कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

एकल यात्राको अनुभव

कान्तिपुर संवाददाता

काठमाडौँ — एक्लै घुम्ने चलन हामीकहाँ स्थापित भएको छैन। त्यसमाथि महिलाको एकल भ्रमण झनै दुर्लभ छ। तर, ‘नेपाली ट्राभलर्स’ ले यो दुर्लभता हटाउने उपाय निकालेको रहेछ। गत साल अठार महिलालाई देशका छेउकुना चहार्ने कार्यक्रम भयो। ‘सोलो वुमेन ट्राभल च्यालेन्ज’ अन्तर्गत सहभागीहरु एक्लाएक्लै भ्रमणमा निस्किए। उनीहरुमध्ये केहीका अनुभव :

एकल यात्राको अनुभव

“आत्मनिर्भर र आत्मविश्वासी”

जुलियाना श्रेष्ठ

मनपर्ने ठाउँ

१. अजयमेरुकोट, डडेलधुरा

२. काँक्रे विहार, सुर्खेत

३. लुम्बिनी, कपिलवस्तु

४. दोधारा–चाँदनी, कञ्चनपुर

५. तानसेन, पाल्पा

मैले डडेलधुराबाट यात्रा सुरु गरेकी थिएँ। एक महिनामा अछाम, महेन्द्रनगर, सुर्खेत, लुम्बिनी, पाल्पा, पोखरा, लहान, गाईघाट, इटहरी, धरान, धनकुटा, तेह्रथुम, इलाम र झापा घुमेर भ्याएँ। पहिलो पटक यति लामो यात्रा गर्दै थिएँ, सुरुमा डर लागेको थियो। गाडीमा महिला सिटको मात्रै टिकट लिन्थें। तर, जतिजति हिँड्दै गएँ र मान्छेसँग बोल्दै गएँ, डर हराउँदै गयो।

बहुसंख्यक मानिस सहयोगी र असल हुँदारहेछन् भन्ने बुझें। खराबहरूले चाहिँ मलाई ठग्न खोजे, धेरै पैसा माग्थे। एक्लै हिँडेको देखेर कोही छक्क परे, कसैले ‘काम नपाएको’ भने। अछामकी एक जना दिदीले ‘अबदेखि म पनि एक्लै सदरमुकाम जान्छु’ भनेको सुन्दा निशब्द बनें। उहाँ श्रीमान्बिना कतै जानुहुन्न रहेछ। पोखराबाट लहान पुग्दा मलाई सन्चो भएन। बान्ता आउला जस्तो, जीउ गलेजस्तो भयो। बेकार हिँडेछु भन्ठानें।

काठमाडौंमा जन्मे–हुर्केको मजस्तो मान्छेलाई नेपाल आयाताकारको छ भन्ने मात्र थाहा हुन्छ। गाउँ–ठाउँ पुगेपछि मात्रै यसको असली बनोट बुझिँदोरहेछ। नेपालीको रहनसहन, बानी–व्यहोरा मनपर्‍यो। एक्लै हिँड्नुका फाइदै–फाइदा देखें मैले। स्वतन्त्र भइने रहेछ। तत्काल निर्णय लिने क्षमता

बढ्यो, म आत्मनिर्भर र आत्मविश्वासी बन्न सकें। अब एकल भ्रमणलाई निरन्तरता दिइरहन्छु। हिमाली भेगको यात्रा सकेर दक्षिण एसियाकै कुनै देशमा एक्लै जाने योजना छ।



“ध्यान र अध्यात्मजस्तो”

जिस्वन तुलाधर

मनपर्ने ठाउँ

१. जोमसोम, मुस्ताङ

२. अन्नपूर्ण आधार शिविर, कास्की

३. अस्ट्रेलियन क्याम्प, कास्की

४. गोसाइँकुण्ड, रसुवा

५. पाँचपोखरी, सिन्धुपाल्चोक

मेरी ठूली छोरी १४ वर्षकी भई। कान्छी ५ वर्ष पुगी। म एकल यात्रामा जान लागेको कुरा ठूलीलाई मात्र थाहा थियो। उसले सपोर्ट गरी। अन्नपूर्ण बेस क्याम्प जानुभन्दा एक साताअगाडि श्रीमान्लाई भनें। उहाँले पत्याउनु भएन। पक्का भएपछि सुरुमा ‘के पाउँछौ यस्तो गरेर?’ भन्नुभा’थ्यो। पछि, नडराई जाऊ भनेर हौसला दिनुभयो।

यसअघि पनि फाट्टफुट्ट एकल यात्रा गरेकी थिएँ। जानुअघि उत्साह र डर दुवै पैदा हुन्छ। पाँचपोखरी यात्रामा बाटो भुलेर जंगलमा हराएकी थिएँ। अन्नपूर्णमा पनि त्यस्तै होला भन्ने डर थियो। तर, यो चल्तीका रुट भएकाले बाटो बिराइने खतरा कम थियो। म व्यस्त सिजन (अक्टोबर) मा यात्रा गर्दै थिएँ। होटलमा कोठा खाली नभएर हैरान। तर, मान्छेहरू कति जाती भने, म एक्लै आएकाले बन्दोबस्त मिलाइदिन्थे।

एकल भ्रमण ध्यान र अध्यात्मजस्तो लाग्छ। यसले हामीभित्रको क्षमता उजागर गरिदिन्छ। म दुवै छोरीमा घुम्ने बानी बसाल्न खोज्दैछु। तर, हचुवाको भरमा घुम्न निस्किनु हुँदैन। पर्याप्त तयारी गर्नुपर्छ। मैले आत्मरक्षाको तालिम लिएकी थिएँ। औषधि टर्च, चक्कु, ड्राई फ्रुटलगायत आवश्यक सामग्री बोक्नुपर्छ। मध्यरातमा जंगलतिर पुगियो भने के गर्ने? त्यसैले समय हिसाब गरेर हिँड्नुपर्छ। आफन्त वा कसैको सम्पर्कमा रहनुपर्छ।


