हिँड्दा–हिँड्दै

सजना बराल

काठमाडौँ — कुनै बेला १९७४ एडीका ‘फ्रन्टम्यान’ रहेका फिरोज स्याङदेन र एड्रियन प्रधान फेरि एकसाथ कन्सर्टमा देखिन थालेका छन् । अमेरिकाबाट तीन महिनाअघि सहकार्य थालेका उनीहरु ‘द अरिजिनल डुओ’ लिएर शुक्रबार जाउलाखेल मैदानमा जम्दैछन् ।

–सम्झी बस्छु...

Yamaha

–परेलीमा...
–तिमीलाई पिरतीले...
–हिजो मात्र...
यी गीतहरू १९७४ एडीले प्रारम्भिक चरणमा दिएका चर्चित सिर्जना हुन्, जुन फिरोज स्याङ्देनले गाए । अधिकांश गीतमा उनकै शब्द छन् । यस ब्यान्डले दिएका लोकप्रिय गीतको नम्बर धेरै छन् । कोही यत्तिकै लिजेन्ड कहाँ बन्छ र १ नेपालको पायोनियर रक ब्यान्ड त्यसै भएको होइन । ब्यान्डका अर्का पूर्वसदस्य एड्रियन प्रधानले स्वर भरेका गीतहरू हुन् :
–सम्बोधन...
–मुटु भरिभरि....
–छुँदैन तिम्रो मायाले...
–हिँड्दा–हिँड्दै...
–पहिलो जुनीमा...
केही गीतका शब्द/संगीत ख्याल गर्दा तिनले ७४ एडीको भविष्य बोलिरहेजस्तो लाग्छ । ‘हिजो मात्र...’ कै कुरा गरौं, यसले भन्छ :
तिमीले त मलाई छाडेको
दोष पनि मलाई नै हालेको...
अर्को गीत ‘हिँड्दा–हिँड्दै...’ लाई हेरौं :
तिमी त कहाँ हराई गयौ...
त्यस्तै, ‘सम्बोधन...’ मा पनि बिछोडको त्यस्तै मर्म भेटिन्छ । त्यो बिछोड केबारे थियो ? आफ्नै ब्यान्डबारे त होइन ? फिरोज र एड्रियनलाई ब्यान्डबाट छुट्टिनुपर्छ भन्ने पहिलै थाहा थियो कि ? कलाकारहरू अक्सर आफ्ना सिर्जनामार्फत पनि अभिव्यक्ति दिइरहेका हुन्छन् ।
‘तर, होइन,’ त्यस्तो केही नभएको उल्लेख गर्दै एड्रियनले भने, ‘सम्बन्ध जोडेर हेर्‍यो भने मिलेको जस्तो लाग्छ तर ती गीत विशुद्ध रोमान्टिक थिए ।’ फिरोज थप्छन्, ‘त्यो बेला हामी छुट्टिन्छौं भन्ने कल्पनै थिएन । तर, त्यस्तै भयो । गीतहरू पनि कताकता मिल्न गए । यसरी जोड्नु ठीकै पनि हो ।’ यसरी हेर्दा उनलाई ‘पिँजडाको सुँगा’ (२००४) एल्बमको ‘मिल्दैन कथाहरू...’ को भाव अझ बढी सान्दर्भिक लाग्छ । यसमा आफ्नै कथा पो लेखेछु भन्ठान्छन् अनि दोहोर्‍याइ–तेहर्‍याई गाउँछन् :
मेरो मनमा सधैं–सधैं
एउटा प्रश्न दोहोरिन्छ यहाँ
अनि सोध्दछ त्यसले उल्टो मलाई,
फेरि–फेरि भेट हाम्रो हुने कि नहुने हो
फिरोज र एड्रियन ‘...दोबाटोमै’ ब्यान्डबाट अलगिए । ७४ एडीका यी पूर्वगायकद्वय अचेल एकल करिअर अगाडि बढाइरहेका छन् । फिरोज अमेरिका बस्न थालेको आठ वर्ष भइसक्यो । उतै कार्यक्रमहरू गर्छन् । न्युयोर्कको हिमालयन याक रेस्टुरेन्टमा नियमित गाउँछन् । उनको त २१ वर्षे छोरी पनि म्युजिकमा रुचि देखाउँछिन् । ‘उसको रुचि महिना–महिनामा फेरिन्छ,’ निधार छोप्ने सिल्की कपाल पन्छाउँदै फिरोज बोले, ‘घरि गितारमा रुचि जाग्छ, घरि पियानो, घरि ड्रम्समा । निश्चित नै छैन ।’ उनलाई अचेलका संगीतकर्मी बजारको पछि दौडेको चित्त बुझ्दैन ।
एड्रियन राजधानीतिरै हुन्छन् । उनी ‘फ्रेन्ड्स’ ब्यान्डलाई ब्याकअपमा राखेर इन्डोर/आउटडोर कन्सर्ट गर्छन् । ब्यान्डमा सुदन, अमन, सुजित र सौरम्य छन् । अनुज कार्कीले व्यवस्थापनको जिम्मा लिएदेखि एड्रियनलाई शान्ति मिलेको छ । ‘पहिले–पहिले इभेन्टका लागि आफैंले डिल गर्दा धेरै तनाव हुन्थ्यो,’ उनले यसो भनिरहँदा फिरोजले थपे, ‘आफैंले डिल गर्दा कहिले छुच्चो बन्नुपर्छ, कहिले झगडै पर्छ । म्यानेजर भएपछि सबै उसैले हेर्ने भए । झगडा परे पनि म्यानेजरसँगै परोस् ।’

