कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विकृतिमाथि व्यंग्य

राजनीतिका नाममा भइरहेको तमासा, विकासका नाममा देखिने सुस्तता हाँस्ने विषय होइनन् र ?
जनकराज सापकोटा

काठमाडौँ — शंकरदेव क्याम्पसमा बीबीए अध्ययनरत विनायक कुइँकेल र हालै नर्सिङमा स्नातक गरेकी 
मोरङकी रूप्सी बस्नेतको परिचय विद्यार्थीमै सीमित छैन । युट्युबमा छोटा कमेडी भिडियो बनाएर लोकप्रिय भइरहेका यी दुईको एउटै ठम्याइ छ, मान्छेलाई हँसाएरै धेरै कुरा बुझाउन सकिन्छ ।

विकृतिमाथि व्यंग्य

युट्युब च्यानल ह्वाई सो अफेन्डेड अनेकन पात्र र विभिन्न विषयमा देखिन्छन्, विनायक । यसका ३६ हजार बढी सब्सक्राइबर्स छन् भने भ्युअर्स १० लाख बढी । स्ट्यान्ड–अप कमेडीमा रुचि राख्ने विनायक कहिलेकाहीँ कक्षामा कला देखाउँथे । उनलाई युट्यबमा भिडियो अपलोड गरौंला भन्ने लागेको थिएन ।


आफैंले कक्षामा गरेको स्ट्यान्ड–अप कमेडी मोबाइलले खिचेर युट्युबमा राखेपछि उनी चर्चामा आए । अनि आफ्नै कक्षाका साथी रोजा ढुंगाना, सागर भट्ट र अर्का बुद्धिराज नगरकोटीसँग मिलेर नियमित भिडियो बनाउँदै युट्यबमा अपलोड गर्न थाले । विनायक प्रस्तुति गर्छन् । रोजा विषयवस्तु तयार पार्छिन् । सागर र बुद्धि प्राविधिक कार्य सघाउँछन् ।


रुप्सी भने ख्याल ख्यालैमा युट्युबमा आएकी हुन् । करिब एक वर्षअघिसम्म उनी खुबै युट्युब हेर्थिन् । एक दिन ख्यालख्यालैमा उनले स्न्यापच्याटमार्फत एउटा भिडियो बनाएर फेसबुक पेज वुमेन रुम्स रिलोडेड (डब्लुआरआर) पोस्ट गरिन् । धेरैले रुचाए । यस्तै भिडियो बनाएर युट्युबमा राख्दा काइदा हुने सुझाव बहिनीले दिएपछि रुप्सी नयाँ भिडियो बनाउनतिर लागिन् । उनको युट्युब च्यानल रुप्सी बस्नेतमा एक सय बढी भिडियो अपलोड भइसक्यो । सबै भिडियोका गरी एक करोड धेरैपल्ट हेरिएको छ । उनको च्यानलको सब्सक्राइबर पनि ६० हजार बढी छ ।

विनायक र रुप्सीको प्रस्तुतिमा विविधता छ । एकल शो भए पनि धेरै पात्रमा ढाल्दै उनीहरूले कथालाई रोचक बनाएर देखाइरहेका छन् । दुवैले एउटै भिडियोमा पनि धेरै भूमिका निभाउँछन् । पात्रहरूको विविध शैली र स्वरूप देख्दा यस्तो लाग्छ कि, हरेक पात्रको अभिनय फरक–फरक व्यक्तिले गरिरहेका छन् । उनीहरू परिवार, समाज र राजनीतिको द्वैध चरित्र र विसंगतिमाथि स्वस्थ तवरले व्यंग्य गर्न रुचाउँछन् ।


गजेडी केटा, सरकारी कर्मचारी, ट्यापे केटा, केटी जस्तोसुकै पात्रको अभिनयमा पनि विनायकलाई सहाएको छ । उनी पात्रअनुसार स्वरूप बदल्न कुनै कसुर बाँकी राख्दैनन् । उनले केटीको चरित्र निर्वाह गर्न नक्कली कपाल नै किनेका छन् ।


