१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

एउटा रङको फरक अर्थ

कालो सुपरहिरोको करामत ‘ब्ल्याक प्यान्थर’ मा देख्न पाइन्छ। अन्य सुपरहिरो फिल्मजस्तै यसले पनि बक्स अफिसमा आफ्नो झन्डा गाडिसकेको छ।
हेलो शुक्रबार

काठमाडौँ — भएजतिका सबै रङ एकै ठाउँमा मिसाइदियो भने त्यो कालो बन्छ। कालो यस्तो रङ हो जसले सबभन्दा धेरै प्रकाश सोस्छ। तर, कालोलाई धेरै ठाउँमा अशुभ वा खराब रङका रूपमा लिने गरिन्छ।

एउटा रङको फरक अर्थ

१५ औं शताब्दीमा युरोप (गोराहरूको क्षेत्र) मा औद्योगिक क्रान्ति भएपछि विस्तारै गोरो रङ सुन्दरताको प्रतीकका रूपमा मान्य हुँदै गयो। यसमा अमेरिका पनि थपिएपछि त गोरो सुन्दरमात्र होइन, शक्तिशाली पनि मानियो। गोरो वा सेतो रङको यही शक्ति मनोविज्ञानले महिलालाई ‘गोरी’ बनाउने क्रिमलगायतको ठूलो व्यापार सञ्जाल खडा भयो।

यहाँ कालो रङको यति कुरा किन गरिएको हो भने हलिउडमा सुपरहिरो फिल्मको पावरहाउस मार्वलले हालै निर्माण गरेको फिल्ममा सुपरहिरो कालो वर्णको छ। मार्वलका यसअघिका सुपरहिरो फिल्ममा नै ‘इन्टरड्युस’ भइसकेको भए पनि यो कालो सुपरहिरोको करामत ‘ब्ल्याक प्यान्थर’ मा देख्न पाइन्छ। अन्य सुपरहिरो फिल्मजस्तै यसले पनि बक्स अफिसमा आफ्नो झन्डा गाडिसकेको छ। त्योभन्दा बढी यो फिल्मले ‘पपुलर आर्ट’ मा कालो वर्ण र रङको राजनीतिलाई पनि बहसमा ल्याइदिएको छ। अमेरिका र युरोपमा दोस्रो दर्जाका भनेर हेपिने कालो वर्णका अफ्रिकीलाई यति शक्तिशाली सुपरहिरो बनाउनुलाई काला जातिको संघर्षको इतिहासमा एउटा कोसेढुंगा मानिएको छ। फेबु्रअरी १९ को अंकमा यही फिल्मबारे छापेको कभर स्टोरीमा विश्व प्रसिद्ध ‘टाइम’ म्यागजिनले फिल्मलाई क्रान्तिकारी भन्दै कोसेढुंगाको संज्ञा दिएको छ।

‘ब्ल्याक प्यान्थर’ अन्य सुपरहिरो फिल्मजस्तै सुत्रमा आधारित फिल्म हो। फिल्ममा हिरो सुरुदेखि नै हिरो छ, उ विशेष शक्ति सम्पन्न छ। वकन्डा नाम दिइएको अफ्रिकाको एक काल्पनिक देशको राजा टि’चाला यसको हिरो हो, जोसँग ब्ल्याक प्यान्थरको शक्ति, फुर्ती र युद्धकौशल छ। उसका बाबुले राजा हुँदा गरेको एउटा सानो गल्तीले परिवारमा फाटो आएको छ। परिवारकै एक सदस्य दुश्मन बनेको छ र उसलाई मनाएर राज्यलाई प्रगति पथमा लैजाने अभिभारा टि’चालामाथि छ। अमेरिकी गुप्तचर, हतियार व्यापारी माफिया र आफ्नै राज्यका विभिन्न जातिका नेताहरूलाई मिलाएर उसले कसरी यो जिम्मेवारी पूरा गर्छ भन्ने कथा ‘ब्ल्याक प्यान्थर’ मा छ।

