कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ गायक

काठमाडौँ — आरजेबाट भीजे बनेका नारायण कडरिया अब गायक भएका छन् । उनको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । उनले गाएका मात्रै छैनन्, कम्पोज, संगीत साथसाथै अभिनयमा पनि आफैं अगाडि आएका छन् ।

नयाँ गायक

बोल्ड आवाजका कारण रेडियो र टीभीका श्रोतामाझ नारायणको अलग्गै छवि छ । दमदार आवाजका धनी नारायण अनुभव साट्छन्, ‘आफ्नो गायनप्रति ठूलो अपेक्षा छैन, प्रयत्न मात्रै गरेको छु ।’ झापाको देहाती गाउँ बाहुनडाँगीका नारायणले रेडियोबाट करिअर सुरु गरेका हुन् ।

उनी सिमाना एफएममा काम गर्दै थिए । जिन्दगी जेनतेन चलेकै थियो । तर, सञ्चारमाध्यममा छाउने यिनको भोक बढ्दै गयो । सात वर्षअघि राजधानी उक्लिए । रेडियोबाट आएका उनले सुरुमै टीभीमा काम गर्ने मौका पाए । कान्तिपुर टीभीको लोकप्रिय कार्यक्रम ‘रजतपट’ मा यिनको स्वर सुनिन थाल्यो । रजटपटमा केही समय काम गरेपछि सगरमाथा टीभीमा ‘प्ले इट अन’ कार्यक्रम चलाए । उनी आफैंले डिजाइन गरेको यो कार्यक्रम लोकप्रिय भयो । तर, प्ले इट अनमा यिनको यात्रा लामो भएन । उनले एनटीभी प्लसमा ‘युथ टक शो’ चलाए । अनि गायन रोजे ।

नारायणमा फाट्टफुट्ट गीत लेख्ने, कम्पोज पनि गर्ने बानी थियो । एक वर्षअघि अनायासै एउटा गीत फुर्‍यो, ‘जाम पारि पारि, कसैले नदेख्ने ठावैमा...’ । फुरेको गीतलाई पूरा गर्न केही समय लाग्यो । कम्पोज पनि आफैं गरे । कालीप्रसाद बाँस्कोटा, शिव परियारलगायतका संगीतकार/गायकलाई पनि सुनाए । दुवैले मन पराए ।

गीत सुनेर कालीप्रसादले प्रतिक्रिया दिएछन्, ‘यो गीत नेपाली जनजिब्रोमा झुन्डिने खालको छ ।’ यस प्रतिक्रियाले नारायण हौसिए । सुरुमा कालीप्रसादलगायतका अहिलेका चर्चित गायकलाई पो गाउन दिने कि भन्ने सोचेछन् । तर, केही साथीहरूको सुझावपछि उनी आफंै गाउन तयार भए । नयाँ अनुभव सँगाल्दै गीत रेकर्ड गराए । जमाना गीत सुन्नेभन्दा हेर्ने छ । अनि म्युजिक भिडियो पनि बनाए । लोकप्रिय नायिका केकी अधिकारीसँग आफैं अभिनयको अनुभव लिए । ‘गायक आफंै भएपछि अभिनयको मोह पनि भयो,’ नारायणले सुनाए ।

–पर्वत

प्रकाशित : चैत्र २, २०७४ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?