१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बिर्तामोडमा कफीको स्वाद

काठमाडौँ — राजधानीबाहिर, अझ भर्खरै हुर्किंदै गरेको सहर बिर्तामोड, झापामा विशुद्ध कफीको मात्रै व्यवसाय गरेर गुजारा गर्नु चुनौतीपूर्ण छ । यही चुनौतीभित्र प्रचुर सम्भावना देख्ने पनि छन् । रामप्रसाद गौतम यस्तै व्यक्तित्व हुन्, जसले १६ महिनाअघि बिर्तामोडमा कफी हाउस सुरु गरेका थिए ।

बिर्तामोडमा कफीको स्वाद

करिब दस वर्ष खाडी मुलुकहरूमा बिताएका रामले त्यहाँ सिकेको सीपलाई नेपालमा उपयोग गरेका छन् । खाडीमा रहँदा यिनको जागिर थियो, कफी रिटेलमा । उनले विश्वकै ठूलो मल्टिनेसनल चेनका रूपमा रहेका स्टारबक्स, ग्लोरिडिङ्समा पनि काम गरे ।

उनी कफीको खपत देखेर चकित परेछन् । स्वदेश फर्केर के गर्ने होला भन्ने अन्योलले उनको मनमा धेरै समय डेरा जमायो । उनले केही पैसा पनि भित्र्याएका थिए । उनलाई विदेशमा सिकेको सीप उपयोग गर्छु भन्ने लागेछ । र, उनले झापामा कफीको बजार सम्भावना अध्ययन गरे । कफी मात्रै बिक्री गरेर सम्भव होला त ? गाह्रो थियो । तैपनि उनले ‘द थर्ड होम कफी हाउस’ सञ्चालनमा ल्याए । ‘खासमा मैले कफी हाउसको नाममा जुवा खेलेको थिएँ,’ रामले भने, ‘तर अहिले जुवा खेलेको रहेनछु भन्ने निष्कर्षमा पुग्न लागेको छु ।’

झापामा कफी पिउने संस्कृति बन्ने सम्भावना उनले देखेका छन् । बढ्दो आर्थिक प्रभावसँगै झापाली जीवनशैली परिवर्तन भइहेको छ । युवालाई लक्षित गरी सुरु गरिएको कफी हाउस छोटो समयमै लोकप्रिय भएको छ । ‘पूर्वका विभिन्न सहरदेखि भारतीय पर्यटकसमेत कफी पिउन आउँछन्,’ रामले बताए ।

चिटिक्क परेको कफी हाउसमा सानो पुस्तकालय पनि छ । अन्तर्राष्ट्रिय बजारमा चलेका कफी थर्ड होमले उपलब्ध गराइरहेको छ । यहाँ कफी मात्रै पाइन्छ र त्यो पनि करिब ५० स्वादमा । क्यापचिनो, क्याफेलाते, क्याफेमोका, एक्सप्रेसो, क्यारामल मकियातो, अमेरिकानोको माग उच्च रहेको बताइन्छ । एक सय १० रुपैयाँको डबल एक्स्प्रेसोदेखि ५ सय ५० रुपैयाँको एस्प्रेसो मार्टिनीसम्म यहाँ पाइन्छ ।

यस कफी हाउसमा आयात गरिएका कफी मात्र होइन, आफ्नै देशको उत्पादन पनि पाइन्छन् । स्याङ््जा, गुल्मी, अर्घाखाँचीमा उत्पादित कफी पनि बिक्री गरिन्छ । नेपाली कफीको स्वाद चाख्न रैथाने ग्राहक त छँदैछन्, विदेशी पनि बेलाबेला खोज्ने गर्छन् । रामका अनुसार नेपाली कफी विश्वमै स्वादिलो मानिन्छ । तर, निर्यात गरिने कफी आफ्नै देशमा भने निकै कम खपत हुन्छ । ‘नेपाली कफीको उत्पादनलाई थप प्रवद्र्धन गर्दा देशलाई नै फाइदा हुन्छ,’ रामले भने, ‘नेपालमा ९० प्रतिशत बढी चियाका पारखी छन् । चियासँगै कफी पिउने चलन पनि बढिरहेको छ ।’

– पर्वत

प्रकाशित : चैत्र ९, २०७४ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?