गम्भीर विषयको फिल्म

कान्तिपुर संवाददाता

काठमाडौँ — कुनै बेला अभिनय गर्न नजान्ने एक्सन हिरोको छवि भएका अक्षय कुमार अहिले बलिउडमा सामाजिक र देशभक्तिका विषयका फिल्मका सद्भावना दूतजस्तै भएका छन् । चाहे ‘एयरलिफ्ट’, ‘बेबी’ र ‘रुस्तम’ होस् वा ‘ट्वाइलेट एक प्रेमकथा’ अक्षय कुमारले देशभक्ति र सामाजिक समस्यालाई कसरी बिकाउ बलिउड फिल्मको मसला बनाउन सकिन्छ भन्ने देखाइरहेका छन् ।

गम्भीर विषयको फिल्म

हुन त, यसमा उनले भन्दा बढी निर्देशक र लेखकले मिहिनेत गरेका हुन्छन् तर स्टारको बलमा फिल्म चल्ने बलिउडमा यसको जस पनि स्टारले नै पाउँछ ।


यसैले त आर बाल्कीजस्ता सिद्धहस्त निर्देशकको फिल्म भए पनि ‘प्याडम्यान’ अक्षय कुमारको फिल्मजसरी प्रचारित छ । आफ्नो बाबुभन्दा बढी उमेरको मानिससँग अफेयर गर्ने युवतीको कथा भएको ‘चिनी कम’ होस् वा आफू गृहिणी बनेर श्रीमतीलाई बाहिरी दुनियाँमा काममा पठाउने पतिको कथा भएको ‘कि एन्ड का’ वा प्रोगेरियाग्रस्त एक बालकको दुनियाँको कथा ‘पा’, बाल्कीका फिल्म अरूभन्दा फरक हुन्छन् । र, रोचक पनि ।


विषयको हिसाबले ‘प्याडम्यान’ ले पनि निराश बनाउँदैन । नर्मदा किनारमा रहेको मध्यप्रदेशको एउटा सामान्य मानिसको असामान्य कथा हो, प्याडम्यान । अरुणाञ्चलम मुर्गनाथम नामक व्यक्तिको जीवन कथामा यो फिल्म आधारित छ । यिनै व्यक्तिको कथालाई ‘प्याडम्यान’ की एक निर्माता ट्विंकल खन्नाले आफ्नो किताबको विषय पनि बनाएकी थिइन्, ‘द लिजेन्ड अफ लक्ष्मीप्रसाद’ को नाममा । बलिउडका पूर्वअभिनेत्री ट्विंकल अक्षयकुमारकी पत्नी मात्र होइन, अहिलेकी चर्चित लेखक पनि हुन् । मुर्गनाथमकै कथामा एउटा सानो बजेटको फिल्म ‘फुल्लु’ पनि बनिसकेको छ ।


‘प्याडम्यान’ कथा हो, एउटा पतिको । जो आफ्नी पत्नीले रजस्वला वा महिनावारीका पाँच दिन पाउने दु:ख देखेर त्यसबाट मुक्तिका लागि अनेक उपाय गर्छन् । घर बाहिरको बास, त्यसमाथि फोहोर कपडाको प्रयोगले पत्नीको स्वास्थ्य र ज्यान नै खतरामा परेको उसले देख्छ । स्यानिटरी प्याड निकै महँगो भएकाले पत्नीले प्रयोग गर्न नसकेको थाहा पाएपछि सस्तो प्याड बनाउन उसले के–कस्तो संघर्ष गर्छन् ? समाज र परिवारले उसको कसरी तिरस्कार गर्छ र बाधा–व्यवधान पन्छाएर उसले कसरी आफ्नो मिसनमा सफलता पाउँछ भन्ने ‘प्याडम्यान’ को कथा हो ।