“अद्भुत तिलिचो”

शर्मिला पुन

मनपर्ने ठाउँ

१. तिलिचो ताल, मनाङ

२. अन्नपूर्ण सर्किट

३. पुनहिल, म्याग्दी

४. मार्दी जंगल, कास्की

५. कोत देवल, बझाङ

म लमजुङमा बस्छु, यहाँको अन्नपूर्ण सर्किट प्रख्यात छ। मैले साथीहरूलाई यो रुटमा ट्ेरकिङ जाऊँ भनेर कत्ति भनें तर कोही मानेनन्। मलाई भने कहिले तिलिचो ताल पुगौं भइरहेको थियो। लेक लाग्छ, बाटो अप्ठ्यारो छ भनेको सुन्थें। त्यसैले तीन वर्षदेखि जाने आँट गर्नै सकिनँ।

पोहोर भने हिम्मत आयो। खुँदी, बाहुनडाँडा, धारापानी, चामे, मनाङ, मुस्ताङ, मार्फा, लेते, तातोपानी, घोरेपानी हुँदै पुन: लमजुङ फर्किएँ। तिलिचो पुग्दा अद्भुत महसुस भयो, त्यो बयान गर्नै जान्दिनँ। त्यहाँ दुई घण्टा बिताएँ, ४५ मिनेट त ताल मात्रै हेरेर बसें। जिन्दगीमा मैले आफ्ना लागि दिएको सबैभन्दा उत्कृष्ट उपहार त्यही थियो।

बाटोमा थरीथरीका मान्छे भेटें। एक्लै हिँड्नेलाई अचम्म मानेर हेर्नेहरू हुन्छन्। कोही ‘बाफरे’ भन्छन् त कोही ब्याग बोकिदिएर सहयोग गर्न तम्सिन्छन्। पुनहिलमा चाहिँ अनौठो प्रतिक्रिया पाएँ। मान्छेले मलाई ‘डिप्रेसन भएर एक्लै हिँडेको हो?’ भनेर सोधे। साथीसँग आएको भए फोटो खिच्दै, रमाइलो गर्दै हिँड्दा मज्जा हुन्थ्यो भन्ने सुझाव पनि पाएँ।

अरू त मतलब थिएन, कसैले सताउँछ कि भन्ने डर थियो। त्यस्तो भएन। हामी बढी नकारात्मक सोच्दा रहेछौं। घुम्नका लागि हाम्रो देश एकदम सुरक्षित छ। मलाई ठूला होटलभन्दा होमस्टे मनपर्छ। मनाङको न्यावल गाउँमा एक दिन मात्र बस्ने योजना थियो। तर, त्यहाँको परिवारले छोरीलाई जस्तो माया दियो अनि म थप एक दिन बसें।


“डर भ्रम साबित”

सानिया गिरी

मनपर्ने ठाउँ

१. लुम्बिनी, कपिलवस्तु

२. रानीमहल, पाल्पा

३. थबाङ र जलजला, रोल्पा

४. धारापानी मन्दिर, दाङ

५. स्वर्गद्वारी, प्यूठान

एक्लै घुम्दा कस्तो होला भन्ने कौतुहल थियो। पहाड/हिमालका फोटाहरू देख्दा जान मन लाग्थ्यो। काममा एकदम व्यस्त भएकाले ‘ब्रेक’ लिन मन थियो। यिनै कारणले मैले काठमाडौं छोड्न जोड दिएँ। दाङ, रोल्पा, प्यूठान, पाल्पा र लुम्बिनी घुमें। २१ दिनको यात्रा थाल्नुअघि ‘सक्छु त?’ भन्ने लागेको थियो। तर, चोर्ला, लुट्ला, अपहरण गर्ला वा जथाभावी होला कि भन्ने हाम्रो डर अनावश्यक रहेछ।

एकल भ्रमण विशुद्ध एक्लो हुँदैन। हामी वरिपरि मान्छे भइहाल्छन्। नयाँ मान्छेसँगै बोल्दै हिँड्दा थुप्रै कुरा सिक्न, बुझ्न पाइन्छ। यात्रीले नयाँ परिवेशमा आफूलाई घुलमिल गर्न सक्नुपर्छ। स्थानीयसँग संवाद गर्न मज्जा लाग्यो मलाई। कतिपय ठाउँमा चाहिँ दुव्र्यवहार होला कि भनेर तर्सिन्थें। तर, जोसँग डरायो उसैले सम्मान देखाएको पाउँदा मेरो डर भ्रम साबित भइरह्यो। नेपालीहरू असाध्यै मित्रवत् हुँदारहेछन्।

दाङको लमहीमा थारू परिवारको घरमा बास मिलाएकी थिएँ। फोनबाट तपाईंकहाँ आउँदै छु भनें। त्यहाँ पुग्दा छक्क परें। उहाँहरूले मेरा लागि अनेक थरी परिकार बनाएर राख्नुभएको थियो। अपरिचितलाई त्यस्तो सत्कार १ फर्किने बेला ‘माघीमा आउनु’ भन्नुभयो। रोल्पामा ३३ वटा परिवार एकै घरमा बसेको देखें। माओवादी द्वन्द्वकालदेखि उहाँहरू एक हुनुभएको रहेछ। सुरुमा मैले ४३ हजार रुपैयाँ लागत अनुमान गरेकी थिएँ। घुमेर फर्किंदा जम्मा १५ हजार सकियो।

प्रकाशित : फाल्गुन ११, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?