रुप्सी कहीले मम्मी बन्छिन्, कहिले भेनाजु त कहिले विवाहित महिला । उनी हरेक पात्रमा आफ्नो संवाद शैली, लवज र हाउभाउ फरक बनाउँछिन् । केटाका रूपमा देखिन उनले साइन–पेनले दाह्री बनाइन् । टेप टालेर जुँगा बनाइन् । उनको भिनाजु चरित्रलाई रुचाएर भिनाजु फ्यान पेज नै बनाइएको छ ।


उनी प्राय: पारिवारिक विषय र टिनएजको विषयलाई प्रस्तुत गर्छिन् । फेक ब्वाई फ्रेन्ड इपिसोडमा उनले ब्वाई फ्रेन्डको चरित्रमा विभिन्न किसिमका मनोदशा उतारेकी छन् । उनले घर–घरकी कहानीमा सिरियल शैलीमा २० वटा भिडियो बनाएकी छिन् । त्यसमा मध्यम वर्गीय नेपालीमा हुने पारिवारिक तनाव, असमझदारी र पुस्तान्तरको समस्यामा परेका छोरीहरूका अप्ठ्यारा देखाइएका छन् । गम्भीर विषयलाई पनि सामान्य शैलीमा मन छुने प्रस्तुति गर्नु नै रुप्सीको विशेषता हो । उनका विषय सामान्य छन् तर त्यसमा गहन अर्थ र व्यंग्य लुकेको छ ।


विनायक अक्सर राजनीतिक र सामाजिक विकृतिमाथि व्यंग्य कस्छन् । उनी कहिले प्रधानमन्त्री शेरबहादुर देउवाको शैलीमा प्रस्तुत हुन्छन् त कहिले आउँदै नआउने मेलम्चीको पानीलाई हाम्रो विकासको मोडल भन्दै व्यंग्य गर्छन् । कुतर्क गर्ने सरकारी कर्मचारी, गणतन्त्रका नाममा मच्चिरहेको डनतन्त्रजस्ता विषयलाई उनले अगाडि ल्याएका छन् ।


नेपाली समाजको अनौठो चरित्र देखेर विनायक छक्क पर्छन् । उनको बुझाइमा हामी ‘जोक’ सुन्दा पनि हाँस्दैनौं । हाँस्नुपर्नेमा पनि कहिलेकाहीँ सिरियस हुन्छौं । उनले सोधे, ‘राजनीतिका नाममा भइरहेको तमासा, विकासका नाममा देखिने सुस्तता हाँस्ने विषय होइनन् र ?’ उनी आफ्नो प्रस्तुतिमा व्यंग्य मात्रै मिसाउँदैनन्, हाँस्न बाध्य पार्दै तथ्य र तर्क पनि दिन्छन् । ‘पर्याप्त तर्कसहित हँसाउँदै आफ्नो विषयमा कन्भिन्स गराउनुपर्छ,’ उनले भने ।


उनी व्यंग्यको विषय अक्सर समाचारबाटै जुटाउँछन् । त्यसलाई प्रस्तुत गर्ने शैली, संवाद, तर्कहरू जम्मा गर्छन् । युवाले पनि राजनीतिक र सामाजिक विषय बुझ्नुपर्छ भन्ने बुझाइ राख्ने विनायक भन्छन्, ‘स्ट्यान्ड–अप कमेडी यसका लागि सबैभन्दा प्रभावकारी माध्यम हो ।’ उनले पनि आफ्नै कोठालाई स्टुडियो बनाएका छन् । उनी क्यानन सेभेन डी क्यामेरा आफंै चलाउँछन् । सम्पादन साथीले गर्छन् ।


रुप्सीको भने अनौठो बानी छ । उनले अहिलेसम्म स्क्रिप्ट लेखेकी छैनन् । उनी फुर्सदमा सोचेरै बस्छिन् । मान्छेहरूको कुराकानी र बोल्ने शैली ख्याल गर्छिन् । विषय पुग्यो भन्ने लागेपछि उनी कोठामा आफैं मोबाइलबाट भिडियो बनाउनतिर लाग्छिन् । विभिन्न किसिमका पात्रको भूमिकामा देखिन उनी स्न्यापच्याटको फिचर प्रयोग गर्छिन् । ‘साँच्चै कसरी विषय जुटाउँछु, आफैंलाई थाहा छैन । यसै सोची बसेका बेला फ्याट्ट फुर्छ,’ उनले भनिन् ।

[email protected]

प्रकाशित : फाल्गुन ४, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?