२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

उज्यालो नेपाल

गत साता पुल्चोकमा आयोजित ‘आईओई रोबोकन २०१८ : उज्यालो नेपाल’ मा रोबोटहरुले सोलार प्यानल सफा गर्नुपर्ने थिममा प्रतिस्पर्धा गरेका थिए। थापाथली इन्जिनियरिङ क्याम्पसको समूहले सफलता हात पारेको प्रतियोगितामा उसलाई पश्चिमाञ्चल क्याम्पसको रोबोटले कडा टक्कर दिएको थियो।
विजय तिमल्सिना

काठमाडौँ — ठमाडौंमा बर्सेनि विभिन्न थिममा रोबोटिक्स प्रतिस्पर्धा आयोजना हुन थालेका छन् र हरेक प्रतियोगिताका थिमले नयाँ–नयाँ समस्या समाधान गर्ने रोबोट बनाउने उद्देश्य राखेका हुन्छन्।

उज्यालो नेपाल

गत साता ललितपुरको नेपाली सेना शारीरिक प्रशिक्षक केन्द्रमा आयोजित ‘आईओई रोबोकन २०१८ : उज्यालो नेपाल’ मा थापाथली क्याम्पसका विद्यार्थीको समूह विजयी भएको थियो। प्रतियोगितामा सहभागी रोबोटहरूले सोलार प्यानल सफा गर्नुपर्ने थिम राखिएको थियो। थापाथली इन्जिनियरिङ क्याम्पसको रोबोटिक्स एन्ड अटोमेसन सेन्टरबाट प्रतिनिधित्व गरेको टोली प्रतिस्पर्धामा पहिलो बनेको हो। प्रतियोगितामा नौ वटा इन्जिनियरिङ क्याम्पसका समूह सहभागी भएका थिए।

सोलारबाट नियमित ऊर्जा प्राप्त गर्न यसको प्यानललाई नियमित सफा गर्नुपर्ने भएकाले यही समस्या समाधान गर्नका लागि वर्षको थिम छानिएको कार्यक्रमका संयोजक दिवस आचार्यले बताए। इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको सेन्टर फर एप्लाइड रिसर्च एन्ड डेभलपमेन्ट तथा पुल्चोक रोबोटिक्स क्लबले संयुक्त रूपमा प्रतियोगिता सञ्चालन गरेको हो।

प्रतियोगितामा सहभागी टोलीले दुई रोबोट बनाउनुपर्ने थियो। पहिलो रोबोटले विभिन्न अप्ठ्यारो पार गर्दै अर्को रोबोटलाई सोलार प्यानलसम्म पुर्‍याउने र दोस्रो रोबोटले सोलार प्यानल सफा गर्नुपर्ने प्रतियोगिताको थिम थियो। एक रोबोट अटोमेसनमा आधारित हुनु अनिवार्य थियो। थापाथली क्याम्पसको टोलीले बनाएको सानो रोबोट सोलार प्यानलमा चढेर पंखाले धूलो सफा गर्न सक्षम देखिएको छ।

थापाथली क्याम्पसबाट सहभागी टोलीमा सुशील चपाईं, अभिषेक पाण्डे, रुकेश गुसैन, दिपेश श्रेष्ठ, विचारदीप श्रेष्ठ गुरुङ र शिव अर्याल सहभागी थिए। सोही क्याम्पसका माधव हुमागाईं समूहको मेन्टरका रूपमा प्रतिस्पर्धामा संलग्न भएका थिए। यो टोलीले बनाएको रोबोटले अन्य रोबोटभन्दा चाँडो तोकिएको काम गर्न सकेकाले पहिलो भएको थियो। उसलाई पश्चिमाञ्चल क्याम्पसको रोबोटले टक्कर दिएको थियो।

प्रतियोगितामा आफ्नो समूह सहभागी बने पनि रोबोट बनाउने काममा आफ्नो क्याम्पसका रोबोटिक्स एन्ड अटोमेसन सेन्टरका धेरैको योगदान रहेको मेन्टर हुमागाईं बताउँछन्। ‘जुन प्रतियोगितामा सहभागी हुँदा पनि हामी सबै मिलेर रोबोट बनाउँछौं र सबैभन्दा धेरै संलग्नहरू प्रतियोगितामा जाने गर्छौं,’ उनी भन्छन्, ‘यसरी गर्दा सबैको आइडिया समेट्न सकिन्छ र राम्रो नतिजा निस्कन्छ।’ त्यस कारण नेपालमा आयोजना हुने रोबोटिक्स प्रतियोगितामा आफ्नो क्याम्पसबाट सहभागी टोलीले कुनै न कुनै पुरस्कार जितिरिहेको उनको अनुभव छ।

थापाथली क्याम्पसको टोली केही महिनाअघि आयोजित ‘यन्त्र’ मा अटोमेटिक अखडा विधातर्फ प्रथम भएको थियो। उक्त प्रतिस्पर्धामा विजयी टोलीले भारतमा आयोजित अर्को रोबोटिक्स प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो।

उज्यालो नेपालको यो आठौं संस्करण हो। अघिल्लो वर्ष आयोजित प्रतियोगितामा ‘जर्नी टु मुस्ताङ’ थिम राखिएको थियो र यसको विजेता ख्वप इन्जिनियरिङ क्याम्पस बनेको थियो। अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता ‘एबीयू रोबोकोन’ जस्तै नेपालमा यस प्रतियोगिता आयोजना गरिएको आचार्य बताउँछन्। हरेक वर्ष एसियाको फरक–फरक देशमा आयोजना हुने यो प्रतियोगितामा प्राय: बर्सेनि नै नेपाली टोली पनि सहभागी हुने गरेको छ।

उज्यालो नेपालको यो संस्करणमा पश्चिमाञ्चल क्याम्पसले उत्कृष्ट आइडिया अवार्ड, कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेजले उत्कृष्ट इन्जिनियरिङ अवार्ड र ख्वप इन्जिनियरिङ कलेजले पिपुल्स च्वाइस अवार्ड जितेका थिए।

प्रतियोगितामा उपविजेता भएको पश्चिमाञ्चल क्याम्पसका टिम क्याप्टेन रामकृष्ण लामिछाने आफ्नो रोबोटमा अन्तिम समयमा समस्या आएकाले दोस्रोमा सीमित हुनुपरेको बताउँछन्। ‘पहिलो राउन्डमा हामीले जितेका थियौं,’ उनले भने, ‘तर, अन्तिम राउन्डमा रोबोटको पुलीमा समस्या आएपछि दोस्रोमा पुग्यौं।’ क्याम्पसको रोबोटिक्स क्लबलाई प्रतिनिधित्व गर्दै उनको टोली प्रतियोगितामा सहभागी भएको थियो।

प्रकाशित : फाल्गुन ११, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?