आधा लाख दर्शक
दार्जिलिङका उनीहरू केही सातायता एकसाथ हँसिमजाक गरिरहेका छन् । जिन्दगी सुखमय छ । सुखद खबर दर्शका लागि पनि साँचेकै छन् । ‘द अरिजिनल डुओ’ मार्फत पोखरावासीले यो अनुभूत गरिसके । गत शनिबार प्रदर्शनी केन्द्रमा उनीहरूलाई हेर्न/सुन्न करिब दुई हजार दर्शक भेला भएका थिए, हलभित्रको कन्सर्टमा यत्ति दर्शक ठूलो मानिन्छ । कुनै बेला करिब आधा लाख दर्शक झुमाएको यो जोडीलाई १–२ हजारको भीड गतिलो नलाग्न पनि सक्छ ।
तर फिरोज भन्छन्, ‘जति थोरै दर्शक त्यति धेरै नर्भस भइन्छ । लामो दूरीमा बसेको ठूलो भीडभन्दा नजिकै बसेर हेरिरहेको सानो झुन्डले नर्भस बनाउँछ । बिग्रेला कि भनेर बढी सचेत भइन्छ ।’ सन् २००० को ‘१९७४ एडी रकयात्रा’ मा दशरथ रंगशाला खचाखच थियो । पैंतालिस हजार टिकट बिक्री भएको त्यो कन्सर्ट नेपालको सबभन्दा ठूलो कन्सर्टमा पर्छ । ‘मान्छेहरू गाडीका गाडी मोफसलबाट आएका थिए,’ एड्रियन सम्झन्छन्, ‘तर, साउन्ड सिस्टम राम्रो थिएन । अहिले त प्राविधिक रूपमा धेरै सुधार भइसक्यो ।’
सुधारिएको माहोलमा फिरोज र एड्रियन शुक्रबार जाउलाखेल मैदानमा उत्रिँदैछन् । यी दुई उही ‘फ्रेन्ड्स’ ब्यान्डसँगै प्रस्तुत हुँदैछन् । अनि २७ माघमा बुटवलमा अरिजिनल डुओको समापन हुनेछ । सन् २०१६ को ‘यूएस टुर’ पछि उनीहरू युगल गायनमा लागेका हुन् । अरिजिनल डुओले सन् २०१८ मा ‘वल्र्ड टुर’ नै गर्ने तय भइसक्यो ।
त्यसको सुरुवात नेपालबाट गरेको बताए । ‘फ्यानहरूले हाम्रा पुराना गीत र अरिजिनल भ्वाइस मिस गर्नुहुन्छ जस्तो लाग्यो,’ एड्रियन भन्छन्, ‘त्यसैले यो कन्सर्ट थालेका हौं ।’
कन्सर्ट मात्र होइन, उनीहरू नयाँ गीत पनि तयार पार्दैछन् । ‘मेरो सम्झना...’ गीतमा दुवैको आवाज समेटिँदै छ । लोक फ्लेभरको अरेन्जमेन्टमा केही अंग्रेजी शब्द मिसाइएका छन् । शब्द दिएका फिरोजले पहिला पनि यस्तो शैली अपनाएका थिए । एड्रियनको त अंग्रेजी लाइन गाएरै ७४ एडीको भोकलिस्टमा ‘पदोन्नति’ भएको थियो । ‘त्यो बेला ब्यान्डमा मेरो निश्चित ठाउँ थिएन,’ उनी भन्छन्, ‘कहिले ड्रम्स बजाउँथें, कहिले मादल, कहिले गितार । सम्झी बस्छु... मा अंग्रेजी लाइन थियो । त्यो गाउने फिमेल आर्टिस्ट एक दिन प्राक्टिसमा आउनुभएन । मैले फिल–अपका रूपमा गाएँ । पछि मलाई नै गाउन दिइयो । अनि गायक बनें ।’

