डकुमेन्ट्री/सर्ट मुभी किन बनाइन्छ ?

सजना बराल

काठमाडौँ — डकुमेन्ट्री वा सर्ट फिल्म बनाउनेको संख्या बढ्दो छ । राजधानीमा आयोजना हुने फिल्म फेस्टिभलहरुमा उनीहरुको काम देख्न पाइन्छ । नयाँको आगमनले फिल्मको स्तरोन्नति भइरहेको छ । यस विधाले दर्शकको साथ पनि राम्रैसँग पाउन थालेको छ ।

डकुमेन्ट्री/सर्ट मुभी किन बनाइन्छ ?

एउटै डकुमेन्ट्री बनाएर निर्देशकहरु देश/विदेशका फिल्म फेस्टिभलमा पुग्न थालेका छन् । अहिलेका केही उम्दा डकुमेन्ट्री/सर्ट मुभी निर्माता :


अलराउन्डर

गोपाल सिवाकोटी

१. इन सर्च अफ द सर्चम्यान

२. ह्वेन स्याल आई सी माई ड्याडी

३. वार क्राइम

४. सेभ गंगामाया


स्टोरी टेलिङको उत्कृष्ट माध्यम डकुमेन्ट्री हो भन्ने लाग्छ । निश्चित समयको घटना वा विषयवस्तु डकुमेन्टेसन गर्दा पछि त्यो समयबारे थाहा पाउन सकिन्छ । मान्छेहरूले त्यो बेला के भएको रहेछ भनेर बुझ्छन् । कसैलाई ती विषयमा थेसिस नै लेख्नुपर्‍यो भने पनि डकुमेन्ट्री सन्दर्भ सामग्री बन्न सक्छन् । यस्तै विशेषताले गर्दा मलाई फिल्म निर्माणको यो विधा खुबै मनपर्छ ।

म प्राय: मानव अधिकारसम्बन्धी कथावस्तु समात्न खोज्छु । यो विषयमा काम गर्न अलि गाह्रै हुन्छ । सम्बन्धित पात्रसँग पहुँच जुटाउनुपर्‍यो, तिनको विश्वास जित्नुपर्‍यो, क्यामराप्रति सचेत नहुने अवस्थामा पुर्‍याउनुपर्‍यो । यसमा समय लाग्छ । त्यसैले म वर्षको एक/दुइटा मात्र डकुमेन्ट्री बनाउन भ्याउँछु । खिच्नेदेखि निर्देशन, सम्पादन र भाषानुवादसमेत आफैं गर्छु ।

डकुमेन्ट्री तयार भएपछिको आनन्द हुन्छ । तर, प्रदर्शनको दिन साह्रै नर्भस हुन्छु । डकुमेन्ट्री वा सर्ट फिल्मबाट न्यारेटिभतिर लाग्नेहरू धेरै हुनुहुन्छ । उहाँहरूमध्ये कतिले डकुमेन्ट्री निर्देशनबाट आर्जन गरेको नाम कथानक फिल्म बनाएर गुमाउनु पनि भएको छ । हाम्रा फिल्म प्रदर्शन गर्ने भेन्युसमेत छैन नेपालमा । यही कुराको दु:ख लाग्छ ।



रिसर्चको प्रभाव

रेवती गुरुङ

१. रजवती

२. द्रिचु


फिल्म मेकिङमा लाग्छु भन्ने सोच थिएन । सन् २०१७ मा ओनियन फिल्म्सले आयोजना गरेको ‘हर स्टोरी : अ मुभी मेकिङ वर्कसप फर योङ वुमेन’ मा भाग लिएपछि यतातिर मोडिएँ । त्यसमा मैले आधारभूत कुराहरू सिकेकी थिएँ । त्यही कार्यक्रममा मेरो स्टोरी आइडिया छानिएपछि मलाई अब यो क्षेत्रमै लाग्नुपर्छ भन्ने भयो । अनि फटाफट दुई फिल्म (सर्ट मुभी र डकुमेन्ट्री) बनाएँ । दुवैले पुरस्कार पाए ।

म पहिला पत्रकारिता गर्थें । त्यो छोडेर रिसर्चमा लागें । ती दुवैको अनुभवले डकुमेन्ट्री मेकिङमा धेरै सघाएका छन् । म पत्रकारिताबाट प्राप्त सामान्य ज्ञान र अनुसन्धानबाट मिलेको ‘इन–डेप्थ हुनुपर्छ’ भन्ने ज्ञानलाई डकुमेन्ट्रीमा मिसाउन खोज्छु । फिक्सन नै गर्दा पनि मेरो फिल्म विशुद्ध मनोरञ्जनात्मक हुँदैन । तथ्यमै आधारित भएर बनाउँछु । सानो टिम र थोरै लगानीमै बनाउन सकिने भएकाले मलाई डकुमेन्ट्री विधा मनपर्छ ।



