२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सारथिमा सरर...

रात–बेरात, हुरी–झरी र चाड–बाडका बेला ट्याक्सी चालकले मनपरी असुल्ने भाडाबाट केही हदसम्म भए पनि मुक्ति दिएको छ सारथिले ।
स्वरूप आचार्य

काठमाडौँ — हेलो, म तपाईंको सारथि ।’
यो आवाज कतै सुनिएको छ ?

सारथिमा सरर...

काठमाडौं उपत्यकामा बसेर ट्याक्सी चढ्ने बानी परेकालाई भने यो आवाज पक्कै पनि नौलो होइन । यो आवाज ट्याक्सी चढ्ने नयाँ तरिकाको कल सेन्टरमा रहेका प्रतिनिधिको हो । हप्ताको सातै दिन र २४ घण्टा नै खुल्ने यो कल सेन्टरमा फोन गरेर ट्याक्सी बोलाउन सकिन्छ । आफ्नै घर–दैलोसम्म नै ट्याक्सी आइपुग्छ र भनेको गन्तव्यमा छोडिदिन्छ पनि ।


लाग्छ, यसको अतिरिक्त शुल्क पनि त लिन्छ । तर त्यसो होइन, यो सबै सुविधा लिएबापत आफूले चढेको ठाउँबाट ओर्लिने ठाउँसम्ममा ट्याक्सीको मिटरमा उठेको पैसामात्रै तिरे पुग्छ । नौ महिनायता काठमाडौं उपत्यकावासीलाई ट्याक्सी चढ्नुको नयाँ शैली सिकाइरहेको एउटा स्टार्टअप कम्पनी हो– सारथि । यस कम्पनीको नामले नै वास्तवमै कामलाई अर्थ्याउँछ ।


दुई साथी मिलेर सुरु गरेको सारथिले धेरै उपत्यकावासीलाई आफ्नो गन्तव्यमा सुरक्षित पुर्‍याइसकेको छ । ट्याक्सी धनी, चालक र यात्रुबीच रहेको वैमनस्यता हटाउँदै यात्रालाई सुलभ, सुरक्षित र आरामदायी बनाउने सोचका साथ खुलेको कम्पनी आफ्नो वाचालाई हालसम्म पूर्ण रूपले पालना गरेको छ । रात–बेरात, हुरी–झरी र चाड–बाडका बेला ट्याक्सी चालकले मनपरी असुल्ने भाडाबाट केही हदसम्म भए पनि मुक्ति दिएको छ सारथिले ।


डिजिटल मार्केटिङमा पोख्त रवि सिंघल र अटोमेसन सफ्टवेयर बनाउन माहिर प्रकाश न्यौपानेले त्यो गरेर देखाइदिएका छन्, जुन धेरैका लागि फलामको चिउरा साबित भएको थियो । उनीहरूले भने जुन जोश र आँटले यसलाई सफलता उन्मुख बनाए त्यो देखेर ट्याक्सी व्यवसायलाई नजिकबाट बुझेकाहरूको सेखी झरेको छ । ‘हामीले नयाँ केही गरेकै होइनौं,’ कफीको चुस्कीसँगै मीठो मुस्कान साथ रविले भने, ‘यस्ता कम्पनी हामीभन्दा अघि पनि थिए, हामी पछि पनि खुलेका छन् । हामीले त ती कम्पनीहरू खुल्नु र बन्द हुनुको रहस्य खोजेर त्यसलाई सुधार गरेर अगाडि बढेका मात्रै हौं ।’


रविका अनुसार ट्याक्सीमा सबैले सहज यात्रा गर्न पाऊन् भनेर सुरु भएको सोचले नै सारथिको रूप लिएको हो । ‘हामीले कम्पनी सुरु गर्नुअघि ६ महिनामा २५ हजार मानिससँग गफ गर्‍यौं । जसमध्ये ६० प्रतिशत ट्याक्सी ड्राइभर थिए, ३० प्रतिशत ट्याक्सी धनी र १० प्रतिशत यात्रु,’ उनले भने, ‘त्यही गफले नै हामीलाई आजको दिनसम्म हिँड्ने बाटो पहिल्याउन सिकायो ।’