नामले छाडेन
अचेल भने फिरोज र एड्रियन ७४ एडीका भोकलिस्ट होइनन्, रोहित जोन क्षत्री र प्रज्वल मुखियाले स्वर सम्हाल्न थालेको झन्डै ३ वर्ष भइसक्यो । संस्थापक सदस्य निराकार याकथुम्बा, मनोजकुमार केसी र पछि आबद्ध भएका सञ्जय श्रेष्ठसँगै सुवास र प्रतीक अहिलेको लाइन–अपमा छन् । ब्यान्ड छोडे पनि ब्यान्डको नामले आफूलाई नछोडेको एड्रियन बताउँछन् । ‘त्यही कोखबाट जन्मिएका हौं,’ उनले भने, ‘ब्यान्डलाई बिर्सिनु अधर्म हुन्छ । हामीले छाडे पनि ब्यान्डको नामले छाडेको छैन । खुसी लाग्छ ।’
एड्रियनले व्यावसायिक गायनका लागि ब्यान्ड छोडेको बताए । संगीत नै आफ्नो
‘ब्रेड एन्ड बटर’ भएकाले सोखका लागि गर्न गाह्रो भएको उनको तर्क थियो । यद्यपि ब्यान्डसँग राम्रो सम्बन्ध रहेको पनि सुनाउन चाहे । अनौपचारिक भेटघाट भइरहने बताए । ‘७४ एडी उत्साही ब्यान्ड हो,’ उनको बुझाइ, ‘संगीतको मायाले नै सिर्जना गर्छ । संगीतको मायाले, मन शान्तिका लागि गाउँछ/बजाउँछ । मेरो त बाँच्ने आधार यही भएपछि सोखका लागि मात्र बजाएर सम्भव भएन/थिएन ।’
एक्लै गाउँदा बढी स्वतन्त्र भइने एड्रियनको अनुभव छ । यद्यपि यसका पनि आफ्नै अप्ठ्यारा रहेछन् । ‘गीत नीरस हुने डर हुन्छ,’ ४७ वर्षीय उनले भने, ‘एक्लैको हुनाले गीत नीरस बन्न सक्छ ।’ उनलाई ब्यान्डबाट अलग्गिँदा हराइएला भन्ने डर थियो । उनले भने, ‘कतै हराउँछु जस्तो लाग्थ्यो । निरास भएको थिएँ । तर, व्यक्तिगत पहिचानलाई पनि दर्शकले माया गरिदिनुभयो ।’
ब्यान्डहरू टुट्ने–जुट्ने भइरहन्छन् । ७४ एडीमै कति सदस्य आउने–जाने भए । विश्वका चर्चित पुराना ब्यान्डहरूमा पनि अचेल पुनर्मिलन भइरहेका छन् । के फिरोज र एड्रियन फेरि ब्यान्डमा फर्किनेछन् ? यो प्रश्न एकछिनका लागि बेकारजस्तो बन्यो । दुवैले भने, ‘यसको उत्तर ‘उनीहरू मौन बसे’ लेखिदिनुहोला ।’ लामो हाँसोपछि एड्रियन नै अघि सरेर बोले, ‘हामी मान्छे हौं, कहिले कसलाई को चाहिन्छ भन्न सकिँदैन । ७४ एडी ऐतिहासिक नाम हो । यसका लागिकेही गर्नुपरे हामी पछि हट्दैनौं । फेरि एक हुन पनि सक्छौं ।’


