१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मार्क नोफ्लरको जिद्दी

दाजु मार्कले जसरी ब्यान्ड चलाए, त्यसमा भाइ डेविडलाई चित्त बुझेको छैन । त्यसैले पनि ब्यान्ड फेरि सक्रिय हुन सकिरहेको छैन ।

काठमाडौँ — हामी त डायर स्ट्रेरट्सका गीतका प्रशंसक हौं,’ भन्नेहरू कति धेरै भेटिन्छन् भने त्यसलाई गनेर साध्य हुन्न । हुन पनि यस ब्रिटिस ब्यान्डले एकसे एक राम्रा गीत दिएका छन् र यी गीतलाई जति सुने पनि पुग्दैन ।

मार्क नोफ्लरको जिद्दी

आखिरमा पश्चिमेली गीत सुन्नेले ‘मनि फर नथिङ’ सुनेको छैन भन्छ भने त्यो कसरी हुन सक्छ र ? डायर स्ट्रेट्सका वास्तवमै धेरै चलेका गीत छन्, जस्तै अरू केही उदाहरण, ‘सो फार अवे’, ‘वक अफ लाइफ’, ‘टनेल अफ लभ’, ‘सुल्तान अफ स्विङ्स’, ‘ब्रर्द इन आर्म्स’ ।

यी गीतहरू अहिले पनि जति नै दोहोर्‍याएर सुनिए पनि उत्तिकै राम्रा लाग्छन् । एउटा तथ्य ब्यान्डले नयाँ गीत बनाउन छाडेको कति भयो त ? विश्वास नहुन सक्छ, सन् १९९५ देखि ब्यान्डले केही नयाँ सिर्जना गरेको नै छैन । सन् १९७७ मा लन्डनमा ब्यान्डको स्थापना भएको थियो, १९८८ सम्म खुबै सक्रिय रह्यो । त्यसपछि केही सेलाएको डायर स्ट्ेरट्स फेरि सन् १९९१ देखि १९९७ सम्म व्यस्त रह्यो । तर त्यसपछि गुपचुप भएको ब्यान्डले फेरि जुरमुराउने प्रयास नै गरेन ।


डायर स्ट्ेरट्सका फ्रन्टम्यान हुन्, मार्क नोफ्लर । उनले आफ्ना भाइ डेविड नोफ्लरसँग मिलेर डायर स्ट्ेरट्स बनाएका थिए र यो रक ब्यान्ड सनसनी नै सावित भयो । उनीहरूको सबैभन्दा बढी चलेको एल्बम हो, ‘ब्रदर्श इन आर्म्स’ । यी दुई दाजुभाइ एक समय खुबै मिल्थे, त्यसैले पनि यो एल्बमको नाम जुरेको मानिन्छ । त्यसैले पनि कोही दुई मिल्ने साथीले धेरै राम्रो काम गरेको छ भने ‘ब्रदर्श इन आर्म्स’ भन्ने गरिन्छ, विशेषत: क्रिकेटमा ।

आखिरमा ब्यान्ड वास्तवमै सक्रिय हुन छाडेको दुई दशकभन्दा बढी समयपछि यो सबै चर्चा किन त ? भर्खर ब्यान्डलाई ‘रक एन्ड रोल हल अफ फेम’ मा समावेश गरिएको छ र यसको सम्मानको कार्यक्रम पनि हुँदै छ । तय छ, यो उपलब्धि हात पार्नेले त्यस कार्यक्रममा केही न केही त प्रस्तुत गर्नैपर्ने हुन्छ । प्रश्न, के डायर स्ट्ेरट्सले यो काम गर्नेछ त ? फ्रन्टम्यान मार्क नोफ्लर यसका लागि तयार हुनेछन् त ? अथवा भनौं, ब्यान्डको रि–युनियन हुन सक्नेछ त, छोटै समयका लागि ।

ब्यान्डले तय गरेको बाटोमा यसका धेरै सदस्य भए, अहिलेसम्म ब्यान्ड सदस्यको संख्या नौ पुगिसकेको छ, केही आए, फेरि गए । सुरुदेखि रहेकामा दुई नोफ्लर दाजुभाइसँगै बास गितारिस्ट जोन इस्ली पनि हुन् । खासमा उनी नै हुन्, ब्यान्डलाई फेरि सक्रिय बनाउन प्रयास गरिरहेका । ब्यान्ड ‘रक एन्ड रोल हल अफ फेम’ मा परेयता त उनले मार्क नोफ्लरलाई नै सीधा इंगित गर्दै भनेका छन्, अब त मिलौं न । आखिरमा यिनै गायक विना डायर स्ट्रेट्स कसरी सम्भव हुन सक्छ र ?

साँचो तथ्य के हो भने पछिल्ला केही वर्षयता दुई नोफ्लर दाजुभाइबीच मेल छैन, अझ भनौं, बोलचाल नै छैन । दाजु मार्कले जसरी ब्यान्ड चलाए, त्यसमा भाइ डेविडलाई चित्त बुझेको छैन । त्यसैले पनि ब्यान्ड फेरि सक्रिय हुन सकिरहेको छैन । त्यसमाथि मार्कको जिद्दी । उनी एक प्रकारले डायर स्ट्ेरट्सलाई इतिहासमै सीमित राख्न चाहन्छन्, फेरि ब्युँझाउन चाहँदैनन् । उनको भनाइ छ, आखिरमा ब्युँझाएर के नै अर्थ छ र ? इस्लीले उनलाई सम्झाउन सके, राम्रो हुँदो हो । फेरि कालजयी केही सुन्न पाइनेछ, डायर स्ट्ेरट्सबाट ।

– हिमेश

प्रकाशित : पुस २८, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?