३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हार्लीमा हुरुक्कै

२१०० सीसीको यो हार्ली चलाउन एकदमै गाह्रो छ । भाइब्रेसन भएर हड्डी नै भाँचिएलाजस्तो हुन्छ । हेर्दाचाहिँ वाह हुन्छ ।

काठमाडौँ — बेलायतमा गोर्खा किचेन सञ्चालन गर्दै १८ वर्षयता हार्ली बाइक हाँकिरहेका अन्दीप आचार्यको यात्राबारे मनबहादुर बस्नेत लेख्छन्:
‘बिग्रिएर लन्डन पसेको ।’ 
सुन्दा अनौठो लाग्यो । 

हार्लीमा हुरुक्कै

बेलायत, अमेरिका र युरोपेली मुलुक पुग्न मानिसले केसम्म गर्दैनन् । तर अन्दीप आचार्य चाहनाविपरीत बेलायत पुगेका रहेछन् ।

उनी १७ वर्षको छँदा नेपाल कमर्श क्याम्पस मीनभवनमा ११ कक्षा (आईकम) का विद्यार्थी थिए । त्यो उमेरमा बाइक थियो, गर्लफ्रेन्ड थिई । घरेलु माग फाराम भरेपछि आपूर्ति गर्न आमाले त्यति धेरै आनाकानी गर्दिन थिइन् । घरको एक्लो छोरो । काठमाडौंको मीनभवनमा जन्मिएका उनी सुखमै हुर्किरहेका थिए । गलत बाटो भन्ने पत्तो थिएन तर उनी ग्याङ फाइटर भइसकेका थिए ।

दिनहुँ फाइट चल्थ्यो । कहिले सानो कहिले ठूलो । एकचोटि उनको साथीलाई कलेजले निकालिदिएछ । निहुँ थियो, एउटी केटी औधी मन परेपछि राखेको प्रेम प्रस्ताव । कराँतेका ब्ल्याकबेल्ट उनले क्याम्पस प्रमुखलाई थप्पड हानेछन् । छिनभरमै घटना फैलियो । आमालाई तनाव भयो । ‘कराँते खेलेकाले साथीलाई अन्याय पर्दा यति पनि नगरे आफ्नो ब्ल्याकबेल्टकै बेइज्जत हुन्छ भन्ने सोचेछु,’ ४० वर्षीय अन्दीपले भने, ‘त्यो ठूलो

भूल थियो ।’


त्यही घटनाले उनको जीवन मोडियो । उनको परिवारले छोरोलाई ६ महिनाका लागि लन्डन जान उर्दी जारी गर्‍यो । अन्दीप मानेनन् । सुध्रिने वाचा गरे । कसम खाए । लुके पनि । तर उर्दी उल्टिएन । तीनपल्ट भिसा ‘क्यान्सिल’ गरे पनि उनी लन्डन उड्न बाध्य भए । घरमा भने अन्दीप चाँडै फर्किहाल्छन् भनेर बाजी नै पर्‍यो । तर उनी फर्किएनन् ।

लन्डनमा बस्ने व्यवस्था अंकलको घरमा गरिएको थियो । तीन महिनापछि अंकलले एउटा रेस्टुरेन्टमा काम लगाइदिए, वेटरको । अंकलले लोभ देखाइदिए, ‘दुई–तीन महिना काम गर्‍यौ भने एक लाख रुपैयाँ लिएर नेपाल जान सक्छौ ।’ त्यत्रो पैसा नेपाल लगेर मोज गर्छु भन्ने उनलाई लाग्यो । तर काम गर्न थालेपछि तलब बढेको बढ्यै भयो । भाँडा पनि माझे । एक वर्षमा त कुक बने । मालिकसँग झगडा परेपछि उनले आफैं रेस्टुरेन्ट खोले । अनि खुबै दु:ख गरे ।

