवधिमै उनले छुट्टै पहिचान बनाएका छन् । भोजपुरी फिल्म ‘एसपी खरेल द : रियल हिरो’ बाट डेब्यु गरेका उनी त्यसयता ‘दिवाना २’, ‘जब प्यार किया तो डरना किया’, ‘जय मधेस’, ‘दिलवाले’ हुँदै नेपाली फिल्म ‘हम जायेगा’, ‘डायरी’ र‘रफ्तार’ मा पनि देखिएका छन् । अभिनयको औपचारिक तालिम नलिए पनि उनलाई संवाद र तोकिएको भूमिका निर्वाह गर्न अप्ठ्यारो परेको छैन ।
– शंकर आचार्य

प्रकाशित : पुस २८, २०७४ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्