कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उपाध्यक्ष सुश्रीहरू

दुर्गम क्षेत्रका तीनवटा गाउँपालिकाका उपाध्यक्ष ‘सृजना’ हरु भन्छन्, ‘कम्तीमा ५ वर्ष बिहेका बारेमा नसोध्नुस्, त्यसपछि कुरो गरम्ला ।’

काठमाडौँ — संयोग जस्तै भयो, तीनजना सुश्री ‘सृजना’ हरू काठमाडौंमा भेटिए । तीनैजना गाउँपालिकाका निर्वाचित उपाध्यक्ष हुन् र ३० वर्ष नकटेका ।

उपाध्यक्ष सुश्रीहरू

‘यतिमध्ये सबैभन्दा विकट गाउँकी उपाध्यक्ष म नै होला,’ सिन्धुपाल्चोकको पल्लो कुनोमा रहेको जुगल गाउँपालिकाकी २३ वर्षीया उपाध्यक्ष सृजना तामाङले सुनाइन्– ‘आफ्नो गाउँमा बाटो, बिजुली, फोन केही छैन । कठिन स्थिति भए पनि माथि तेम्बाथाङतिर हामी हाँसी–खुसी बाँचिरहेका छौं ।’

चाबहिलको पशुपति क्याम्पसबाट स्नातक गरेकी सृजना भाडाकै गाउँपालिकामा बसेर कामकाज चलाइरहे पनि ५ वर्षभित्र ‘एउटी सुश्री उपाध्यक्षले पनि धेरै काम गर्न सक्ने रहिछे’ भनेर देखाउन चाहन्छिन् ।
रसुवा, नौकुण्ड गाउँपालिकाकी २२ वर्षीया सिर्जना लामा सबैभन्दा कान्छी ‘सुश्री उपाध्यक्ष’ रहिछन् । ‘विकटकै कुरा गर्ने हो भने मेरो गाउँ पनि उस्तै छ,’ सिर्जनाले भनिन्, ‘तर, कम्तीमा अब मेरो कार्यकालमा गाउँपालिकाका सबै वार्डमा बाटो पुर्‍याउने अठोट लिएकी छु ।’ यी उपाध्यक्ष सिर्जना पनि बीए उत्तीर्ण हुन्, बोलचालमा एकदमै सचेत लाग्छिन् । उनका बुबा लवङ मुर्गु लामा पनि २०५४ सालमा वडाध्यक्ष बनेका थिए । त्यही घरेलु प्रभाव र समाजसेवाको रसमा डुबेर क्याम्पस पढ्दापढ्दै राजनीतिमा लागेकी सिर्जना एमालेबाट निर्वाचित उपाध्यक्ष भएकी हुन् ।


म्याग्दीको मंगला गाउँपालिकाकी उपाध्यक्ष सृजना केसी भने भर्खरै ३० वर्ष लागेकी छिन् । पढाइमा एमएड उत्तीर्ण सृजनाका लागि परिवारबाट शिक्षक बन्ने दबाब आए पनि रुचि र माहोलले उनलाई राजनीतिमा तानेको रहेछ । ‘मेरो बुबा पनि शिक्षक हुनुहुन्छ, मलाई पनि शिक्षक बन्नुपर्ने भनेर दबाब आएपछि शिक्षण लाइसेन्ससमेत लिए,’ उनले सुनाइन्, ‘तर, समाजसेवामा जोडिएको आफ्नो सानैदेखिको अभिरुचिका कारण राजनीतिमा लागेकी हुँ ।’