‘ट्वाइलेट एक प्रेमकथा’ जस्तै यो पनि भारतीय समाजको एउटा ठूलो समस्याबारे चेतना जगाउने फिल्म हो । समाजले भोगिरहेको यथार्थलाई पर्दामा ल्याएका कारण यो फिल्मको चर्चा अरूको भन्दा बढी हुनु आवश्यक छ । तर, फिल्मको काम सामाजिक समस्यामाथि चर्चा गर्नु वा त्यसको चेतनाको विज्ञापन गर्नुमात्र होइन । फिल्मले आफ्नो कथा र प्रस्तुतिका माध्यमले दर्शकको मन र चेतनालाई छुनुपर्छ । यो मामिलामा बाल्कीका अघिल्ला फिल्मको तुलनामा ‘प्याडम्यान’ कमजोर छ । किनभने, यो फिल्म समस्या देखाउनमा नै यति धेरै केन्द्रित छ कि त्यसको समाधानका लागि यसले पर्याप्त समय दिन सकेको छैन । यसैले पतिपत्नीको बीचमा प्रवेश हुन्छ, अर्को पात्रको ।

तबला बादकका रूपमा प्रवेश गर्ने दिल्लीकी एक तेज युवतीले डाङडुङ गरेर यति सजिलै लक्ष्मीप्रसादलाई प्रसिद्ध बनाइदिन्छे, त्यो विश्वसनीय लाग्दैन । प्याड बनाउने मेसिन निर्माण गर्ने प्रक्रिया, त्यसको मार्केटिङका काइदा र समाजमा लक्ष्मीप्रसादको कामले स्वीकार्यता पाएका जस्ता महत्त्वपूर्ण मोडमा फिल्मले निकै हतार गरेको छ । अनपढ लक्ष्मीप्रसाद जति चलाख र बुद्धिमान छन्, उसकी पत्नी त्यति नै निर्बुद्धि । उनको काम खाली लाज सरमको कुरा गर्ने र रुने मात्रै छ । र, फिल्मलाई अन्त्यमा जसरी लव ट्र्रयांगल बनाइएको छ, त्यो अनावश्यक छ ।

फिल्मको हाइलाइटचाहिँ हिरोले संयुक्त राष्ट्रसंघमा दिने टुटाफुटा अंग्रेजीको भाषण हो । फिल्मले भन्नुपर्ने कुरा हिरोलाई भाषण गर्न लगाउनु राम्रो त होइन तर यो भाषण रोचक भने छ । महिनावारीका समय महिलाको स्वास्थ्यबारे प्रश्न गरे पनि फिल्मले त्यसलाई ‘पाप’ वा अपराधका रूपमा गरिने व्यवहारमाथि भने कुनै प्रश्न गर्दैन ।


अभिनेताका रूपमा अक्षय कुमार यसमा सामान्य छन् । न त उनले आमिर खानले जस्तो एउटै फिल्मका लागि धेरै मिहिनेत गर्छन् न त मनोज बाजपेयी वा इरफान खानले जस्तो अभिनयमा कुनै नयाँ प्रयोगको जोखिम नै लिन्छन् । सामाजिक मान्यता र कुरीतिका कारण आफ्नी पत्नीसँग अलग हुनुपर्ने साधारण ग्रामीण पुरुषको भूमिकामा उनी गत वर्ष ‘ट्वाइलेट एक प्रेमकथा’ मा पनि देखिएका थिए । यी दुई फिल्मको कथामा समस्या वा द्वन्द्वको कारण फरक भए पनि कथाको संरचनामा खासै फरक छैन । राधिका आप्टेजस्ती प्रतिभाशाली कलाकारका लागि यो अर्को ‘काबाली’ हो, जसमा उनी पूर्णत: पुरुष स्टारको छायामा छिन् । लक्ष्मीप्रसादप्रति आशक्त आधुनिक युवतीको भूमिकामा सोनम कपुरको कुनै खास प्रभाव देखिँदैन ।


आर बाल्कीका यसअघिका फिल्मजस्तो नभए पनि आफ्नो समाजले भोगिरहेको ठूलो समस्याविरुद्ध आवाज उठाउने भएकाले यो फिल्मको अर्थ छ । यस्तो विषयको फिल्म एउटा स्टारको शक्तिमा भर नपरी प्रशस्त समय दिएर बनाइएको भए अझै राम्रो हुने थियो होला ।

– यज्ञश

प्रकाशित : फाल्गुन ४, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?