कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन्यजन्तु र चरा पछ्याउँदै

काठमाडौँ — बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवाले सताउन थालेको धेरै वर्ष भइसक्यो । तीन वर्षयता त्यस क्षेत्रमा चितुवाको आक्रमणबाट दुई दर्जन बढी मानिसले ज्यान गुमाइसके । त्यसरी किन चितुवा मान्छेमाथि जाइलागे भनेर सरकारले ध्यान दिएको छैन ।

वन्यजन्तु र चरा पछ्याउँदै

यसै बेला त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका धीरेन्द्रबहादुर चन्द चितुवा र मानवबीचको द्वन्द्वबारे अध्ययन गर्न स्वराड क्षेत्रमा जुटेका छन् । उनको अध्ययनको क्षेत्र साविकको विशालपुर, सलेना, पञ्चेश्वर, महाकाली, मेलौली हो । पहिलो चरणमा उनले त्यस क्षेत्रमा अटोमेटिक क्यामरामार्फत चितुवाको क्रियाकलाप पत्ता लगाउँदै छन् । ‘यसबाट ती जनावरको संख्या र तिनको गतिविधि थाहा हुनेछ,’ उनले भने ।


अरू जीव भेटेसम्म चितुवाले मान्छेलाई आक्रमण त गर्दैन । चितुवाको आहारमा मान्छे १० देखि १२ औं स्थानमा पर्छ । ‘चितुवाबाट कसरी सतर्क हुन सकिन्छ भनेर पत्ता लगाउनु पनि मेरो अध्ययनको उद्देश्य हो,’ चन्द सुनाउँछन्, ‘चितुवाको बासस्थान पनि सुरक्षित बनाउन मान्छेले सहयोग गर्नुपर्छ भन्ने सन्देश फैलाउनेछु ।’ इकोलोजी र कन्जरभेसन बायोलोजीमा स्नातकोत्तर चन्दले शुक्लाफाँटामा पाइने पुड्के खरायोका बारेमा पनि अध्ययन गरेका छन् । उनी डल्फिन गणनामा पनि सहभागी थिए ।

रातो र पहरे बाँदरका बारेमा पनि त्यति धेरै अध्ययन भएको छैन । अझ बाँदरका बच्चा र आमाका गतिविधिबारेको रिसर्च त शून्यप्राय: छ । त्यसैलाई अगाडि बढाउने अभियानमा छिन्, त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागकी शोधकर्ता पूजा उपाध्याय । रातो (रेसस मङ्की) र आसामी (पहरे बाँदर) को आमा र बच्चाबीचको सम्बन्धबारेमा उनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र वरपरको जंगलमा अध्ययन गरिरहेका छन् । ‘नागार्जुन वन र बालाजु बाइसधारा क्षेत्रमा बच्चा र सम्बन्धित आमाको गतिविधि तथा आपसी सम्बन्ध र अरूसँगको व्यवहारको आँकडा संकलन गर्दैछु,’ उनले भनिन् ।


बच्चासँग घुलमिल हुन र स्याहार गर्न अघि सर्ने पोथीहरू, बच्चाको दिदी, सानीआमा, ठूलीआमा, हजुरआमा अथवा कति नजिकका हुन्छन् भन्नेबारे आफ्नो अध्ययन जारी रहेको पूजाले सुनाइन् । उनको पहिलो चरणको अध्ययनले दुवै प्रजातिका बाँदर ऋतुकालमा वयस्क पोथीको भालेसँग संसर्ग बढी हुने गरेको देखाएको छ ।

‘बच्चा जन्मेपछि आमाले कुन प्रजातिको भालेसँग निकटता बढाउँछ र सम्भावित सफल बाबु भएको अनुमानमा अगाडिका दिनमा तिनका सम्बन्धको अध्ययन पनि गर्नेछु,’ उनले भनिन् । यसको निक्र्योलले वन्यजन्तु स्थानान्तरण गर्दा परिवार नछुट्याई सगोलमा लैजान सजिलो हुनेछ भने बच्चाको परिवेश र आमाले गरेका अरूसँगको व्यवहारले बच्चाको स्वभावबारे जानकारी पनि दिनेछ ।


‘बाँदरलाई नजिकबाट हेरिन्छ तर छुइँदैन र समातिन्न पनि,’ फोकल स्याम्पलिङ विधि अपनाएकी पूजाले भनिन्, ‘क्यामरा, दूरबिन तथा अन्य यन्त्रबाट हेरेर आफूलाई चाहिने सूचना लिइन्छ ।’ विश्वमा सबै प्रजातिको अध्ययनमा लागू गरिएको यस विधिबाट कुन परिस्थितिमा कसरी बच्चा हुर्काउँदा बच्चाको स्वभाव कस्तो हुन्छ भन्ने थाहा हुने उनको विश्वास छ ।