उत्कृष्ट तीन

एड्रियन प्रधान
एल्बम : आज
सन् २००४ मा निकालेको यो मेरो सोलो एल्बम हो । यसले मलाई एकल गायकका रूपमा चिनायो ।
गीत : मुटु भरिभरि...
फिरोज दाजुको शब्द छन् यसमा । संसारभरिका हाम्रा फ्यानलाई समर्पण गरेर बनाएकाले यो गीत प्रिय लाग्छ ।
कन्सर्ट : पोखरा (अरिजिनल डुओ/२०१८)
गत शनिबार पोखरामा भएको कार्यक्रम अहिलेसम्मकै चित्तबुझ्दो थियो । पहिलेका गीत गाएर धेरै नोस्टाल्जिक बन्यौं ।


फिरोज स्याङ्देन
एल्बम : सम्झी बस्छु
यसले कलेजका दिनहरूको सम्झना गराउँछ । कलेज पढ्दाताकाको कम्पोजिसन भएकाले यो एल्बमको अलि बढी नै माया लाग्छ ।
गीत : मिल्दैन कथाहरू...
यसमा मैले समाज, परिवार वा सम्बन्धमा हुने विभेदबारे लेख्न सकेको महसुस हुन्छ । शब्द, संगीत, अरेन्जमेन्ट मेरै छ ।
कन्सर्ट : मिनेसोटा (यूएस टुुर/२००२)
यो कन्सर्ट धेरै हिसाबले उत्कृष्ट लाग्छ । लाइट, साउन्ड, पर्फरमेन्स सबै भनेजस्तै भएको थियो । मेटालिकाको एउटा क्रुले साउन्ड इन्जिनियरिङ गरिदिएकाले मज्जा आएको थियो ।

sazna07@gmail.com

प्रकाशित : माघ १९, २०७४ ०९:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तर पनि मार्स

जसलाई ‘रेट्रो आर एन्ड बी’ शैलीका संगीत मन पर्छ, उनीहरुका लागि त ब्रुनो मार्स विकल्प नै नभएका गायक हुन् ।
हिमेश

काठमाडौँ — यसपल्टको ६० औं ग्रायमी अवार्ड ब्रुनो मार्स भर्सेस केन्डरिक लेमारजस्तै रह्यो । दुवै यसपल्टको अवार्डमा छाए, तर खास विजेता को रह्यो त ? दुवैले एकभन्दा बढी अवार्ड पनि जिते । दुवैले कार्यक्रममा सम्झनालायक प्रस्तुति पनि दिए । दुवै खुसी पनि देखिए, गुनासो पनि थिएन । तर सायद विजेता मार्स नै रहे कि ? प्राय: यस्तै भन्छन् र यसको कारण रहेको छ, मुख्य विधामा मार्सकै प्रभुत्व । त्यसो त यसपल्टको अवार्ड मार्स भर्सेस जेय–जेड पनि हो ?

