१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

महिलाका कथा

काठमाडौँ — दुई मौन प्राणी । एउटा अमेजन नदीमा फेला परेको आधा माछा र आधा मानिसजस्तो जीव । अर्की वैज्ञानिक प्रयोगशालाकी सफाइ कर्मचारी, जो बोल्न सक्दिनँ । आँखा र हातले उसका भाव व्यक्त गर्छन् । यी दुई जीवबीच कुनै उँचनीचको भावना छैन । कुनै बार–बन्धन छैन । छ त खालि प्रेम ।

महिलाका कथा

के यस्तो हुन सक्छ ? भनिन्छ, कलाले त्यसका पाठक वा दर्शकलाई बेलाबेला आश्चर्यचकित बनाइदिनुपर्छ । एउटा सोच्दा अर्कै चीज पस्किइदिनुपर्छ । यो वर्ष उत्कृष्ट फिल्मको ओस्कर जितेको गुलेर्मो डेल टोरोको फिल्म ‘द सेप अफ वाटर’ ले ठ्याक्कै यही काम गर्छ । ओस्करलाई प्राय: समूह, समाज, राजनीति र क्रान्तिको बदलामा एउटा व्यक्ति, उसको संघर्ष र उसको कल्पनाको संसारका कथालाई प्राथमिकता दिने गरेको आरोप लाग्छ । यसपालि पनि ओस्करले त्यही गर्‍यो । ल्याटिन अमेरिकातिरको मिथलाई समातेर मेक्सिकन–अमेरिकन डेल टोरोले पर्दामा यस्तो जीवको सिर्जना गरिदिए, जसको प्रेममा ओस्कर पनि पर्‍यो ।

यस वर्षको ओस्करमा अर्को चर्चित फिल्म थियो– ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजरी’ । फ्रान्सिस म्याकडोरमन्डले आफ्नो दोस्रो ओस्कर जितेको यो फिल्म थियो सेप अफ वाटरभन्दा ठीक विपरीत यथार्थवादी टोनको । न यो फिल्मको कथा स्वैरकल्पनामा आधारित छ न त कुनै एलियन पात्र नै छन् । नयाँ छ त ती पात्रहरूको सम्बन्ध र अन्तरक्रिया । त्यसबाट उत्पन्न हुने भाव ।

आफ्नी छोरीको बलात्कार र हत्या भएको सात महिनासम्म पनि कुनै कारबाही गर्न नसक्ने प्रहरीसँग बदला लिन आमा नै उत्रिइन् भने के होला ? वा एउटा क्यान्सरसँग जुधिरहेको पुलिस अफिसर ती आमासँग कसरी जुध्ला ? वा एक्ली आमासँग बसिरहेको अर्को अराजक पुलिसले के गर्ला ? दिनदिनै बलात्कारका समाचार आइरहेका बेला यो फिल्मको कथा हामीलाई नयाँ लाग्दैन । खालि पात्र र उनीहरूको व्यवहारचाहिँ भिन्न लाग्न सक्छ ।


यी दुई फरक धारका, दुई फरक शैलीका फिल्मले यसपालिको ओस्करमा आफ्नो प्रभाव जमाए । ‘द सेप अफ वाटर’ ले उत्कृष्ट फिल्म र निर्देशकसहित चार विधामा ओस्कर जित्यो भने ‘थ्री बिलबोर्ड...’ ले अभिनेत्री र सहअभिनेतासहित तीन विधामा ।

यी दुवै फिल्मको एउटा विशेषता के थियो भने, दुवैको केन्द्रमा महिला पात्र छन् । एउटी पात्र न्याय खोजिरहेकी छन् भने अर्की प्रेम । सायद, संसारमा सबभन्दा धेरै खोजिने दुई चीज यिनै होलान् । एउटा फिल्मले महिलाको शक्ति र सहनशीलता प्रदर्शन गर्छ भने अर्कोले उनको करुणा र सहानुभूतिको भाव । ‘द सेप अफ वाटर’ की बोल्न नसक्ने हिरोइनलाई यति धेरै मानवीयकरण गरिएको छ कि उसले एउटा गैरमानवलाई पनि कुनै सुन्दर पुरुषलाई झैं प्रेम गर्न सक्छे । जो हिंस्रक छ, जसको अन्य स्वभावबारे सारा विज्ञान र सुरक्षा टोलीले खतरा महसुस गरिरहेको छ, उसलाई यो महिलाले तुरुन्तै आफ्नो वशमा पारिदिन्छे ।

मार्टिन म्याक्नोडाले निर्देशन गरेको ‘थ्री बिलबोर्ड...’ चाहिँ नारी शक्तिको कथा हो । शक्ति भौतिकमात्र हुँदैन । यो बढी आत्मबलको कुरा हो । एउटी एक्ली महिलाले आफ्नो आत्मबल र सत्यको सहाराले के–के कुरामा बदलाव ल्याउन सक्छिन् भन्ने यो फिल्मले देखाउँछ ।

यस वर्ष ओस्करमा अर्को फिल्म ‘लेडी बर्ड’ पनि थुप्रै विधामा मनोनीत भएको थियो । यो फिल्म पनि महिलाकै कथा थियो । महिलाले नै निर्देशन गरेको यो फिल्म निर्देशक (ग्रेटा गेरिङ) का साथै उत्कृष्ट अभिनेत्री र सहअभिनेत्रीमा पनि मनोनीत थियो ।

[email protected]

प्रकाशित : चैत्र ९, २०७४ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?