सानो कुरा ठूलो काम

‘नेक्स्ट बिग थिङ’ को संज्ञा दिइएको र चर्चामा रहिरहने अवधारणा इन्टरनेट अफ थिङ्स (आईओटी) के हो ? यसले हाम्रो जीवनलाई कसरी सहज बनाउन सक्छ ?
विजय तिमल्सिना

काठमाडौँ — कल्पना गर्नुस् कि आफू घर जानेबित्तिकै चाबी खोल्न नपरोस्, तपाईं आएको थाहा पाएर ढोका आफैं खुलोस् । बत्ती आफैं बलोस् र आफ्नो कोठाको एसी आफैं अन होस् । आफू अर्को कोठामा भएका बेला भान्साको ग्यास तपाईंले खाना चाहेजति तातेपछि आफैं बन्द होस् ।

सानो कुरा ठूलो काम

मानौं, तपाईंको प्रेसर लो भएको छ, तपाईंलाई अनुभव हुनुभन्दा पहिल्यै तपाईंको घडीले यसको बारेमा जानकारी देओस् । यस्ता काम गर्नका लागि विभिन्न डिभाइस बनिरहेका छन् र त्यसको स्तरोन्नति गर्ने क्रम रोकिएको छैन । हाम्रा दैनिकीलाई सहज बनाउन निर्माण गरिने यस्तै डिभाइस वा सिस्टमलाई समष्टिगत नाम दिइएको छ– इन्टरनेट अफ थिङ्स ।

इन्टरनेट अफ थिङ्सको सामान्य परिभाषामा जाने हो भने यसलाई अझ विस्तृत रूपमा बुझ्न सकिन्छ । जस्तो : कुनै डिभाइस वा कुनै सेन्सर वा त्यस्तै प्रणाली आपसमा जोडिएर डाटा आदानप्रदान गर्न सक्छन् र कुनै तोकिएको काम गर्न सक्छन् भने त्यसलाई भनिन्छ इन्टरनेट अफ थिङ्स । यसका लागि त्यसमा इन्टरनेट जोडिएको हुनुपर्छ । छोटकरीमा यसलाई ‘आईओटी’ पनि भनिन्छ ।

सन् २०२० सम्म विश्वमा ६ अर्ब मोबाइल प्रयोगकर्ता हुने अनुमान छ । हामी मोबाइलका माध्यमबाट विभिन्न एप प्रयोग गरेर टाढा रहेका मानिससँग सजिलै जोडिन्छौं तर यिनै स्मार्टफोन वा इन्टरनेट प्रयोग गरेर कुनै भौतिक डिभाइससँग हामी जोडिन्छौं भने त्यसलाई पनि हामी आईओटीकै एक प्रारूप मान्न सक्छौं ।

एउटा अनुमान यस्तो पनि छ कि आगामी दुई वर्षभित्र अर्थात् सन् २०२० सम्ममा संसारभर ५० अर्ब यस्तै खालका डिभाइस प्रयोगमा हुनेछन् । यही अनुमानलाई आधार मान्ने हो भने आईओटी अबका वर्षमा ठूल्ठूला उपलब्धि वा ठूलो परिवर्तन हुनेछ ।

यसलाई महत्त्वपूर्ण किन पनि मानिन्छ भने मानिसको दैनिक जीवनलाई सहज बनाउने आईओटी कुनै ठूलो यन्त्र वा प्रणाली नभई एपबाटै नियन्त्रण गर्न सकिने वा सामान्य अवस्थामै प्रयोग गर्न सकिने खालका हुन्छन् । त्यसैले त संसारभर नै कुनै न कुनै रूपमा यसको निर्माण र विकास हरेक दिन भइरहेकै हुन्छ । उदाहरणका लागि काठमाडौंमै हरेक वर्ष हुने विभिन्न ह्याकाथन वा च्यालेन्जमा सहभागीहरूले कुनै न कुनै रूपमा आईओटीकै प्रोटोटाइप बनाइरहेका हुन्छन् ।

गत सेप्टेम्बरमा काठमाडौंमा भएको मिस टेक प्रतियोगितामा सहभागी एक समूहले एउटा बेल्ट (पेटी) को प्रोटोटाइप बनाएको थियो जसले गर्भवती महिलाको शारीरिक अवस्थाको जाँच गरी मोबाइलमा त्यसबारे जानकारी दिन सक्छ । यसलाई पनि इन्टरनेट अफ थिङ्सको एउटा महत्त्वपूर्ण उदाहरण मान्न सकिन्छ किनकि यसले इन्टरनेटसँग जोडिएर सामान्य सेन्सरको सहायताले मानिसको मुटुको चाल, तापक्रमजस्ता विषयमा तत्काल थाहा दिन सक्छ, जसले संवेदनशील अवस्थामा रहने गर्भवतीको स्वास्थ्यका बारेमा हरक्षण ख्याल राख्न सकिन्छ ।

यो सामान्य उदाहरण मात्र हो, हरेक वर्ष काठमाडौंमा विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीले मोबाइल एपबाट नियन्त्रण गर्न मिल्ने गरी करेसाबारीमा पानी हाल्न मिल्ने प्रविधि परीक्षण गरिरहेका हुन्छन् भने ट्यांकीमा पानी भरिएपछि धारा स्वत: बन्द हुने र मोबाइल एपबाटै धारा खोल्न र बन्द गर्न मिल्ने सिस्टम पनि बनाइरहेकै हुन्छन् ।

इन्टरनेट अफ थिङ्ससम्बन्धी अध्ययन गर्ने वा रुचि राख्ने मानिसले हरेक दिन कुनै न कुनै रूपमा यसको परीक्षण र विकास संसारभर नै गरिरहेका छन् । र, कुनै न कुनै रूपमा मानिसले यसलाई प्रयोग गर्न थालेका छन् ।

हामीलाई दैनिक जीवनमा सघाउने रोबोट होस् वा इन्टरनेटसँग जोडिएर काम गर्ने ? यी सबैलाई आईओटीअन्तर्गत राख्न सकिन्छ । हामीले प्राय: प्रयोग गरिरहने एटीएम मेसिनलाई पनि आईओटीकै उदाहरणका रूपमा लिन सकिन्छ । वा, भनौं हामीले प्रयोग गर्ने स्मार्ट वाचले अहिले शरीरको अवस्थाबारे जानकारी दिन सक्ने भएका छन् । अब झन् मानिसले चलाउनै नपर्ने गरी चालकविहीन कारको अवधारणाले मूर्तरूप लिँदै छ र अनुमान गर्न सकिन्छ, कुनै दिन विश्वभरका मानिसले यसमा पहुँच पाउनेछन् ।

साना कुरा लाग्ने तर मानवीय जीवनमा सहजता थप्ने यस्तै प्रविधि र प्रणालीले आगामी वर्ष थप चर्चा पाउनेछ र आईओटी मानवीय जीवनको महत्त्वपूर्ण हिस्सा बन्नेमा कुनै सन्देह छैन ।

–एजेन्सीको सहयोगमा

[email protected]

प्रकाशित : माघ ५, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?