योग्यलाई मौका

प्रसुना डंगोल

१. स्ट्रगल इन के–पप


बेलायतको एन्जेलिया रस्किन युनिभर्सिटीबाट फिल्म एन्ड मिडिया स्टडिजमा स्नातक गरेर फर्किएपछि मैले डकुमेन्ट्री निर्देशनमा हात हालें । त्यसअघि फोटोग्राफी गर्थें । केही म्युजिक भिडियोमा क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरें । काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा जोडिँदाको अनुभव पनि छ मसँग ।

मलाई फिक्सन फिल्ममा त्यति रुचि छैन । सबै कुरा बनावटी हुने भएकाले हेरुन्जेल रमाइलो मात्रै लाग्छ । डकुमेन्ट्रीसँग म आफूलाई बढी जोड्ने गर्छु, त्यसका पात्र र घटनासँग आफूलाई रिलेट गर्छु । वास्तविक जीवनका हिरोहरू डकुमेन्ट्रीमा भेटिन्छन् । म आफैं पनि त्यस्तै पात्र खोज्दै बस्छु । महिला वा पिछडिएका मान्छेहरूका प्रेरणादायी कथाहरू उजागर गर्न मनपर्छ । डकुमेन्ट्री यस्तो माध्यम हो जसले योग्य मान्छेलाई अवसर दिन सक्छ ।



सर्ट फिल्मका कुमार

परिच्छेद सेन

१. अकिञ्चन

२. स्ट्राइक

३. मदर


म फिल्म क्षेत्रमा लागेको ७/८ वर्ष भयो । करिब ४० वटा फिल्ममा एसिस्टेन्ट डिरेक्टर भएर काम गरें । कान्तिपुर फिल्म एकेडेमीमा निर्देशनको कोर्स गरेपछि चाहिँ मैले एसिस्ट गर्न छोडेको हुँ । शिव रेग्मी, विकास आचार्य, नीर शाहलगायत थुप्रै जनाको फिल्ममा सहनिर्देशक भएको छु । एक वर्षमा ८ वटासम्म फिल्ममा त्यसरी काम गर्दा आफ्नो निर्माण/निर्देशन थोरै ढिलो हुन गयो ।

म सामाजिक विषयमा आधारित छोटा फिल्महरू बनाइरहेको छु । लामो फिल्मका लागि अभ्यास हो । यसले आत्मविश्वास बढाउँछ । म आफंैलाई छोटो फिल्मका लागि कुमार र फिचरलाई विवाहित भन्न रुचाउँछु । कुमार हुँदा बेतालले काम गर्न पाइन्छ । विवाह गरेपछि अनेक बन्धन आइपर्छ, सबैको चित्त बुझाउनुपर्छ । सर्ट फिल्म मज्जा हो तर दर्शकलाई आफ्नो कन्सेप्ट बुझाउन गाह्रो हुन्छ ।




ककटेल निर्देशक

विकास न्यौपाने

१. द साइलेन्स अफ रिक्सा

२. लछुमनियाँ


म मान्छेहरूबाट प्रभावित हुन्छु । उनीहरूका अनुभव वा घटनाहरूलाई रिलेट गर्न सकें भने राम्रो आउटकम दिन सक्छु भन्ने लाग्छ । नन–एक्टर्ससँग काम गर्दा सहज महसुस हुन्छ मलाई । यसलाई नै मेरो विशेषता भने पनि भयो । साथै, म ककटेल निर्देशक हुँ । आर्ट र कमर्सियल दुवै पक्ष मिसाएर फिल्म बनाउन रुचाउँछु ।

यो क्षेत्रमा लागेको ९ वर्ष भयो । एक्टर्स स्टुडियोमा अभिनय सिकें, ओस्कार कलेजमा फिल्म निर्देशनबारे पढें । अझै पनि सिक्ने र पढ्ने क्रम जारी छ । थिएटरको अनुभवले मलाई निर्देशनमा धेरै सघाइरहेको छ । म कलाकारलाई राम्ररी गाइड गर्न सक्छु । नन–एक्टर्ससँग काम गर्ने भएकाले मलाई अभिनयबारे झन् धेरै जानकारी हुनु आवश्यक थियो । यो आवश्यकता अभिनय अनुभवले पूर्ति गरिरहेको छ ।

[email protected]

प्रकाशित : माघ ५, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?