उनको रेस्टुरेन्टले विस्तारै पिकअप लियो, पहिले उनले काम गरेको रेस्टुरेन्ट सुक्यो । उनले नटिंघममा रेस्टुरेन्ट किनेर उनले ‘गोरखा किचन’ बनाए । रेस्टुरेन्ट चम्कियो । काम गर्दागर्दै कहिलेकाहीं हार्ली मोटरसाइकल घुरर्र गरेको आवाज सुन्दा मात्रै पनि उनी सारा काम छोडेर निस्कन्थे । दृश्य लोप नहुन्जेलसम्म एकटकले हेरिरहन्थे । ‘यसमा बसेर एकचोटि फोटो खिच्न पाए...,’ उनी सोच्थे । तर उनले किनेर कुदाउँछु भन्ने सोचेकै थिएनन् । लन्डनमा हार्लीको आवाजले उनलाई नेपालमा साथीहरूसँग गरेको वचन सम्झाइदियो । उनले ‘लन्डनमा एउटा गोरालाई साथी बनाएर हार्ली मोटरसाइकलमा बसेको फोटो देखाउने’ भनेका थिए ।

उनले ९ कक्षामा पढ्दै हार्लीबारे थाहा पाएका थिए । फिल्ममा देखेको बाइक उनको मुटुमै

गढ्यो । कमाइ राम्रो भएपछि उनी हार्ली किन्न सुर कस्न थाले । लाइसेन्स लिनुअघि नै उनले स्कटल्यान्ड गएर साढे १३ हजार पाउन्डमा १६ सय सीसीको हार्ली डेभिड्सन फ्याट किने । उनलाई त्यसबेलासम्म पनि हार्ली डेभिड्सन भन्ने मात्रै थाहा थियो ब्रान्ड, मोडल पत्तो थिएन । दुई हप्तापछि मोटरसाइकल घरमै ल्याइदियो । उनी लाइसेन्स लिने तयारीमा ट्रेनिङ सेन्टरमा भर्ना भए । उनलाई सिकाउनेले टेस्ट दिन सुजुकी बाइक थमायो । उनलाई मन परेन । उनी आफ्नै हार्लीतिर लागे ।

परीक्षा दिने स्थानमा पुगेपछि परीक्षकले सोधी, ‘तेरो टेस्ट दिने बाइक खोइ ?’

‘त्यहाँ छ ।’ उनले हार्ली देखाए ।

‘यो त नयाँ छ,’ उसले भनी ‘हिजो मात्रै किनेको,’ अन्दीपले छाती फुलाए ।

‘कति सीसीको ?’ परीक्षकले सोधी ।

‘१६००’ उनले भने ।

‘नेभर सक्सेस’, परीक्षकको मुखबाट फुत्कियो ।

‘नभए हुन्न त,’ उनले सोचेका थिए ।

उनलाई परीक्षण गर्न त्यही केटी आई । केटीले विस्तारै गुडाउन भनी । फेरि स्पिड बढाउन निर्देशन दिई । अनि सुरुमै युटर्न लिन भनी । युटर्नको पालो भने खासमा अन्तिमतिर आउँछ । अन्दीपले अघिल्लो दिन अभ्यास गरेजस्तै युटर्न गरिदिए । आधा घण्टाको टेस्ट क्षणमै सकियो ।

‘१६०० सीसी हार्ली बाइकमा अन्दीपले लाइसेन्स पायो’ भनी खबर फैलियो । हार्ली राइडर समूह अन्दीपलाई खोज्दै आयो र उनी पनि त्यसमा सामेल भए । सौखिनहरूको पहिलो रोजाइमा हार्ली पर्ने गर्छ । खर्चालुले मात्रै यो बाइक धान्न सक्छन् । विश्वमै हार्ली राइडर्सको बेग्लै सान छ ।


