१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्याटलाइट कलर

काठमाडौँ — हात्तीले तराईका बस्तीमा बितन्डा मच्चाइरहेको हुन्छ । घर, बाली नष्ट गर्नेबाहेक मानवीय क्षति नै निम्त्याउने घटना पनि बढेका छन् । हात्ती रोक्न इलेक्ट्रिक फेन्स (विद्युतीय तार) मा करोडौं खर्चिइयो तर त्यो प्रभावकारी भएन । नयाँ जुक्ति निकालिएको छ– स्याटलाइट कलर घाँटीमै जोड्ने ।

स्याटलाइट कलर

स्याटलाइट कलर एउटा डिभाइस हो । यसलाई विभिन्न कम्पनीले उत्पादन गरेका छन् । नेपालमा प्रयोग गरिएका चाहिँ जर्मनीको भेट्रोनिक्स कम्पनीको हो । ती स्याटलाइट कलर राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले राष्ट्रिय निकुञ्ज विभागलाई उपलव्ध गराएको छ ।

स्याटलाइट कलरभित्र सफ्टवेयर हुन्छ । त्यसमा प्रोग्रामिङ गरिन्छ । स्याटलाइट कलरले सम्वन्धित जीवको गतिविधिको तोकिदिने गर्छ । ‘कलर जोडिएको जीव कुन स्थानमा हिंडिरहेको छ, के गरिरहेको छ, जहाँसुकैबाट अवलोकन गर्न सकिन्छ,’ संरक्षणकर्मी अशोक रामले भने, ‘जतिबेला चाहिन्छ, त्यतिबेला जानकारी लिन सकिने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउन सहयोग मिल्नेछ ।’ उनले गत साता बर्दियामा बितन्डा मच्चाएका एक हात्तीको घाँटीमा स्याटलाइट कलर जोड्ने काममा नेतृत्व गरेका थिए ।

घाँटीमा बाँधिएको स्याटलाइटले हात्तीको रियलटाइम मनिटरिङको काम गरेको हुन्छ । त्यो स्याटलाइट कलरले दिने सन्देश प्राप्त गर्न इन्टरनेट आवश्यक पर्छ । जीवमा जोडिएको स्याटलाइट कलरमा आईडी नम्बर सेट गरिन्छ । जस्तो : बर्दियाको ढकेलामा जडान गरिएको हात्तीको आईडी नम्बर १३१८९ हो । ‘युजर नेम र पासवर्ड राखेर अन गरेपछि त्यो हात्तीको क्रियाकलाप सहजै हेर्न सकिन्छ,’ नेपालका हात्तीबारे विद्यावारिधि गरिरहेका अशोकले भने, ‘मानव बस्ती नजिक आउन लाग्यो भने सुरक्षार्थ तैनाथ टोली तुरुन्तै त्यहाँ पुगेर हात्ती भगाउन सक्छन् ।’


निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र छोटो दूरीमै सेना र निकुञ्जको गस्ती टोली हुने भएकाले सूचना पाउने बित्तिकै ती टोली सम्बन्धित क्षेत्रतिर गएर हात्तीलाई भगाउन सक्छन् । ‘मान्छेलाई दु:ख दिने वन्यजन्तुबाट सतर्क गराउन यो प्रविधि प्रयोग गरिएको हो,’ एनटीएनसीका विज्ञ डा.नरेश सुवेदीले भने । स्याटलाइट कलरले दिने सन्देश हेर्ने अख्तियारी भने सीमित व्यक्ति र संस्थालाई मात्र दिइन्छ । निकुञ्ज विभाग, सम्बन्धित निकुञ्जको प्रमुख, नजिकको पोस्ट र विशेषज्ञले त्यसको मोनिटरिङ गरेका हुन्छन् ।

बर्दियाको हात्तीको घाँटीमा जोडिएको स्याटलाइटले हरेक आधा घण्टामा जानकारी दिने गरी सेटिङ गरिएको छ भने कोसीटप्पुमा हरेक पाँच घण्टामा सन्देश दिने व्यवस्था मिलाइएको छ । ‘बर्दियामा धेरै समस्या हुने भएकाले छोटो समयलाई मिलाइएको हो,’ अशोकले भने, ‘अन्य भागमा पनि स्याटलाइट कलर गरिनेछ ।’ यो प्रविधि जोड्न विशेषज्ञसहित २५ बढी खटिएका थिए ।

‘स्याटलाइट कलरले सम्वन्धित हात्तीको क्रियाकलाप र अवस्था बताउने भएकाले सचेतनाका लागि यो राम्रो टुल्स हो,’ हात्तीबारे विद्यावारिधि गरेका नरेन्द्रमानबाबु प्रधानले भने । यस्तै प्रविधि केही वर्षअघि कञ्चनजंघा संरक्षण क्षेत्रका हिउँचितुवा, चितवनबाट बर्दिया निकुञ्जको बबईमा सारिएका गैंडामा समेत जोडिएको छ । जोडिएको स्याटेलाइटले दिएकै सन्देशका कारण नेपालका हिउँचितुवा भारत र तिब्बततिरसमेत आउजाउ गर्ने पुष्टि भएको थियो । हात्तीमा जोडिएको स्याटलाइट पनि दुर्घटना घटाउन सहयोगी हुने विशेषज्ञहरूको अपेक्षा छ ।

प्रकाशित : माघ १९, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?