भविष्यका प्रोडक्ट

काठमाडौँ — अमेरिकाको लस भेगासमा हरेक वर्ष कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) जनवरी महिनामा हुन्छ । यो वर्ष जनवरी ७ देखि ९ सम्म यो शो चलेको थियो । विश्वका ठूलादेखि साना कम्पनीले आफ्नो नयाँ प्रविधि घोषणा गर्ने, सार्वजनिक गर्ने भएकाले सम्भवत: विश्वकै ठूलो प्रविधि मेला हो यो ।

भविष्यका प्रोडक्ट

यो वर्ष पनि कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा धेरै नयाँ उत्पादन सार्वजनिक भए । तीमध्ये केही उत्पादन यस्ता छन् जुन अहिले बजारमा नआए पनि भविष्यमा चर्चित बन्न सक्छन् :


एलजीको पट्याउने टीभी

एलजीले पहिलो पटक पट्याउन मिल्ने टेलिभिजन सार्वजनिक गरेको छ । फोरके गुणस्तरको भिडियो प्रसारण गर्न सक्ने टीभीलाई चाहेको बखत एउटा बट्टामा पट्याएर राख्न मिल्ने सुविधा छ । ६५ इन्चको यो टीभी यस्तो विशेषता भएको सम्भवत: पहिलो हो ।

अघिल्लो वर्ष एलजीले पट्याउन मिल्ने स्मार्टफोनको प्रोटोटाइप सार्वजनिक गरेको थियो । पट्याउन मिल्ने टीभीमा केही ग्राहकहरूसँग बिक्रीका लागि डिल भइरहेको र यसको मूल्य निर्धारण नगरिएको एलजीले जनाएको छ । एलजीको यो टीभी कन्ज्युमर इलेक्ट्रोनिक्स शोका अवलोकनकर्ता मात्रै नभएर भविष्यमा अन्य प्रयोगकर्ताहरू पनि आकर्षित हुने अनुमान लगाउन सकिन्छ ।



थ्रीडी सेल्फी क्यामरा

सिलिकन भ्यालीको एक स्टार्टअप कम्पनीले सीईएसमा यो वर्ष सार्वजनिक गरेको थ्रीडी सेल्फी क्यामरा सबैका लागि आकर्षण बन्यो । यसले क्यामरा मात्रै नभएर विशेष: सफ्टवेयरमार्फत काम गर्छ जसले प्रयोगकर्ताको थ्रीडी सेल्फी लिन सघाउँछ । यसलाई स्मार्टफोनसँग जोडेर पनि प्रयोग गर्न सकिन्छ ।

यसअघि कस्मेटिक सर्जरीजस्ता प्रयोजनका लागि प्रयोग हुँदै आएको यो प्रविधि प्रयोगकर्ताले सामान्य अवस्थामा पनि प्रयोग गर्न सक्नेछन् । सामान्य रूपमै थ्रीडी सेल्फी खिच्न सक्ने भएकाले यसको सुरक्षालगायत काममा पनि प्रयोग गर्न सकिने कम्पनीको विश्वास छ ।



सामसुङको वाल टीभी

सामसुङले यो वर्ष १ सय ४६ इन्चको वाल टीभी सार्वजनिक गरेको छ । यसमा माइक्रो एलईडी प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यसलाई वाल टीभी नाम

दिएको छ ।

माइक्रो एलईडी प्रविधि निकै जटिल हुने भएकाले टीभीका रूपमा यो निकै महँगो हुन सक्ने विज्ञहरूले बताएका छन् । तर, कम्पनीले वाल टीभीको मूल्य सार्वजनिक गरेको छैन । बरु, सामसुङले आगामी दिनमा आफ्नो भ्वाइस असिस्टेन्ट बिक्सबाईलाई टीभीसँग पनि जोड्ने घोषणा गरेको छ ।



इन्टेलको ‘उड्ने कार’

चिप निर्माता इन्टेलले फ्लाइङ कार दिएर नयाँ खालको ड्रोन सार्वजनिक

गरेको छ जसले भविष्यमा यात्रु बोकेर उड्न सक्ने कम्पनीले जनाएको छ ।

तर, यो चालकविहीन हुनेछ ।

इन्टेलले यसलाई उड्ने कार भने पनि यो एक किसिमको ड्रोन हो । यसलाई जर्मनीको कम्पनीले केही अघि बनाएर परीक्षणसमेत गरिसकेको थियो । तर, अहिले नै यसले यात्रु बोक्न भने सक्ने छैन ।



स्मार्ट कार

बीएमडब्लू र एप्पलका पूर्वकर्मचारी मिलेर खोलेको कम्पनी बाइटोनले बनाएको कार पनि यो वर्षको आकर्षण हो । बाइटोनले पनि टेस्लाले जस्तै इलेक्ट्रिक कार बनाएको छ, जुन अहिले चल्ने डिजेल र पेट्रोल कारजस्तै शक्तिशाली छ । यसको विशेषता भनेको यसलाई चालकले टच स्क्रिनको भरमा नियन्त्रण गर्न सक्नेछ । योबाहेक भ्वाइस र जेस्चरबाट समेत नियन्त्रण गर्न सक्ने विकल्प छ । यसमा चालक र यात्रुको सिट अगाडि ठूला स्क्रिन राखिएको छ र कम्पनीले यसलाई भविष्यको स्मार्ट कारको संज्ञा दिएको छ । चाँडै नै यसलाई बिक्रीका लागि पठाउने कम्पनीको तयारी छ ।

–एजेन्सीहरूबाट


प्रकाशित : पुस २८, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?