जुगल गाउँपालिकाकी सृजनाका अनुसार उनको गाउँ चीनको सीमावर्ती बिन्दुमा छ । इतिहासमा व्यापारको नाका रहेको ‘कुती’ सँग जुगल हिमाल जोडिएको छ । ‘हामीकहाँ ढुंगाखानी छ, जडिबुटी मुहान छ, भैरवकुण्ड जस्तो पर्यटकीय गन्तव्य छ । यसकारण पनि हाम्रो भविष्य राम्रो छ,’ सृजनाले सुनाइन्– ‘अरूभन्दा पनि पहिलो चरणमा तेम्बाथाङसम्म जाने बाटो र टेलिफोन सेवा जोड्नका लागि दौडधुप गरिरहेकी छु ।’ उनका अनुसार, गाउँपालिकामध्ये सबैभन्दा पहिलोपटक शिक्षाको ऐन बनाउने र त्यसलाई लागू गराउने जुगल गाउँपालिका भएकाले ‘चेतना विस्तार’ गराउने ध्याउन्न सबैमा रहेको स्थिति छ । गाउँमा रहेका अधिकांश युवायुवती विदेश गइरहेको र गाउँमा गर्न सकिने सम्भावनाका कामकुराहरू अल्झिरहेको उनको बुझाइ छ ।


जुगल हिमालको सीमामा द्विदेशीय व्यापार नाका खोल्ने भनेर हिमालमुनि १२ किलोमिटर सुरुङ खन्नेबारे चिनियाँ पक्षबाट अध्ययन भइरहेको उपाध्यक्ष सृजनाले जानकारी दिइन् । ‘हाम्रो गाउँको दु:ख के हो, मैले राम्ररी बुझेकी छु,’ उनी सुनाउँछिन्, ‘अब आफ्नो गाउँलाई आत्मनिर्भर बनाउन र जुगललाई चिनाउन लागिरहेकी छु ।’


काठमाडौंमा सोमबार सम्पन्न गाउँपालिका राष्ट्रिय महासंघको भेलामा देशभरका ४ सय ६० गाउँपालिकाबाट आएका प्रतिनिधिमध्ये यी तीन सृजनाहरू प्रतिनिधि पात्र मात्रै हुन् । म्याग्दीको मंगला गाउँपालिकाकी उपाध्यक्ष सृजनाका बुझाइमा गाउँपालिकामा उपाध्यक्षका लागि ‘न्यायिक समिति’ सहितका अधिकार कार्यक्षेत्रहरू दिए पनि अझै महिलालाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आइनसकेको बताइन् । ‘हामी महिलाले पनि आरक्षण मात्रै भन्नु हुँदैन, कामका आधारमा आफूलाई पुष्टि गर्न सक्नुपर्छ,’ उनले भनिन् । उनका निम्ति गाउँमा सबैभन्दा जटिल समस्या भनेको ‘महिलामाथि हुने हिंसा’ नै हो । र, महिलालाई सशक्त बनाउन चाहेमा क्षमता विस्तार गर्ने/गराउनेभन्दा पनि ‘कति पैसा पाइन्छ ?’ (पैसामुखी) भन्ने सोच निकै हावी रहेको अर्को कठिनाइ उनले सुनाइन् ।


रसुवा, नौकुण्ड गाउँपालिकामा भने मुख्य समस्या बहुविवाहको रहेछ । ‘आफ्नी श्रीमतीलाई जानीजानी विदेश पठाउने र अर्कै बिहे गरेर यता बस्ने चलनजस्तै गाउँमा भइसक्यो,’ उपाध्यक्ष सृजनाले सुनाइन्, ‘अब यसमा रोजगारीबारेको सूचना, कानुनी कडाइ र कारबाहीको उपाय खोज्दैछु ।’ स्थानीय तहमा न्यायिक कार्यको नेतृत्व उपाध्यक्षमै जिम्मेवारीमा पर्छ ।


कामबारे त कुरा भए, अब सुश्री उपाध्यक्षहरू भने कहिले बिहे गर्ने ? तीनै सुश्री उपाध्यक्षहरूलाई साझा प्रश्न गरिँदा जवाफ पनि साझा नै आयो, ‘कम्तीमा ५ वर्ष बिहेका बारेमा नसोध्नुस्, त्यसपछि कुरो गरम्ला ।’

प्रकाशित : चैत्र २३, २०७४ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?