कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ब्युँतिँदै पोखरेली पप

काठमाडौँ — दशक अघिसम्म पोखराको पप संगीत खुबै चर्चित थियो । एकल गायन र ब्यान्डहरु निकै चलेका थिए । साठीको दशक भने यहाँको सांगीतिक माहोल सुस्तायो । अहिले फेरि ब्युँतिने प्रयासमा छ । यसबारे राजाराम पौडेल लेख्छन् :

ब्युँतिँदै पोखरेली पप

पोखराका केही उत्साहित युवा मिलेर २०४५ सालमा ‘पिस ह्यांकी’ क्लब गठन गरेका थिए । त्यसमा सुनील थापा, विवेक श्रेष्ठ, अम्मर गुरुङ, रवीन पुनलगायतका झन्डै ५० युवा थिए । क्लबमा सांगीतिक क्षेत्रमा रुचि भएका व्यक्तिहरूको बाहुल्य थियो । क्लब गठनसँगै सांगीतिक कार्यक्रम सञ्चालन हुन थाल्यो । तिहारमा देउसीभैलो खेली त्यहींबाट आएको पैसाले भारतको सिलिगुडी गएर ड्रम–सेट, गितार किनेर क्लबलाई ‘पिस ह्यांकी’ ब्यान्डमा स्थापित गरियो । यस ब्यान्डले थुप्रै गीत गाएको छ, त्यसमध्ये ‘मेरी मायालु...’ खुबै चर्चित भयो ।

पिस ह्यांकी निरन्तर सक्रिय नभए पनि यस ब्यान्डको स्थापनापछि पोखरामा सांगीतिक समूहको ओइरो नै लाग्यो । गीत रेकर्डिङ गर्ने र एल्बम बजारमा ल्याउने यहाँको पहिलो ब्यान्ड बन्यो, योङ टाइगर । यसले ‘एक्लो जीवन’ एल्बम बजारमा ल्याएको थियो । उसका भोकलिस्ट पृथ्वीमान गुरुङ गीत रेकर्डिङ गर्ने पहिलो गायक बनेका थिए । त्यसपछि त पोखरामा ब्यान्डको संख्या ह्वात्तै बढ्यो । गीत रेकर्डिङ गर्ने र एल्बम निकाल्ने सामान्य नै हुन थाल्यो ।

पोखराले एक समय नेपाली संगीतमा सानदार उपस्थिति जनाएको थियो । दैनिकजसो नै नयाँ गीत रेकर्डिङ गर्दै बजारमा आउन थालेको थियो । कन्सर्ट पनि दैनिक नै हुन्थ्यो । २०५७–५८ पछि फेरि पोखराको पप गायन सुक्न थाल्यो । ब्यान्ड खोलेकाहरू विदेशिनु नै त्यसको मुख्य कारण थियो । अहिले फेरि नयाँसँगै पुराना ब्यान्डका सदस्यहरू सक्रिय हुन थालेका छन् । त्यसले पोखरेली पप संगीत फेरि ब्युँतिने संकेत दिएको छ ।

लोकलयमा आधारित पप गीतमार्फत निरन्तर सक्रिय बनेको नेपथ्य ब्यान्ड पोखराको सान हो । नेपथ्यले निरन्तर रूपमा आफ्नो प्रभावशाली उपस्थिति देखाइरहेको छ । द एजको प्रस्तुतिलाई रुचाउने पनि उत्तिकै छन् । पोखराको पहिलो र्‍याप ब्यान्डका रूपमा स्थापित डि–मोर्चाले निरन्तर आफ्ना रचना पस्किरहेको छ । नेपाली पप क्षेत्रमा स्थापित बने पनि कन्दरा निरन्तर सक्रिय थिएन । गायक विवेक श्रेष्ठ बेलायतबाट तीन वर्षअघि फर्केसँगै कन्दरा पनि जागेको छ । यस ब्यान्डले विभिन्न बाजाको धुनमार्फत नयाँपन दिन खोजेको छ । ‘फ्रन्टम्यान’ शान्त बज्राचार्य पनि देउराली ब्यान्डलाई पुन: क्रियाशील बनाउन लागिपरेका छन् ।

