३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ग्लोबल प्रतिस्पर्धामा “प्रो मम”

विजय तिमल्सिना

काठमाडौँ — निश्मा अधिकारीले प्रस्ताव गरेको ‘प्रो मम’ एपको ‘आइडिया’ जीआईएसटी टेक–आईमा सेमिफाइनलका लागि छनोट भएको छ । उनले परिकल्पना गरेको एपले गर्भवती भएदेखि बच्चा दुई वर्ष भएसम्म आमा र बच्चाको स्वास्थ्यसम्बन्धी जानकारी दिने लक्ष्य राखिएको छ ।

ग्लोबल प्रतिस्पर्धामा “प्रो मम”

एक वर्षअघि इन्फर्मेसन टेक्नोलजीमा ब्याचलर सकाएकी निश्मा अधिकारीको दुई परिचय छ– आईटी व्यवसायी र केक व्यवसायी । उनी र उनको समूहले सञ्चालन गरेको आईटी कम्पनीले काठमाडौंका ‘हाइ इन्ड’ ग्राहकलाई सेवा दिन्छ । उनकै संलग्नता रहेको अर्को कम्पनी ‘नाइन केक’ ले कर्पोरेट केक अर्डर लिन थालेको छ । अहिले भने उनी आफ्नो कम्पनीको ग्राहक संख्या थप्नतिर होइन, आफ्ना लागि भोट माग्न व्यस्त छिन् ।


उनले पिच गरेको आइडिया एक अन्तर्राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल चरणमा छ र यो प्रतिस्पर्धामा अन्तिम १० भित्र पर्न उनलाई भोट चाहिएको छ । अमेरिकी सरकारी निकायले बर्सेनि आयोजना गर्ने ‘ग्लोबल इनोभेसन थ्रु साइन्स एन्ड टेक्नोलजी’ अर्थात् जीआईएसटी टेक–आई प्रतिस्पर्धाको उनी सेमिफाइनल चरणमा पुगेकी छन् । यो चरणमा उनीसहित ८० देशका एक सय नौ जना सहभागी छन्, जसलाई अन्तिम १० को सूचीमा छान्ने व्यवस्था भोटिङबाट गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयको यो अभियानलाई अमेरिकन एसोसिएसन फर द एड्भान्समेन्ट अफ साइन्स (एएएएस) ले सञ्चालन गर्दै आएको छ । उदाउँदो अर्थतन्त्र भएका मुलुकका साइन्स एन्ड टेक्नोलजी उद्यमीले यो प्रतियोगितामा आफ्ना आइडिया पिच (प्रस्तुत) गर्न पाउँछन् । निश्माले प्रस्ताव गरेको ‘प्रो मम’ एपको ‘आइडिया’ जीआईएसटी टेक–आईमा सेमिफाइनलका लागि छनोट भएको हो । उनले परिकल्पना गरेको एपले गर्भवती भएदेखि बच्चा दुई वर्ष भएसम्म आमा र बच्चाको स्वास्थ्यसम्बन्धी जानकारी दिने लक्ष्य राखेको छ ।


करिब दुई तिहाइ नेपालीले स्मार्टफोन प्रयोग गर्ने अनुमान छ । र, इन्टरनेट प्रयोगकर्ताको संख्या पनि सोही मात्रामा छ । उनको एपले यही आधारमा सहरी र दुर्गम गाउँका गर्भवती र उनका परिवारलाई आमा र बच्चाको स्वास्थ्यबारे जानकारी एपमार्फत दिने लक्ष्य राखिएको छ ।

एपका विशेषता के हुनेछन् ? ‘एपमा परिवारका हरेक सदस्यले उनीहरूको भूमिकाअनुसारको बेग्लाबेग्लै लग इन गर्न सक्ने सुविधा हुनेछ,’ निश्मा भन्छिन्, ‘हरेक व्यक्तिका लागि फरक–फरक जानकारी प्रदान गरिनेछ ।’ यसको अर्थ, गर्भवती महिलाले एपमा आफ्नो र बच्चाका लागि जानकारी पाउनेछिन् भने पति वा परिवारका अन्य सदस्यले उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीअनुसारको जानकारी एपमा पाउनेछन् ।


यस्ता जानकारीले गर्भवती र बच्चालाई पोषण, खोपलगायत अन्य स्वास्थ्यसम्बन्धी आवश्कता पूरा

गर्न सहयोग गर्ने उनको विश्वास छ । र, एपमा राखिएको जानकारी नेपाली र अंग्रेजी दुवै भाषामा

रहने भएकाले यसले सबै खालका मानिसलाई जानकारी प्रदान गर्न सक्ने निश्माको दाबी छ ।

उनी भन्छिन्, ‘यस्ता एप अरू पनि छन् तर प्रो मममा राखिने जानकारी नेपालको सन्दर्भसँग मिल्ने खालका हुन्छन् ।’


एपमा राखिने यस्ता जानकारी सम्बन्धित चिकित्सकको सुझावअनुसार हुने उनले बताइन् । उनको एप ‘प्रो मम’ अहिले निर्माणाधीन अवस्थामा छ । गर्भवती र नवजात शिशुसम्बन्धी काम गर्ने संस्थासँगको समन्वयमा एपलाई अधिकतम मानिससमक्ष पुर्‍याउने उनको योजना छ । प्रतियोगिताको अन्तिम १० मा छनोट भए उनले एक अनुभवी मेन्टरको सहयोगमा यो योजना कार्यान्वयन गर्नैपर्ने हुन्छ र यसका लागि उनले केही पुरस्कारसमेत पाउनेछिन् ।

twitter : @bjtimalsina

प्रकाशित : फाल्गुन ४, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?