‘रातो बाँदरभन्दा पहरे बाँदरका भालेहरू बच्चाप्रेमी हुन्छन् भनिन्छ, त्यो पत्ता लगाउने मेरो उद्देश्य हो,’ उनी भन्छिन्, ‘बाँदर र मानिसबीच धेरै समानता हुन्छ र केटाकेटी हुर्काउने तरिका पनि झन्डै मिल्छ, ती पक्ष पनि हेर्नेछु ।’

प्राणीशास्त्र केन्द्रीय विभागकै सन्तोषी रेग्मी तराईमा पाइने अर्नाको आनीबानी र तिनको संरक्षणका चुनौती अध्ययनमा जुटेकी छन् । ‘अर्नाको खाना खाने आनीबानीमा केन्द्रित भएर रिसर्च गर्दैछु,’ रेग्मीले भनिन्, ‘अर्नाको संरक्षणका चुनौतीबारे पनि जानकारी हासिल गर्नेछु ।’ उनको रिसर्चको क्षेत्र अर्नाको मुख्य बासस्थान रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष हो ।

‘अर्नाले केके वनस्पति खान्छ, त्यो हेरिसकें,’ उनले भनिन््, ‘अब संरक्षणका लागि के कस्ता मानवीय एवं प्राकृतिक असरहरू परेका छन् भन्ने जानकारीका लागि आरक्ष वरपरको अवस्था अवलोकन गरी स्थानीय बासिन्दासँग छलफल गर्नेछु ।’ उनको प्रारम्भिक अध्ययनले कोसीटप्पुमा रहेका अर्नामा प्राकृतिकभन्दा मानवीय असर धेरै परेको देखाएको छ । ‘अन्य वन्यजन्तु तथा घरपालुवा भैंसी आरक्षभित्र निर्बाध रूपमा प्रवेश गर्ने हुँदा घरपालुवा भैंसीसँग मिश्रित भई वंशमा अशुद्ध हुन सक्ने खतरा देखिएको छ,’ उनले भनिन् ।

प्राणीशास्त्र केन्द्रीय विभागकी अर्की शोधार्थी रविता दुवाल प्रेमको प्रतीक मानिने सारस चराको रिसर्चमा जुटेकी छन् । उड्नेमध्ये सबभन्दा ठूलो चरा सारस हो र यो नेपाललगायत १५ देशमा पाइन्छ । कृषि क्षेत्रको अतिक्रमण, अनावश्यक विषादीको प्रयोग, सिमसार क्षेत्रको अतिक्रमणलगायतले सारस लोपोन्मुख बन्दै गएको छ ।

दुवालले लुम्बिनी क्षेत्रमा सारसबारे अनुसन्धान गरिरहेकी छन् । उनका अनुसार कृषियोग्य जमिन, प्रशस्त सिमसार र उष्ण हावापानी भएकाले लुम्बिनी क्षेत्रमा स्थायी रूपमा सारस बसोबास र प्रजनन गर्छन् । ‘मैले लाइन ट्रान्सेक्ट विधिबाट संख्या तथा तिनको उपयुक्त बासस्थान र आनीबानी लगायतको तथ्यांक संकलन गरेकी छु,’ उनले भनिन्, ‘आनीबानीबारे थाहा पाउन दुई जोडी सारसलाई निरन्तर निरीक्षण गरेको थिएँ ।’

उनको अनुसन्धानबाट लुम्बिनी क्षेत्रमा १८० सारस भेटिए । तीमध्ये भाले र पोथी सारस बराबर थिए तर ४ वटा सारसको लिंग छुट्याउन नसकेको उनले बताइन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबैभन्दा बढी ३६.६७५ प्रतिशत सारस भेटिएका थिए । अध्ययनका क्रममा ८१.११ प्रतिशत सारस खेतबारीमा पाइएको थियो । ‘सारसले गुँड बनाउन सिमसार क्षेत्रभन्दा बढी कृषि भूमिको प्रयोग गरेको पाइयो,’ उनले भनिन्, ‘सारस संरक्षणका लागि खेतीयोग्य जमिनको जगेर्ना गर्नुपर्ने देखियो ।’ बालीमा लाग्ने किरा, चिप्लेकिरा र शंखेकिरा खाने भएकाले सारस किसानको मित्र पनि भएको उनको बुझाइ छ ।

प्रकाशित : माघ ५, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?