‘खुबै चर्चामा रहेको समयमा विदेश गएका थियौं । आर्थिक अवस्थाका कारण जानुपरेको थियो । त्यसैले पोखराको पप संगीत केही खस्किनुमा हाम्रो पनि दोष छ,’ कन्दराका भोकलिस्ट विवेक श्रेष्ठले भने, ‘अब फर्किएको छु । अरू पनि फर्कंदैछन् । हामी सबै मिलेर पोखरेली पपलाई अगाडि बढाउने छौं ।’

पोखराका सक्रिय महिला कलाकारद्वारा स्थापित समूह ‘हार्मोनी’ ले विभिन्न कार्यक्रममार्फत सांगीतिक क्षेत्रमा आफूलाई बलियो रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । द ड्रिमर्ज, द स्कार्च जोर्नी, निनाद, द न्यु विगनर, देश्ना, अदृश्य किरण, ट्रायो माइल्स, ब्ल्यांक पेपर, ओभी र्‍यापर्स, अराइज, जि–नाइन, रावण, आत्मसर्गलगायतको सक्रियताले पनि पोखरेली पपमा फेरि आशा जगाएको हो । यी ब्यान्डको जुट्ने–फुट्ने क्रम चलिरहन्छ । धेरैले साँझ–रातमा रेस्टुराँ–बारमा लाइभ म्युजिक प्रस्तुत गरिरहेका छन् ।

अमेरिकाबाट फर्किएपछि सक्रियता बढाएका कर्णदासले पनि पोखरेली संगीतकर्मीलाई उत्साहित बनाएको छ । गायक रामभक्त जोजिजुको पोखरा आगमनसँगै बढेको सक्रियता, विनोद बानियाँको निरन्तरता, र्‍यापर आशिष राना ‘लाहुरे’ को नयाँ प्रयोगले पोखरालाई चर्चामा ल्याइरहेका छन् । श्यामसुङ तामाङ, धर्मेन्द्र सेवनसँगै नेपाल आइडलका विजेता बुद्ध लामाको आगमनले पनि नेपाली संगीतमा पोखरेली प्रभाव बढाएको छ । देउराली ब्यान्डबाट बाहिरिएका आनन्द बज्राचार्य तथा प्रयत्न श्रेष्ठ, सागर शाह, ओम गुरुङ, सन्तोष बस्याल, कपिल पुन, कौशल्या गुरुङ, अजुदा थापा, रजनी हृदम राई, माया पुन, इतु जोजिजु, विमल पराजुली, प्रिया गुरुङ पनि अगाडि बढिरहेका छन् ।

पोखरामा स्थापना भएका पछ्यौरी, लेकाली, ब्रोसिस, नमस्ते, भ्यागवोन, मोक्ष, तन्त्र, पखेरी, बफिन्स–९८, मंगोल्स, द संस्कार, प्रयास, ग्रुर्मिङ रोज, मनसाय, परिवेश, पञ्चासे, रियाज, इसाबेला, उद्वेग, जी–नाइन पनि एक समय खुबै जमेका थिए । यसमध्ये केही ब्यान्ड फेरि संगीतमा फर्कने तयारीमा लागेका छन् । सोवित बस्याल, सिडी विजय अधिकारी, गंगाधर पराजुली, नरजंग गुरुङ, मनोज गुरुङ, विनित जोजिजु, अरविन तुलाचन, सर्वज्ञमान शाक्य, सन्तोष कोन्मे, दीपराज थापा पनि सक्रिय छन् । यहाँ अन्डरग्राउन्ड ब्यान्डको संख्या पनि थुप्रै छ । पोखरामा करिब ४० वटा ब्यान्ड अहिले सक्रिय छन् ।

प्रकाशित : चैत्र १६, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?