‘ब्ल्याक प्यान्थर’ अफ्रिकाका जाति, जनजातिको इतिहास र संस्कृतिको वर्णन हो। अफ्रिकी जीवन शैली, वेशभूषा र भाषा कसरी समृद्ध थियो? यसको इतिहास किन गौरवशाली हो भन्ने कुरा यसले देखाउँछ। प्रकृति र संस्कृतिसँग मानिसको सम्बन्धलाई यसले प्रतीकात्मक रूपमा व्यक्त गर्छ। फिल्ममा तीन वटा संसार छन्। एउटा अहिलेको पहिलो विश्व (अमेरिका र कोरियाका विकसित सहर र सभ्यता)। दोस्रो अहिलेको अफ्रिका वा तेस्रो विश्व। र, तेस्रो काल्पनिक वकन्डा साम्राज्य। यस्तै, तह मुख्य पात्र टि’चालाको पनि छ। एक तहमा ऊ सुपरपावरले भरिएको सुटमा देखिन्छ। दोस्रोमा ऊ सैन्यशक्तिसहितको महत्त्वाकांक्षी र न्यायप्रेमी राजा देखिन्छ। तेस्रो तहमा भने ऊ अति सामान्य लडाकु र प्रेमीजस्तो मानिस देखिन्छ।

सुपरहिरो फिल्महरूमा अहिले हिरोलाई सामान्य मानिसजस्तो बनाउने क्रम बढिरहेको छ। केही विशेष शक्ति भए पनि उनीहरूको मानवीय पाटो दर्शाउनाले दर्शकको संवेदनासँग जोड्न यस्तो गर्न थालिएको मानिन्छ। ‘ब्ल्याक प्यान्थर’ यो मामिलामा निकै अगाडि छ। एउटा सुपरहिरो आफ्ना कुनै विशेष शक्ति प्रयोग नगरी भाला लिएर लड्छ, त्यो पनि राज्य प्राप्तिका लागि। ‘ब्ल्याक प्यान्थर’ ले हकको कुरा गर्छ। बजार र हस्तक्षेपको पनि कुरा गर्छ। आफ्नै राज्यभित्र र बाहिर पनि।

फिल्ममा दुइटा गोरा पात्र छन्। एउटा वकन्डाको स्रोत र सम्पदाको तस्करीमा संलग्न। र, अर्को सीआईए एजेन्ट। सीआईए एजेन्टलाई एउटा दृश्यमा वकन्डाकी राजकुमारीले ‘कोलोनाइजर’ (हस्क्षेपकारी) भनेर सम्बोधनसमेत गर्छे। यो पात्रमार्फत फिल्मले अफ्रिकाको स्रोत र सम्पदा ‘गोरा’ ले सोचेभन्दा धेरै ठूलो छ भन्ने सन्देश जारी गर्छ। अर्को एक दृश्यमा त उसलाई थर्काउन आदिवासीले आफ्नै भाषामा ‘हुटिङ’ गर्छन्।

निकै ठूलो राजनीति, इतिहास र हस्तक्षेपका विषय भए पनि फिल्मले परिवारको कथालाई पनि छोड्दैन। अमेरिकी सहरको एउटा अर्पाटमेन्टबाट सुरु भएको कथाको अर्को धागोलाई अन्त्यसम्म बाट्दै लगेर मुख्य कथामा बुनिएको छ। निर्देशक र्‍यान कुग्लरले अपनाएको यो शैली निकै सुन्दर छ। यसअघि ‘क्रिड’ को निर्देशन गरेका कुग्लरले फ्यान्टासी फिल्मलाई पनि मानवीय र राजनीतिक बनाएर आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। फिल्ममा टि’चालाको मुख्य भूमिकामा देखिएका चाड्विक बोसेम्यान यो भूमिकामा उत्तम छन्। उनको टक्करमा देखिएका माइकल बी जोर्डन उत्तिकै प्रभावकारी छन्। ‘१२ इयर्स अफ स्लेभ’ का लागि ओस्कर जितेकी लुपिता नोन्यो ‘ब्ल्याक प्यान्थर’ मा पनि उत्तिकै जमेकी छन्।

प्रकाशित : फाल्गुन ११, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?