कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

टुरबाट बिदा

‘मैले अविश्वसनीय जीवन पाएँ । तर जीवनले कुनै न कुनै मोडमा परिवर्तन त चाहन्छ नै ।’
हिमेश

काठमाडौँ — त्यो त एल्टन जोनसँग सिक्नुपर्छ । साँच्चै सर एल्टन जोन लगातार समाचारमा छन्, चाहे कारण राम्रो होस् अथवा नहोस् । जस्तो यसका पछिल्ला दुई उदाहरण नै । पहिलो– उनको कुकुरले सानो एउटा बच्चालाई टोकिदियो, पूरा सामाजिक सञ्जालमा उनको आलोचना भयो, तर समाचारमा रहे । दोस्रो अवसर भने विशेष रह्यो र धेरै हदसम्म अनुमान नै हो ।

टुरबाट बिदा

भर्खरै मात्र उनले लस भेगासमा हुने दुई कन्सर्टको समय सारेका छन् । कारण ? मे १९ मा प्रिन्स ह्यारी विवाह गर्दैछन्, मेगान मार्केलसँग । विवाहको मुख्य कार्यक्रम विन्डसर क्यास्टलमा हुनेछ र त्यहीं आफ्नो पियानोसँगै देखिन सक्नेछन्, एल्टन जोन । बेलायतको शाही परिवारमा केही ठूलो कार्यक्रम हुनुपर्छ, यी ७० वर्षीय गायक आफ्नो प्रस्तुतिका लागि पुगिहाल्छन् । त्यसो त लस भेगासको कार्यक्रम सार्नुपछाडि ठोस कारण दिइएको छैन, तर सबैको दाबी जस्तै छ, ठीक त्यति नै बेला उनी विवाहको कार्यक्रममा पक्कै हुनेछन् ।


धेरैले सम्झने छन्, प्रिन्सेस डायनाको अन्त्येष्टि र त्यसै अवसरमा उनले गाएका मार्मिक गीत । त्यति बेला ह्यारी सानै थिए, धेरै बुझ्न सक्ने उमेरमा पनि पुग्न सकेका थिएनन् । अब यिनै डायनाका कान्छा तथा प्रिय छोराको विवाहमा फेरि गाउने छन्, जुन साँच्चै सुन्न र हेर्न लायक अवसर बन्नेछ । यो सबै किन पनि विशेष भएको छ भने एल्टन जोनले घोषणा नै गरिसकेका छन्, यसपल्टको टुर अन्तिम हुनेछ, अब उनी बिदा लिँदैछन् ।


विश्वास नहुन सक्छ, उनले टुरमै ५० वर्ष बिताइसके । गायकको पनि संन्यास ? हुँदोरहेछ । केही समय अगाडि उनी न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै प्रस्तुत भए र घोषणा गरे, यलो ब्रिक रोड वल्र्ड टुरको । अनि घोषणा पनि गरे, यो नै उनको अन्तिम टुर हुनेछ । अबदेखि उनी टुरमा निस्कने छैनन् । त्यति बेला उनले घोषणा गरेका थिए, ‘अबदेखि म टुरमा देखिने छैन, किनभने अब यो काम मेरो लागि सजिलो पनि रहेन । त्योभन्दा पनि ठूलो मेरा उद्देश्य र कामहरू फेरिएका छन् ।’


उनको विश्व घुम्ने सोख पनि रहेन किनभने उनकै भाषामा उनका साना–साना बच्चा छन् । के एल्टन जोनले अब सबैखाले सिर्जनाबाट पनि संन्यास लिने त होइन ? त्यसो पनि होइन, सायद उनका केही नयाँ गीतको सम्भावना अझै छ । तर लगभग तीन सय कन्सर्टको यो अन्तिम टुर उनका लागि आफ्ना प्रशंसकबाट बिदा लिने अवसर पनि हुनेछ । उनी भन्छन्, ‘सायद मैले धेरै राम्रा सो गरें होला, तर अब यसैबाट बिदा लिने दिन पनि त पाएँ ।’


केही चर्चित गायक र ब्यान्डले टुरबाट बिदा लिने घोषणा गरेपछि उनीहरूले आफ्नो वचन फेरेका पनि छन्, तर कम्तीमा एल्टन जोनको प्रसंगमा भने यस्तो हुने छैन । खासमा उनी घरमै रहन चाहन्छन्, घरेलु हुन चाहन्छन् । ‘मैले अविश्वसनीय जीवन पाएँ । तर जीवनले कुनै न कुनै मोडमा परिवर्तन त चाहन्छ नै ।’ उनको यो सबै घोषणा पछाडिको एउटा प्रमुख कारण उनको स्वास्थ्य पनि हो, किनभने यसअघिका केही कन्सर्टका बेला उनी नराम्रोसँग बिरामी पनि परेका थिए ।

एल्टन जोन यौनबारेका विचारका लागि पनि उत्तिकै चर्चित छन् । उनी ‘सेम सेक्स म्यारिज’ का खास समर्थक हुन् र उनी अहिले यस्तै जीवन बिताइरहेका छन् । उनी आफ्ना पार्टनरलाई ‘हजब्यान्ड’ नै भन्न रुचाउँछन्, पार्टनर होइन । किनभने उनकै भाषामा पार्टनर शब्द त टेनिस जस्तो खेलमा मात्र सुहाउँछ । यी त सबै उनको आफ्नै जीवन र त्यस क्रममा उनले रोजेको विषय हुन् । हाम्रो सम्बन्ध त उनका गीत र प्रस्तुतिमै त हो । यलो ब्रिक रोड वल्र्ड टुर राम्रो र सफल होस् ।

twitter : @himeshratna

प्रकाशित : फाल्गुन ४, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?