जेय–जेड आठ विधाको नोमिनेसनमा परेका थिए, तर उनले एउटा पनि जित्न सकेनन् । कार्यक्रम आयोजना भएको न्युयोर्कको मेडिसन स्क्वायर गार्डेन छाड्दा उनी खालि हात थिए । मार्सले जे गरे, त्यसलाई एक खाले ‘क्लिन स्विप’ भने पनि हुन्छ । आखिरमा उनले जिते छ अवार्ड । त्यसमा पनि तीन प्रमुख विधा रहे र ती थिए,‘ट्वान्टी फोर के म्याजिक’ का लागि ‘रेकर्ड अफ द इयर’, ‘द्याट्स ह्वाट आई लाइक’ का लागि ‘सङ अफ द इयर’, अनि ‘ट्वान्टी फोर के म्याजिक’ कै लागि ‘एल्बम अफ द इयर’ ।
सबैभन्दा पहिले सन् २०१७ लाई फर्केर हेरौं न १ राजनीतिक रूपमा यो वर्ष धेरैले महिला र आप्रवासीको अधिकारका लागि आवाज उठाए । यो वर्षलाई त्यसैका लागि पनि सम्झिने छ । सिनेमा र संगीतको क्षेत्रमा रहेका धेरैले पनि त्यसैको पक्षमा आवाज उठाए । ग्रायमी अवार्ड पनि एक प्रकारले यस्तैमा केन्द्रित पनि रह्यो कि ? कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उडाउने पनि उत्तिकै रहे । धेरैले आप्रवासी नीति प्रति नरम हुनुपर्ने माग पनि राखे ।
अनि ‘ह्यासट्याग मी टु’ अभियानको झलक पनि देखियो, यौन दुव्र्यवहार रोक्नका लागि । तर अवार्ड भने पाए, मार्सले । यस्तो किन भन्दा मार्स ‘यौन’ र ‘रमझम’ मा बढी रमाउन खोज्ने खालका हुन् । उनलाई खासमा राजनीतिक मुद्दाबारे मतलब नै नभएको पनि भनिन्छ । त्यसैले मार्सको ‘स्विप’ लाई लिएर आश्चर्य मान्ने पनि धेरै छन् । राजनीतिक मुद्दालाई नै प्रमुख मान्नेका लागि मार्सको यो प्रभुत्व कामै नलाग्ने हुन सक्छ ।
तर खालि संगीतलाई मात्र मुख्य मुद्दा बनाउने हो भने यसमा कुनै शंका छैन, मार्स गज्जबका छन् । कार्यक्रममा यति धेरै अवार्ड जितेपछि स्वयं मार्सले पनि भनेका छन्, ‘म त अहिले धेरै आश्चर्यमा छु । के यस्तो पनि हुन सक्छ र ?’ जसलाई ‘रेट्रो आर एन्ड बी’ शैलीका संगीत मन पर्छ, उनीहरूका लागि त मार्स विकल्प नै नभएका गायक हुन् । उनी मस्त प्रतिभाशाली संगीतकर्मी हुन् । धेरै राजनीतिक मुद्दामा अल्झेर दिक्क हुनेका लागि मस्तखाले संगीत सुन्ने इच्छा छ भने त्यसको सबैभन्दा राम्रो उत्तर वास्तवमै मार्स हुन् ।
संगीत उद्योगमा रहेका १३ हजारले ग्रायमी अवार्डमा मतदान गरेका थिए । उनीहरू प्राय: रेकर्डिङ एकेडेमीसँग आबद्ध हुने हुन्छन् । उनीहरूकै मत मान्न हो भने पश्चिमेली विश्व संगीत पनि परिवर्तन हुँदै छ । किनभने, यसपल्ट ग्रायमी अवार्डको इतिहासमै पहिलोपल्ट स्पष्ट रूपमा हिप–हप संगीतको प्रभुत्व रह्यो । त्यसैले त सायद लेमारको भागमा मुख्य विधाका अवार्ड परेनन्, बरु भाग्यमानी रहे त उनै मार्स ।
साँच्चै मार्सका गीत कस्ता हुन्छन् त ? जस्तो, उनको मुख्य गीत ‘ट्वान्टी फोर के म्याजिक’ एक ‘हट’ महिलामा केन्द्रित छ । अनि ‘द्याट्स ह्वाट आई लाइक’ ले माया गर्ने ‘हाइ स्टाइल’बारे भन्छ । त्यसैले सोसल मिडियामा उनको यो जितलाई धेरैले प्रश्न पनि उठाए । के सन् २०१७ जस्तो थियो, उनको संगीतले त्यस्तै प्रतिनिधित्व गर्छ त ? धेरैको आरोप के हो भने उनले संगीत त्यस्तो छैन, जसले समाजमा प्रभाव पारोस् । त्यसैले पनि मार्सको संगीतलाई लिएर गम्भीर हुनुपर्ने कुनै आवश्यकता नै नभएको भनिन्छ । मार्सको खास नाम हो, पिटर हर्नान्डेज ।
उनको परिचय धेरै हुन सक्छ, उनी कुनै न कुनै रूपमा प्युर्टोरिको, फिलिपिनो र स्पेनीसँग जोडिन्छन् । उनी अमेरिकाको हवाईमा बस्छन् । आफ्नो ‘स्पेनिस रुट’ बारे धेरै बोलिरहन चाहँदैनन् । न त उनले राजनीति र सामाजिक मुद्धाबारे केही बोलेका छन् । उनी खालि यति मात्र भन्ने गर्छन्, संगीतलाई संगीत नै रहन दिनुपर्छ । संगीतले मानिसलाई खुसी तुल्याउँछ, अनि सबैलाई एकजुट पनि । यो नै यसको
खास शक्ति हो । त्यसैले त मार्सको प्रसङ्ग जोडिँदा ‘तर’ त भनिन्छ, तर उनलाई बिर्सन पनि त सकिन्न ।
twitter : @himeshratna

प्रकाशित : माघ १९, २०७४ ०९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT