कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाइडको मुन्धुम मोह

दृश्यावलोकनका लागि टेम्केडाँडा पुनहिलभन्दा कम छैन । टेम्केबाट आठ हजार मिटरमाथिका सात हिमाल सिसापाङ्मा, चोयु, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, मकालु, कञ्चनजंघाका लोभलाग्दा दृश्यहरु नियाल्न सकिन्छ ।

काठमाडौँ — सोलुखुम्बुमा जन्मिएका इन्सुहाङ राई २०५५/०५६ सालताका एसएलसी सकेर संगीत सिक्ने चाहले काठमाडौं छिरेका थिए । उनलाई सानैदेखि गीत–संगीतमा रुचि थियो ।

गाइडको मुन्धुम मोह

गाउँमा सांगीतिक कार्यक्रममा भाग नलिएको कुनै कार्यक्रम हुँदैनथ्यो । संगीतमा भविष्य राम्रो भनेको सुनेपछि उनी १७ वर्षको छँदा काठमाडौं छिरेका थिए ।

तर कथा यथार्थ फरक भयो । संघर्ष गरेअनुसार उनले संगीतमा फल पाएनन् । मुख्यत: आर्थिक समस्या पर्‍यो । अनि उनी मोडिए । नासेचिएको पेसा टुरिस्ट गाइडतिर लागे । ‘सुरुमा संगतले आएँ । अहिलेचाहिँ यस पेसाप्रति पागल नै भएको छ । यति राम्रो काम अरू छैन जस्तो लाग्छ,’ उनले भने ।

हिमाली जिल्ला सोलुखुम्बुमा शेर्पाहरूको बाहुल्य छ । यहाँका शेर्पाहरूको मुख्य पेसा पर्यटकका भारी बोक्ने र उनीहरूलाई डुलाउने हो । इन्सुलाई पनि शेर्पाहरूकै संगतले गाइड बनाइदियो । उनी पदयात्रा (ट्ेरकिङ) र पर्वतारोहण (माउन्टेनियरिङ) दुवैका गाइड हुन् । उनलाई यो काम अन्तर्राष्ट्रिय सम्बन्ध बढ्ने, कमाइ हुने, इज्जत हुने, सबै हिसाबले राम्रो लाग्छ ।

गाइडको पहिलो ५/६ वर्ष उनले भरियाका रूपमा बिताए । ‘त्यसबेला बुझियो पर्यटकले जीवनमा कति आनन्द लिँदारहेछन् भन्ने, त्यसपछि मैले गाइडको तालिम लिएँ,’ उनले भने । उनलाई ट्रेकिङ गाइड सहज लाग्छ भने पर्वतारोहण गाइड जोखिमपूर्ण । उनी फ्रेन्च, जापानिज, चाइनिज, युरोपियन पर्यटकहरूलाई गाइड घुमाउने काम गर्छन् । उनी फ्रेन्च, जापानिज, अंग्रेजी भाषा बोल्छन् । गाइडका लागि भाषा र जस्तोसुकै परिस्थितिमा पनि जुध्न सक्ने क्षमता हुनुपर्ने उनको अनुभव छ । आधुनिक प्रविधिसँग पनि उत्तिकै अपडेट हुनुपर्छ ।

कामको चापमा छुट्टी मनाउन शान्त र सुन्दर ठाउँको खोजी गर्दै नेपाल आउने पर्यटक धेरै भएको उनले बताए । ३९ वर्षीय उनले एक जनादेखि २२ जनाको टिमलाई ट्रेकिङमा लगेका छन् । उनी मुस्ताङ, अन्नपूर्ण क्षेत्र, सगरमाथा बेसक्याम्प, लाङटाङ क्षेत्रमा एक सिजनमा ३/४ पटकसम्म पुग्छन् । १५ दिनको यात्रामा ५०–६० हजार कमाइ हुने उनले बताए । एक ट्रेकमा ५–६ लाखसम्म पनि आर्जन हुन्छ । उनले कुकिङ, क्लाइम्बिङ, लिडरसिपलगायतको तालिम पनि लिएका छन् । ‘अहिले पनि पुनर्ताजगीका लागि तालिम लिने गर्छु,’ उनले सुनाए । उनी ट्रेकिङ एन्ड माउन्टेनियरिङ गाइडका संस्थापक अध्यक्ष पनि हुन् । अरू थुप्रै संस्थामा पनि आबद्ध छन् ।

