३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तर पनि मार्स

जसलाई ‘रेट्रो आर एन्ड बी’ शैलीका संगीत मन पर्छ, उनीहरुका लागि त ब्रुनो मार्स विकल्प नै नभएका गायक हुन् ।
हिमेश

काठमाडौँ — यसपल्टको ६० औं ग्रायमी अवार्ड ब्रुनो मार्स भर्सेस केन्डरिक लेमारजस्तै रह्यो । दुवै यसपल्टको अवार्डमा छाए, तर खास विजेता को रह्यो त ? दुवैले एकभन्दा बढी अवार्ड पनि जिते । दुवैले कार्यक्रममा सम्झनालायक प्रस्तुति पनि दिए । दुवै खुसी पनि देखिए, गुनासो पनि थिएन । तर सायद विजेता मार्स नै रहे कि ? प्राय: यस्तै भन्छन् र यसको कारण रहेको छ, मुख्य विधामा मार्सकै प्रभुत्व । त्यसो त यसपल्टको अवार्ड मार्स भर्सेस जेय–जेड पनि हो ?

तर पनि मार्स

जेय–जेड आठ विधाको नोमिनेसनमा परेका थिए, तर उनले एउटा पनि जित्न सकेनन् । कार्यक्रम आयोजना भएको न्युयोर्कको मेडिसन स्क्वायर गार्डेन छाड्दा उनी खालि हात थिए । मार्सले जे गरे, त्यसलाई एक खाले ‘क्लिन स्विप’ भने पनि हुन्छ । आखिरमा उनले जिते छ अवार्ड । त्यसमा पनि तीन प्रमुख विधा रहे र ती थिए, ‘ट्वान्टी फोर के म्याजिक’ का लागि ‘रेकर्ड अफ द इयर’, ‘द्याट्स ह्वाट आई लाइक’ का लागि ‘सङ अफ द इयर’, अनि ‘ट्वान्टी फोर के म्याजिक’ कै लागि ‘एल्बम अफ द इयर’ ।

सबैभन्दा पहिले सन् २०१७ लाई फर्केर हेरौं न १ राजनीतिक रूपमा यो वर्ष धेरैले महिला र आप्रवासीको अधिकारका लागि आवाज उठाए । यो वर्षलाई त्यसैका लागि पनि सम्झिने छ । सिनेमा र संगीतको क्षेत्रमा रहेका धेरैले पनि त्यसैको पक्षमा आवाज उठाए । ग्रायमी अवार्ड पनि एक प्रकारले यस्तैमा केन्द्रित पनि रह्यो कि ? कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उडाउने पनि उत्तिकै रहे । धेरैले आप्रवासी नीति प्रति नरम हुनुपर्ने माग पनि राखे ।

अनि ‘ह्यासट्याग मी टु’ अभियानको झलक पनि देखियो, यौन दुव्र्यवहार रोक्नका लागि । तर अवार्ड भने पाए, मार्सले । यस्तो किन भन्दा मार्स ‘यौन’ र ‘रमझम’ मा बढी रमाउन खोज्ने खालका हुन् । उनलाई खासमा राजनीतिक मुद्दाबारे मतलब नै नभएको पनि भनिन्छ । त्यसैले मार्सको ‘स्विप’ लाई लिएर आश्चर्य मान्ने पनि धेरै छन् । राजनीतिक मुद्दालाई नै प्रमुख मान्नेका लागि मार्सको यो प्रभुत्व कामै नलाग्ने हुन सक्छ ।

तर खालि संगीतलाई मात्र मुख्य मुद्दा बनाउने हो भने यसमा कुनै शंका छैन, मार्स गज्जबका छन् । कार्यक्रममा यति धेरै अवार्ड जितेपछि स्वयं मार्सले पनि भनेका छन्, ‘म त अहिले धेरै आश्चर्यमा छु । के यस्तो पनि हुन सक्छ र ?’ जसलाई ‘रेट्रो आर एन्ड बी’ शैलीका संगीत मन पर्छ, उनीहरूका लागि त मार्स विकल्प नै नभएका गायक हुन् । उनी मस्त प्रतिभाशाली संगीतकर्मी हुन् । धेरै राजनीतिक मुद्दामा अल्झेर दिक्क हुनेका लागि मस्तखाले संगीत सुन्ने इच्छा छ भने त्यसको सबैभन्दा राम्रो उत्तर वास्तवमै मार्स हुन् ।

संगीत उद्योगमा रहेका १३ हजारले ग्रायमी अवार्डमा मतदान गरेका थिए । उनीहरू प्राय: रेकर्डिङ एकेडेमीसँग आबद्ध हुने हुन्छन् । उनीहरूकै मत मान्न हो भने पश्चिमेली विश्व संगीत पनि परिवर्तन हुँदै छ । किनभने, यसपल्ट ग्रायमी अवार्डको इतिहासमै पहिलोपल्ट स्पष्ट रूपमा हिप–हप संगीतको प्रभुत्व रह्यो । त्यसैले त सायद लेमारको भागमा मुख्य विधाका अवार्ड परेनन्, बरु भाग्यमानी रहे त उनै मार्स ।

साँच्चै मार्सका गीत कस्ता हुन्छन् त ? जस्तो, उनको मुख्य गीत ‘ट्वान्टी फोर के म्याजिक’ एक ‘हट’ महिलामा केन्द्रित छ । अनि ‘द्याट्स ह्वाट आई लाइक’ ले माया गर्ने ‘हाइ स्टाइल’बारे भन्छ । त्यसैले सोसल मिडियामा उनको यो जितलाई धेरैले प्रश्न पनि उठाए । के सन् २०१७ जस्तो थियो, उनको संगीतले त्यस्तै प्रतिनिधित्व गर्छ त ? धेरैको आरोप के हो भने उनले संगीत त्यस्तो छैन, जसले समाजमा प्रभाव पारोस् । त्यसैले पनि मार्सको संगीतलाई लिएर गम्भीर हुनुपर्ने कुनै आवश्यकता नै नभएको भनिन्छ । मार्सको खास नाम हो, पिटर हर्नान्डेज ।

उनको परिचय धेरै हुन सक्छ, उनी कुनै न कुनै रूपमा प्युर्टोरिको, फिलिपिनो र स्पेनीसँग जोडिन्छन् । उनी अमेरिकाको हवाईमा बस्छन् । आफ्नो ‘स्पेनिस रुट’ बारे धेरै बोलिरहन चाहँदैनन् । न त उनले राजनीति र सामाजिक मुद्धाबारे केही बोलेका छन् । उनी खालि यति मात्र भन्ने गर्छन्, संगीतलाई संगीत नै रहन दिनुपर्छ । संगीतले मानिसलाई खुसी तुल्याउँछ, अनि सबैलाई एकजुट पनि । यो नै यसको

खास शक्ति हो । त्यसैले त मार्सको प्रसङ्ग जोडिँदा ‘तर’ त भनिन्छ, तर उनलाई बिर्सन पनि त सकिन्न ।

twitter : @himeshratna

प्रकाशित : माघ १९, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?