कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सवनमको उचाइ

पर्वत पोर्तेल

काठमाडौँ — कक्षा आठमा अध्ययनरत छँदा मात्र सवनम राईले पहिलोपटक क्रिकेटको ब्याट र बल समातेकी थिइन् । स्थानीय काँकडभिट्टा माविको मैदानमा अन्तर मावि क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो र त्यसमा उनी नर्थ प्वाइन्ट स्कुलबाट सहभागी भएकी थिइन् । ‘सुरुमा ब्याट समात्ने ढंग पनि थिएन,’ उनले भनिन्, ‘बलिङ गर्दा हात घुमाउनै सक्दिनथें ।’ उनको क्रिकेट मोह त्यही प्रतियोगिताबाट सुरु भयो ।

सवनमको उचाइ

त्यसपछि उनी स्कुल बिदालगत्तै हरेक दिन क्रिकेट खेल्न काँकडभिट्टा माविको मैदान धाउन थालिन् । उनीहरूलाई स्थानीय विरु श्रेष्ठले सिकाउँथे । अन्तर्राष्ट्रिय महिला क्रिकेटर उत्पादनमा श्रेष्ठको योगदान महत्त्वपूर्ण रहेको छ । सवनमसहित एउटै वडाका रुबिनालगायत राष्ट्रिय टिमका पाँचै खेलाडी उनकै प्रशिक्षणबाट आएका हुन् । सवनमको पारिवारिक अवस्था त्यति मजबुत थिएन । सुरुमा बल–ब्याट किन्नका लागि परिवारलाई बुझाउन उनलाई हम्मेहम्मे परेको थियो । अनुत्पादक काममा छोरी लागेर अब बिग्रिने पो हो कि भन्ने आशंका बा–आमाले गरेका थिए ।

यसबीच उनले जिल्लाका झन्डै आधा दर्जन प्रतियोगिता खेल्न भ्याए । राष्ट्रियस्तरका प्रतियोगिता पनि खेलिन् । त्यसपछि बा–आमालाई सम्झाउन गाह्रो परेन । त्यसैले सवनम अचेल निर्धक्क क्रिकेट खेलिरहेकी छन् । सन् २०१६ मा हङकङमा भएको आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमार्फत सवनमले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन् । उनी राष्ट्रिय टिमकी कप्तान एवम् छिमेकी दिदी रुबिना क्षत्री, साथी काजोल श्रेष्ठसँगै हङकङको मैदानमा ओर्लिएकी थिइन् । त्यसबेला भने उनले आशातीत खेल देखाउन सकेकी थिइनन् ।

यसपटक भने उनले पाएको थोरै अवसरलाई पनि भरपुर सदुपयोग गर्न भ्याइन् ।

‘मौका पाएका बेला खेल देखाउँछु भन्ने थियो तर सधैं मौका मिल्दैन,’ १८ वर्षीया उनले भनिन् । यसपटक संयोग अर्को पनि थियो । एउटै वडाका सवनम, रुबिना, काजोल, संगीता राई र रोमा थापा थाइल्यान्डको मैदानमा एकैपल्ट ओर्लिएका थिए । ‘सबै एकसाथ खेल्दा गाउँमै खेलेको जस्तो लागिरहेको थियो,’ सवनमले अनुभव साटिन्, ‘आत्मविश्वास पनि बढेको थियो ।’

गत मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उल्लास थियो । त्यही दिन नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले थाइल्यान्डको बैंककमा चीनविरुद्ध पहिलो जित निकालेको थियो । त्यो ऐतिहासिक जितकी नायिका बनिन्, उनै सवनम ।

महिला टी–२० विश्वकप छनोटमा सवनमले चीनविरुद्ध ह्याट्रिक मात्रै गरिनन्, उनको बलिङ चिनियाँ टिमका लागि घातक सावित भएको थियो । नेपालले चीनलाई ५० रनले पराजित गरेको थियो र सवनमले त्यस खेलमा मात्र प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् । थाइल्यान्ड, हङकङ र यूएईविरुद्धको खेलमा खेल्ने अवसर नपाएकी उनले भनिन्, ‘मौका पाए राम्रो खेल्छु भन्ने आत्मविश्वास थियो । राम्रो गर्न सकेकामा आत्मसन्तुष्टि पनि मिल्यो ।’

उनले ह्याट्रिक पूरा गर्दा चीनले चार रन मात्रै जोडेको थियो । यी सिमरले चीनका झाङ चान, लिउ झिएओना र झोङ युन लोउलाई लगालग आउट गरेकी थिइन् । संयोग कस्तो रह्यो भने तीनै चिनियाँ खेलाडी एलबीडब्लूमा परेका थिए । ‘ह्याट्रिक पूरा गर्दा ज्यादै खुसी लागेको थियो,’ सवनमले सम्झिइन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्नु चानचुन होइन भन्ने लागेको छ ।’ अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने सवनम तेस्रो नेपाली महिला क्रिकेटर हुन् । यसअघि सन् २००९ मा रुबिना क्षत्री र २०११ मा करुणा भण्डारीले ह्याट्रिक विकेट लिएका थिए ।

[email protected]

प्रकाशित : माघ ५, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?