पर्यटक घुमाउने काममा लागे पनि उनको संगीत मोह भने मरेको छैन । नुम्बुरमा हिउँ पर्दा खुसी यो मनभरि, तिमीलाई माया दिन्छु, काइँयोले कपाल कोरी लगायत दर्जन बढी गीत उनले गाएका छन् । ‘पहिले आर्थिक अभावले गायन व्यवस्थापन गर्न सकिएन । अहिले समय अभावले,’ उनले भने । उनले अग्ला स्थानमा हुने कन्सर्टमा गीत पनि गाइरहेका छन् । उनले पहिलो लाइभ कन्सर्ट १७ वर्षअघि नाम्चेबजारमा गरेका थिए । नाम्चेमै सन् २००४ मा चर्चित गायकहरू राजु लामा, धीरज राई, आप्पा शेर्पा, शान्तिराम राई, आनन्द कार्कीसँग पनि उनले गाएका थिए । दुई वर्षअघि ६ हजार ४ सय ७० मिटरको मेरापिकमा पनि लाइभ कन्सर्ट गर्न भ्याए । त्रिशूली किनारमा पनि गीत गाइसकेका उनका २० वर्षीय छोरा गायक बन्ने प्रयासमा छन् ।

उनी पर्यटकीय गन्तव्यहरूको खोज–अनुसन्धानमा पनि सक्रिय छन् । ०५६/०५७ सालतिर नाम्जेबजारमा बेकरी स्थापनामा पनि उनको हात छ । उनले भारतको लद्दाक, चीनको तिब्बतमा पनि काम गरेका छन् । अहिले नेपालमा १८ हजार बढी गाइड छन् । इन्सु भोजपुरका पर्यटकीय क्षेत्रलाई उजागर गर्नुपर्ने अभियानमा पनि लागेका छन् । परम्परागत पर्यटकीय गन्तव्यको विकल्प आवश्यकता भइसकेको उनको बुझाइ छ । ‘पर्यटक भित्र्याउन नयाँ गन्तव्यहरू पनि पहिल्याउनुपर्छ,’ उनले भने ।

पर्यटकहरूलाई आफ्नो अघिपछि लगाएर कहिले अन्नपूर्ण क्षेत्र त कहिले सगरमाथा बेसक्याम्प तथा मनास्लु पुग्न व्यस्त हुने उनी हालै पूर्वी पहाडको ‘कर्णाली’ का रूपमा प्रख्यात भोजपुर पुगेका थिए । उनले समुद्री सतहदेखि ३१ सय मिटर उचाइमा रहेको टेम्केडाँडादेखि मैयुङ हाँसपोखरी, साल्पा सिलिचुङसम्मको ट्रेकिङ रुटको सम्भावना नियालेका थिए । दृश्यावलोकनका लागि टेम्केडाँडा पुनहिलभन्दा कम नभएको उनले बताए । ‘टेम्केबाट आठ हजार मिटरमाथिका सात हिमाल सिसापाङ्मा, चोयु, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, मकालु, कञ्चनजंघाका लोभलाग्दा दृश्यहरू नियाल्न सकिन्छ,’ उनले भने, ‘त्यस्तै, लाङटाङ, रोल्वालिङ क्षेत्रका साना–ठूला ३२ हिमाल पनि यहाँबाट हेर्न सकिन्छ ।’ सूर्योदय र सूर्यास्तको आकर्षक दृश्य अवलोकन गर्नका लागि टेम्के लोभलाग्दो स्थान भएको पनि उनले बताए ।

मुन्धुम ट्रेल रुटको मुख्य विशेषता र आकर्षण भनेको नेपालमा कम उचाइबाटै देख्न सकिने मनमोहक दृश्यावलोकन हो । कम्तीमा १९ सय मिटरदेखि बढीमा ४ हजार १ सय ५६ मिटरको उचाइमा रहेको यो रुट बाहै्र महिना पर्यटक जान र लान सकिन्छ । यहाँको हरेक सिजन आफ्नै आकर्षण छन् । जस्तै– धार्मिक, सांस्कृतिक, जैविक विविधता । किरात राईहरूको बाहुल्य रहेकाले साकेला सिलीले थप मनोरमता थप्न सकिन्छ । हिमाल चढ्न नचाहने तर एकै ठाउँबाट धेरै हिमालको अवलोकन गर्न चाहनेका लागि मुन्धुम ट्रेल सबभन्दा राम्रो विकल्प भएको इन्सुले बताए ।

‘पहिले विदेशी पर्यटक १५–२० दिनका लागि नेपाल घुम्न आउने गर्थे । अहिले छोटो अवधिका लागि आउँछन्,’ उनले भने, ‘छोटो अवधिका नयाँ गन्तव्य खोज्नुपर्ने भएको छ । अव्यवस्थित सडक विस्तारले पनि पदमार्गको आकर्षण घटेको छ । त्यसैले पदमार्ग र सडकलाई बेग्लाबेग्लै किसिमले विस्तार गर्नुपर्छ ।

प्रकाशित : चैत्र २, २०७४ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?