कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोल्डेन ग्लोब्स र यौन हिंसा

गोल्डेन ग्लोब्स अवार्डमा यसपटक जुन फिल्म मोसन पिक्चर्स (ड्रामा) तर्फ उत्कृष्ट घोषित भयो, त्यसको कथाको अन्तर्यमा बलात्कार र महिलामाथिको विभेद लुकेको छ । 

काठमाडौँ — बितेको वर्ष हलिउडमा फिल्म, कलाकारका सम्बन्ध र बक्स–अफिसले मात्र चर्चा पाएन, हिरोइनले भोगेका यौन दुव्र्यवहारले पनि हलचल मच्चायो । एम्मा एमास्टोन, सल्मा ह्यागजस्ता सुपरस्टारहरूले आफूमाथि भएका यौन हिंसाबारे मुख खोले । हलिउडका ठूला निर्माता केविन स्पेस र हार्वी विस्टिनलाई बलात्कार र दुव्र्यवहारको आरोप लाग्यो ।

गोल्डेन ग्लोब्स र यौन हिंसा

यसले सभ्य र व्यावसायिक छवि बनाएको हलिउडभित्रको अँध्यारो पक्षलाई सतहमा ल्याइदियो । सामाजिक सञ्जालदेखि हरेक फोरममा सेलिब्रिटीहरूले यो प्रवृत्तिका विरुद्ध आक्रोश पोखे । यसैको प्रभाव देखियो, गोल्डेन ग्लोब्स अवार्डको ७५ औं संस्करणमा ।

कुन अवार्ड कसले पाए, कुन सेलिब्रिटीले कस्तो पहिरन लगाए ? खोजीनीति हुनुपर्ने हो तर त्यसलाई साँच्चै छायामा पारिदियो, यौन उत्पीडनविरुद्धको सामूहिक आवाजले । आखिर हलिउडको अवार्ड इतिहासमै यौन शोषणको सवालले पहिलोपल्ट प्रवेश पायो । गोल्डेन ग्लोब्स अवार्ड आइतबार बेभर्ली हिल्समा सम्पन्न भयो । गोल्डेन ग्लोब्सलाई फिल्म जगत्मा ओस्कारपछि दोस्रो प्रतिष्ठित अवार्ड मानिन्छ ।


अर्को रोचक संयोग के भने, यस पटक जुन फिल्म मोसन पिक्चर्स (ड्रामा) तर्फ उत्कृष्ट घोषित भयो, त्यसको कथाको अन्तर्यमा बलात्कार र महिलामाथिको विभेद लुकेको छ । फिल्म हो, ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजौरी’ । छोरीको हत्यारालाई सात महिनासम्म प्रहरीले पक्राउ गर्न नसकेपछि आफैं हत्याराको खोजीमा लाग्ने आमाको संघर्षशील यात्रा हो यो फिल्म । हत्या अगाडि छोरीको बलात्कार गरिएको हुन्छ । त्यसैले आमा अझ

तड्पिएकी हुन्छिन् तर प्रहरीले आनाकानी गर्छ । त्यसपछि उनी तीन ठूला होडिङबोर्ड राखेर हत्यारा पत्ता लगाउन आफैं लाग्छिन् ।

यो साहसिक आमाको भूमिकामा देखिएकी थिइन्, फ्रान्सेस म्याकडरम्यान्ड । यही भूमिकाले उनलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिलायो । हाम्रो सन्दर्भमा सुन्दा अपत्यारिलो लाग्न सक्छ, उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी फ्रान्सेसको उमेर ६० पुगेको छ । उनले सन् १९९६ मै फर्गोबाट ओस्कार जितेकी थिइन् । उनी प्राय: महिला सशक्तीकरणको सवाल उठाइएको फिल्ममा देखा पर्छिन् ।

