स्टेवार्टको चाहना

बेलायती गायक रड स्टेवार्टले नयाँ एल्बमको काम लगभग पूरा गरिसकेका छन् र यसको नाम पनि जुराइसकेका छन् ‘ब्लड रेड रोजेस ।’ नयाँ एल्बम रिलिजको दिन भने तोकिएको छैन ।

काठमाडौँ — रड स्टेवार्टको स्वर अरूको भन्दा धेरै फरक छ, यसमा कुनै शंका छैन । त्यसैले त उनी धेरैका लागि विशेष छन् । त्यसमाथि उनको ‘हेयर स्टाइल’ पनि विशेष छ र ५० वर्षदेखि उनी यसमै कायम छन् ।

स्टेवार्टको चाहना

यी बेलायती रक गायकले गाउन थालेको पनि धेरै भयो । बूढा पनि भए, स्टेवार्ट । हेर्दाहेर्दै ७३ वर्षका भइसकेका छन् । तर लाग्छ, उनको संगीतप्रतिको जोस भने उस्तै छन्, युवाजत्तिकै । केही न केही नयाँ गरिरहने उनको बानी नै छ । त्यसैले त उनले घोषणा गरेका छन्, ‘म नयाँ एल्बमको तयारीमा छु । प्रतीक्षा गर्नुहोला ।’

नयाँ एल्बम, उत्सुकता त हुने नै भयो । र, यो विशेष पनि हुनेछ । यस्तो किन भन्दा यो स्टेवार्टको ३० औं एल्बम हुनेछ । त्यसो त यो वर्ष उनी निकै व्यस्त पनि रहनेछन् । सिन्डी लपरसँग उनको लगातार कन्सर्ट गर्ने कार्यक्रम छ । दुई वर्ष भयो, उनी यी गायिकासँग मिलेर सँगै कन्सर्ट गरिरहेका छन्, जुन धेरैले मन पराएका पनि छन् । तर त्यसको अर्थ उनी स्टुडियोबाट टाढा रहने भन्ने पनि होइन । खासमा उनले नयाँ एल्बमको काम लगभग पूरा गरिसकेका छन् र यसको नाम पनि जुराइसकेका छन् ।

र, यो हो, ‘ब्लड रेड रोजेस ।’ नयाँ एल्बम रिलिजको उनले निश्चित दिन भने तोकेका छैनन् । सन् २०१५ मा उनको अन्तिम एल्बम निस्केको, ‘एनोदर कन्ट्री’ को नाममा । नयाँ एल्बमलाई लिएर स्टेवार्ट स्वयम् पनि उत्साहित छन् । उनले हालैको अन्तर्वार्तामा भनेका छन्, ‘त्यसो त यो मेरो एल्बमबारे म आफैं बोलिरहेको छु । तर यो पक्का हो कि यो राम्रो छ ।’ उनले भने जस्तै यसमा १२ गीत हुनेछन्, त्यसमध्ये ११ गीत उनी आफैंले लेखेका हुन् ।

खासमा स्टेवार्टको विशेषता नै यही हो । उनी जति राम्रा गायक हुन्, उत्तिकै राम्रा गीतकार पनि । भनिन्छ, आफ्नै शब्दमा गीत गाउँदा त्यसले दिने मज्जा बेग्लै हुन्छ । धेरै अर्थमा यो भनाइ स्टेवार्टमा मिल्छ । अब प्रश्न, के उनले लपरसँगको टुरमा यी नयाँ गीत प्रस्तुत गर्नेछन् त ? उनको उत्तर रहेको छ, छैन । यसका लागि उनले विशेष कारण पनि दिएका छन् । उनकै भाषामा, नयाँ गीतलाई एकैपल्ट कन्सर्टमा प्रस्तुत गर्दा सुन्नेलाई अप्ठ्यारो हुन सक्छ ।

राम्रै गीत रहे पनि उत्ति राम्रो नसुनिने हुन सक्छ । चलिसकेका गीत प्रस्तुत गर्नु नै कन्सर्टका लागि राम्रो हुने गर्छ, स्टेवार्टले बटुलेको यो अनुभव हो । त्यसैले उनी पहिले ‘ब्लड रेड रोजेस’ नै रिलिज गर्न चाहन्छन् र चाहन्छन्, यी गीतप्रति उनका प्रशंसक अभ्यस्त होओस् । त्यसपछि मात्र यी गीतलाई कन्सर्टमा गाउन चाहन्छन् । स्टेवार्टको यो गज्जब तर्क हो । जति बेला सुन्नेलाई पनि गीतका शब्द याद हुन्छ, त्यति बेला मात्र गाउनेलाई पनि मज्जा हुन्छ ।

स्टेवार्टको फ्यान हो भने यो एल्बम निश्चित रूपमा प्रतीक्षा गर्न लायक हुनेछ । यति बेला एकपल्ट पुराना दिन सम्झँदा ठीकै हुनेछ । ‘न्युज पेपर डेलिभरी ब्वाई’ का रूपमा सानो उमेरमै काम सुरु गरेको स्टेवार्टले सन् सत्तरीतिर प्रसिद्धि कमाउन सुरु गरेका थिए । उनका रेकर्ड्स दस करोडभन्दा बढी बिक्री भइसकेको तथ्यले पनि देखाउँछ, उनी कत्तिको सफल छन् भनेर । उनको प्रख्यात गीत हो, ‘सम गाइज ह्याभ अल द लक ।’ उनी खासमै भाग्यमानी गायक हुन् । यो गीतका शब्द उनको संगीत यात्रामा पनि मिल्छ, भाग्यमानीको अर्थमा ।

twitter : @himeshratna

प्रकाशित : चैत्र २, २०७४ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?