सुरु भयो सिजन

सुबास हुमागाईं

काठमाडौँ — जाडो याम सकिएसँगै नदीहरूमा र्‍याफ्टिङ गर्नेहरू देखिन थाल्छन् । नेपालमा 
र्‍याफ्टिङको दुई सिजन हुन्छ । एउटा सिजन मार्चबाट सुरु हुन्छ भने अर्को अक्टोबर अन्त्यदेखि । अहिले र्‍याफ्टिङका लागि मौसम अनुकूल भइसकेको छ र रिभरगाइडहरू पनि व्यस्त हुन थालिसकेका छन् ।

सुरु भयो सिजन

प्राकृतिक सम्पदाका लागि विश्वमै प्रख्यात रहेको नेपालका नदीहरू पनि आकर्षक छन् । विशेषगरी साहसिक यात्राका लागि । यसैको रमाइलो अनुभव गर्न हजारौं विदेशी बर्सेनि आउने गर्छन् । सरकारले र्‍याफ्टिङका लागि १५ नदीमा स्वीकृति दिएको छ । तर ती सबैमा व्यावसायिक तवरले र्‍याफ्टिङ सञ्चालन भइसकेको छैन ।


केही नदी नयाँ र्‍याफ्टरका लागि पनि सहज छन् भने केही नदीमा प्राविधिक रूपमा निपुण र्‍याफ्टर नै आवश्यक पर्छन् । नेपाली नदीमा अभ्यस्त र्‍याफ्टरको माग विदेशमा पनि उच्च रहेको छ । हजार बढी नेपाली रिभरगाइड विश्वका विभिन्न नदीहरूमा कार्यरत छन् ।


साप्ताहिक बिदा मनाउन नदीतिर सोझिने नेपाली पनि बढ्दै छन् । पारिवारिकदेखि शैक्षिक भ्रमणसम्मको पनि रमाइलो गर्ने, अनुभव बटुल्ने रोजाइ र्‍याफ्टिङ बन्न थालेको छ । अचेल एड्भेन्चर क्याम्प पनि सञ्चालन गरिन्छ । आफ्ना कर्मचारीलाई चुस्त राख्न कार्यालयहरूले पनि यस्ता भ्रमणको प्याकेज ल्याउने गर्छन् । पौडिन नजान्नेहरूले पनि र्‍याफ्टिङ गर्न सक्ने भएकाले पनि यसको लोकप्रियता वृद्धि भइरहेको छ ।

काठमाडौंबाट झन्डै १ सय किमिमा रहेको त्रिशूली नदी आन्तरिक तथा विदेशी पर्यटकहरूको पहिलो रोजाइ हुने गर्छ । त्यसैले यस नदी र्‍याफ्टिङको सिजनमा रंगीन देखिन्छ । एक वा दुई दिनको प्याकेज लिएर त्रिशूलीमा रमाउन आउनेको चाप बढिरहेको फिस्लिङस्थित गोर्खा बिच एड्भेन्चर रिसोर्टका व्यवस्थापक मनीष थापाले बताए ।


‘आन्तरिक पर्यटकको संख्या वृद्धि भइरहेको छ । काठमाडौं, पोखरा र चितवनबाट पायक पर्ने हुनाले पनि यहाँ (त्रिशूली) आउनलाई सजिलो छ,’ थापाले भने । सामान्य अवस्थामा सातामा ७०–८० जना आगन्तुकलाई सेवा दिइरहेको उनले बताए । यो संख्या सिजनमा बढी हुन्छ नै । त्रिशूलीमा र्‍याफ्टिङ गर्न स्वदेशीका लागि खाने–बस्ने सुविधासहित दुई दिनको प्याकेजको करिब तीन हजार रुपैयाँ पर्छ । यही प्याकेज विदेशीलाई ५० अमेरिकी डलर पर्छ ।


र्‍याफ्टिङका लागि आकर्षक ५ गन्तव्य

१. त्रिशूली

चरौंदी–गाईघाट/फिस्लिङ

दूरी : काठमाडौंबाट बसमा ३ घण्टा


२. भोटेकोसी

लामोसाँघु–दोलालघाट

दूरी : काठमाडौंबाट बसमा ५ घण्टा


३. माथिल्लो सेती

बाँसपुल–ड्याम

दूरी : पोखराबाट बसमा ३० मिनेट


४. तल्लो सेती

दमौली–गाईघाट

दूरी : पोखराबाट बसमा १ घण्टा


५. मस्र्याङ्दी

भुलभुले–साँघु

दूरी : काठमाडौंबाट बसमा ६ घण्टा

@SubasTheOne

प्रकाशित : फाल्गुन १८, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?