ड्राइभरलाई ‘ठग’ उपनामबाट छुटकारा, ट्याक्सी धनीलाई दिनहुँ ड्राइभरसँग भाडाका लागि गर्नुपर्ने रडाकोबाट मुक्ति र यात्रुलाई मिटरमा सहज–सुविधाजनक यात्रा चाहिएको थियो । ‘हामीले केवल चालकलाई सम्मानजनक नाम, ट्याक्सी धनीलाई एकमुष्ट मासिक भाडा र यात्रुलाई भनेको ठाउँमा मिटरमा जाने ट्याक्सीको व्यवस्था मात्र गरेका हौं,’ रविले भने, ‘हाम्रा उपभोक्तहरूको कुरा छिनछिनमा फेरिन्छन् । एपबाट बोलाउँदा समयमा आएन भने यात्रुको सोच फेरिन बेर लाग्दैन । त्यसैले हामीलाई अहिले पनि कल सेन्टरबाट मोबाइल एपमा जान डर लाग्छ ।’


उनको बुझाइमा कल सेन्टरमा आउने अनेक प्रकारका फोनले यात्रुलाई कहाँ कस्तो समयमा धेरै ट्याक्सीको आवश्यकता हुन्छ भन्ने डाटाबेस तयार पार्न मद्दत पुगेको छ भने अर्कोतर्फ उनीहरूका व्यवहारबारे पनि धेरै कुरा थाहा भएको छ । रविका अनुसार सुरुमा ट्याक्सीको सबै व्ययभार कम्पनीले नै बेहोर्ने गरे पनि अहिले त्यसलाई परिवर्तन गरेर ‘रेभेन्यु सेयरिङ’ मोडल सुरु गरेको छ । ‘अब हामीकहाँ कुनै पनि ट्याक्सी आबद्ध हुन सक्छ,’ उनले भने, ‘हामीले यात्रुलाई दिन चाहेको सुविधा र गुणस्तरमा भने सम्झौता गर्न पाइन्न ।’


उनका योजना भनेकै काठमाडौंमा गुड्ने धेरै ट्याक्सीलाई आफ्नो कम्पनीमा जोड्नु र कुनै पनि यात्रुको यात्रालाई सहज बनाउनु नै हो । ‘हामी विभिन्न रेभेन्यु सेयरिङ मोडलमा ट्याक्सीहरूसँग सम्झौता गर्छौं,’ उनले भने, ‘हामीसँग सम्झौता गरे पनि आफ्नो तरिकाले ट्याक्सी चलाउन पाइन्छ । तर ट्याक्सीमा एकपटक हाम्रो सिस्टम अन गरेपछि भने हाम्रो कम्पनीको नियमसँग सम्झौता हुँदैन ।’


उनका अनुसार हाल दिनमा सारथिको कल सेन्टरमा पाँच हजार बढीले ‘ट्याक्सी चाहियो’ भनेर कल गर्छन् । जसमध्ये मात्र १५ सय जतिलाई कम्पनीले ट्याक्सी उपलब्ध गराउन सकेको छ । त्यसैले पनि अधिक ट्याक्सी आफ्नो सिस्टममा आबद्ध हुन् भन्ने उनको चाहना रहेको छ ।


‘एकपटक म र प्रकाश दरबारमार्गमा उभिरहेका थियौं । हाम्रा अगाडि एकजनाले ट्याक्सी रोके र बार्गेनिङ गर्न थाले,’ रविले भने, ‘ट्याक्सीले धेरै नै भने छ क्यारे १ उनले ‘लाने भए मिटरमा लग नत्र सारथि बोलाउँछु’ भने । ट्याक्सी मिटरमै गयो । हाम्रो मन गर्वले ढक्क फुल्यो । हामीले चाहेकै त्यही त हो ।’ उनले थपे, ‘यस्ता यात्रुले कल सेन्टरमा फोन गर्दा ट्याक्सी दिन सकिएन भनेचाहिँ दु:ख लाग्छ । त्यसैले हाम्रो सञ्जाल अझै बढाउनु छ ।’


उनका अनुसार अहिले सारथिको पूर्ण नियन्त्रणमा ४२ वटा ट्याक्सी छन् भने १ सय बढी ट्याक्सीमा सिस्टम जडान गरिएको छ । ट्याक्सीको संख्या बढेसँगै यो साताबाटै सारथिले मोबाइलबाटै गाडी बोलाउन मिल्ने गरी एप सार्वजनिक गर्दै छ । त्यसपछिको कम्पनीको योजना भने काठमाडौंको ट्राफिक छल्दै मोटरसाइकलको सवारी पनि छ ।

प्रकाशित : वैशाख १४, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?