अन्दीप पनि १८ वर्षयता हार्ली हुइँक्याइरहेका छन् । समूहमा आबद्ध भएर केही रेकर्ड पनि बनाएको उनले बताए । ३३० मिलिमिटर मोटो चक्कावाला हार्ली छ, उनीसँग । अमेरिकामा गएरै उनले यो आफ्नो डिजाइनअनुसार बनाउन लगाएका हुन् । ‘२१०० सीसीको यो हार्ली चलाउन एकदमै गाह्रो छ । भाइब्रेसन भएर हड्डी नै भाँचिएलाजस्तो हुन्छ । हेर्दाचाहिँ वाह हुन्छ,’ उनले भने । रड्स एन्ड राइड्स कम्पनीले यो बनाइदिएको हो । ३९ हजार पाउन्ड लाग्यो । यसलाई उनले गोर्खा किचेनको बारभित्र सजाएका छन्, जसले सौखसँगै व्यापार पनि पूरा गरेको छ । बूढादेखि नातिसम्म ‘जायन्ट हार्ली’ हेर्न आउँछन् ।

गोर्खा किचनमा हार्ली टेबुल छुट्टै छ, जहाँ हरेक आइतबार हार्ली राइडर समूहको बैठक हुन्छ । हार्लीका फोटाले भित्ता रंगीन बनेको छ । बर्सेनि नेपाल आउँदा पनि उनी हार्लीमै मुक्तिनाथ पुगेकै हुन्छन् । लाइसेन्स निकाल्दा प्रयोग भएको १६०० सीसीको फ्याटसँगै उनीसँग रड्स एन्ड राइड्सको ३०० बबर र ५०० सीसीको रोयल एन्फिल्ड कस्टोम क्लासिक छ । उनले ७५० सीसीको डुकाटी र हार्ली डेभिड्सन ५०० बेचेर भूकम्पपीडित नेपालीलाई ४७ लाख रुपैयाँ सहयोग गरेका थिए ।

उनी सेफ रुट च्याप्टरका २५१ सदस्यमा पनि छन् । नेपालमा हार्ली राइडर औंलामा गन्न मिल्ने छन् । ‘हार्लीवाला अरू सप्पै गोरा छन्, हामी मात्रै एसियन,’ उनले भने । उनको समूहले वल्र्ड टुर गर्छ । आफू हार्लीमा युरोपका अधिकांश देश पुगेको बताउँछन् । फ्रान्स–इटाली–स्विट्जरल्यान्ड ट्रिपमा जाँदाको क्षण उनी बेस्सरी सम्झन्छन् । १० दिने यात्रा । लोभलाग्दा नागबेली सडक । तीनै थरीका मौसम । कहिले पानी, कहिले घाम । ‘फ्रान्सको गर्मी, स्विट्जरल्यान्डको चिसो । ओहो १ हामीलाई लुगा मिलाउनै कति गाह्रो परेको । फेरि त्यस्तो यात्रा गर्न पाऊँ,’ हालै नेपाल आएका उनले भने ।

१७ वटा हार्ली बाइक चढ्दै बेच्दै गरिसकेको उनले बताए । ‘पहिलोपल्ट किनेको फ्याट मोडल भने बेच्दिनँ । जीवनको ठूलो संस्मरण अडिएको छ,’ उनले भने । हार्लीको नाम, आवाज र मूल्य विशेष रहेको उनको भनाइ छ । हार्लीमा यात्रा गर्ने नेपाली भनेर चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने उनी बताउँछन् । उनी हार्ली मालिकहरूको एचओजी म्यागेजिनमा पनि आइरहेका हुन्छन् । यसमा आउने धेरैको चाहना हुन्छ । त्यही म्यागजिनमा फोटो देखेका एक व्यक्तिले बेल्जियमको मञ्ज पुग्दा चिन्दा उनलाई एकदमै खुसी लागेको थियो ।

उनी बाइकका कति सौखिन भने हनिमुन नै बुलेट बाइकमा बिताइदिए । सन् २००९ मा विवाहलगत्तै उनी गोरखाको मनकामना, तनहुँको बन्दीपुर, पोखरा, पाल्पा, रानीघाट हुँदै सौराहा दुलहीलाई बुलेटमा राखेरै १५ दिने टुर गरेका थिए । ‘योभन्दा रमाइलो बाइकिङ के हुन्छ ?,’ उनले भने । ‘गाडीमा चढ्यो कि ढाड दुख्छ । बाइकमा भने आनन्द आउँछ,’ उनले सुनाए ।

प्रकाशित : पुस २८, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?