बिलबोर्ड्सबाटै यसपटक गोल्डेन ग्लोब्समा साम रकवेलले उत्कृष्ट सहअभिनेता र मार्टिन म्याकडोनाले उत्कृष्ट पटकथाको अवार्ड हात पारे । मार्टिन फिल्मका निर्देशक पनि हुन् । यो संस्करणमा चार अवार्ड जित्ने फिल्म बिलबोर्ड्स मात्र हो । ‘द डार्केस्ट आवर’ बाट ग्यारी ओल्डम्यान उत्कृष्ट अभिनेता घोषित भए भने ‘द सेप अफ वाटर’ बाट गुइलेर्मो देल्टोरो उत्कृष्ट निर्देशक । म्युजिकल र कमेडीतर्फको उत्कृष्ट फिल्मको अवार्ड चाहिँ ‘लेडी बर्ड्स’ लाई दिइयो ।

यसपटक एक भारतीय अभिनेता पनि उत्कृष्ट ठहरिए । अजिज अन्सारीले म्युजिकल–कमेडीतर्फ टेलिभिजन सिरिज ‘द मास्टर अफ नन’ बाट अवार्ड चुमेका हुन् । गोल्डेन ग्लोब्समा फिल्म र टेलिभिजन सिरिजमा ड्रामा र म्युजिकल–कमेडी विधातर्फ दुई दर्जन अवार्ड प्रदान गरिन्छ ।


प्रसंग फेरि यौन हिंसाविरुद्धको आवाजले अवार्डमा पाएको प्राथमिकताकै । त्यसका लागि सुरुमा लोकप्रिय मिडिया पर्सनालिटी तथा अभिनेत्री ओपरा विन्फ्रे अगाडि आउँछन् । यसपटक उनलाई फिल्म तथा टेलिभिजनको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो । यो अवार्ड पाउने उनी पहिलो ‘ब्याल्क वुमन’ हुन् । र, यौन दुव्र्यवहारको विपक्षमा सबभन्दा खरो अभिव्यक्ति दिने पनि उनै थिइन् ।

६३ वर्षीया विन्फ्रेले हलिउडमा जारी यौन उत्पीडनको बहसलाई अगाडि बढाएको मिडियालाई धन्यवाद दिँदै भनिन्, ‘सामाजिक सञ्जालमा ‘मी टु’ र ‘टाइम्स अप’ जस्ता पहल सुरु भयो । यस्तो माहोल बनिरहेको छ, जहाँ महिलालाई ‘मी टु’ बोल्ने अधिकार छ अनि पुरुष सुनिरहेका छन् ।’ उनी यत्तिमै रोकिइन्न । अगाडि थपिन्, ‘यो लडाइँ हलिउडमा सीमित छैन । यस्ता कैयौं महिला छन्, जसले अधिकारका लागि लडाइँ लडे, तर उनीहरूको नाम कहिले अगाडि आएको छैन ।’ उनले महिला समानतालाई संकेत गर्दै ‘एउटा नयाँ दिन क्षितिजमा आएको छ’ भन्दा अवार्ड समारोहमा तालीको गडगडाहट भएको थियो ।

त्यसो त विन्फ्रे मात्र होइन, निकोल किडम्यान, लायरा ड्रेन, बारबरा स्ट्रेन्डलगायत सेलिब्रिटीले पनि महिलामाथि हुने यौन हिंसा र विभेदको विपक्षमा अभिव्यक्ति दिएका थिए । आयोजकको चाह नै यही अभियानलाई तीव्रता दिने रहेको थियो । त्यस्तै, एकपछि अर्को विवादमा फसिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पनि हलिउडकर्मीले रोष पोखे, नारीको खिल्ली उडाउने उनका विभिन्न हर्कतका कारण । अधिकांश सेलिब्रिटी कालो पहिरनमा उपस्थिति हुँदा समारोह नै आकर्षक बनेको थियो । त्यसको उद्देश्य उही थियो, यौन दुव्र्यवहार विरोध ।

–एजेन्सीहरूबाट

प्रकाशित : पुस २८, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?