कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

द कार्सको प्रभाव

‘हामीमध्ये कोही एक मात्र नहुँदो हो त द कार्स कसरी सम्भव हुन्थ्यो ।’

काठमाडौँ — सन् सत्तरी र अस्सीको दशक पश्चिमेली संगीतमा तहल्का मच्चाएको अमेरिकी ब्यान्ड ‘द कार्स’ लाई रक एन्ड रोल हल अफ फेमबाट सम्मानित गरिएको छ । यस ब्यान्डबारे हिमेश लेख्छन् :

द कार्सको प्रभाव

धेरै होइन, सात वर्ष भइसकेको रहेछ, ‘द कार्स’का सदस्यले सँगै मिलेर स्टेज तताएको । केही दिन अगाडि उनीहरू साँच्चै के एकै स्थानमा भेला भएर प्रस्तुत भए, धेरैले पुराना दिन सम्झेर भने होलान, ‘वाह, क्या ब्यान्ड थियो ।’ अवसर पनि गज्जब थियो, द कार्सलाई ‘रक एन्ड रोल हल अफ फेम’ दिने कार्यक्रम । पश्चिमेली संगीतकै महान समूहमा प्रवेश पाएपछि ब्यान्डका सदस्यलाई पनि लाग्दो हो, जमानामा आफूले केही गरेकै रहेछ ।


‘रक एन्ड रोल हल अफ फेम’ मा प्रवेश पाएपछि सबै सँगै मिलेर गाउन बजाउन पर्‍यो नै । त्यसो त सन् २००४ मै यो सम्मानका लागि द कार्स योग्य भइसकेको थियो । अनि २०१६ र २०१७ मा उनीहरू मनोनयनमा पनि परे तर अवार्ड थाप्ने पालो भने २०१८ मा मात्र आएर पाए । यस्तोमा अब इतिहासको पानामा नाम छुटाइने छैन, ब्यान्डका सदस्यहरूको । उनीहरू हुन्, रिक ओकासेक, इलिट इस्टन, ग्रेग हवाक्स, डेविड रोबिन्सन । र, दिवंगत भइसकेका बेन्जामिन ओर ।
बास गितारिस्ट ओरको सन् २००० मा मृत्यु भएको थियो । अचेल हवाक्सले किबोर्डसँगै बास गितार पनि सम्हाल्ने गर्छन् । ‘जस्तै अवार्ड पाए पनि खुसी त हुन्छ नै,’ रक एन्ड रोल हल अफ फेमको सम्मानपछि ओकासेकले भनेका छन्, ‘खास विशेष अनुभव हुन्छ । यसअघि यस्तै अवार्ड पाएको सूची हेर्दा पुग्छ, उनीहरू कति महान् थिए । अहिले त्यही सूचीमा हामी पनि प्रवेश गरेका छौं, साह्रै भावुक भएका छौं ।’


अवार्ड थाप्ने क्रममा प्रत्येक सदस्यले ब्यान्डका अरू साथीबारे केही न केही बोले र साँच्चै भावुक बने । ब्यान्डबाट छुट्टिँदा एकअर्कालाई गाली गर्नसमेत पछाडि नपरेका उनीहरूले यसपल्ट भने खालि मीठा शब्द मात्र बोले । ‘हामीमध्ये कोही एक मात्र नहुँदो हो त द कार्स कसरी सम्भव हुन्थ्यो,’ उनीहरू सबैको आसय यस्तै यस्तै थियो । अब त केसम्म भएको छ भने कतै ब्यान्ड फेरि पुनर्मिलन हुने त होइन ? अवार्डपछि त्यो सम्भावना पनि खुलेको छ ।


एकपल्ट ब्यान्ड टुटेपछि ओकासेक आफैं त्यसलाई फेरि जोड्ने पक्षमा थिएनन् । सायद यसपल्ट उनको मन पनि फेरिएको छ कि ? अवार्ड समारोहमा ब्यान्डका ‘फ्रन्टम्यान’ ओकासेकले लगभग सबै चर्चित गीत गाए । जस्तै, ‘यु माइट थिंक’, ‘मोभिङ इन स्टेरियो’, ‘जस्ट ह्वाट आई निडेड’, ‘माई बेस्ट फ्रेन्ड्स गर्ल’ आदि आदि ।


जसले अहिलेसम्म यो ब्यान्डलाई फलो गरेको छैन, उनीहरूलाई लाग्दो हो, किन द कार्स ‘रक एन्ड रोल हल अफ फेम’ मा पर्‍यो त ? के योगदान छ त उनीहरूको ? सन् १९७६ मा द कार्सको स्थापना भएको थियो, उनीहरू सन् १९८८ सम्म खुबै सक्रिय रहे । त्यसपछि हराए । फेरि २०१० तिर सक्रिय हुने प्रयास भयो, त्यो खालि एक वर्ष मात्र टिक्यो । सन् सत्तरीतिर अमेरिकाको बोस्टन म्यासाच्युसेटबाट निस्केका धेरै संगीत समूहमध्ये द कार्स पनि एक हो, जसले पश्चिमेली संगीतमा ठूलो छाप छाडेको इतिहास पाइन्छ ।


त्यति बेला पश्चिमेली संगीत एकपछि अर्को ठूल्ठूला परीक्षणबाट गुज्रिरहेको थियो । त्यसमा एक थियो, गितार बाहुल्य रहेको रक संगीतमा ‘सिन्थेसाइजर’ को प्रवेश । रकमा पपको मिठास प्रवेश गराउने मोड थियो, त्यो । त्यसैले त्यति बेला यो ब्यान्डबारे केही भन्नुपर्दा प्राय: भन्ने गरिन्थ्यो, ‘न्यु वेभ’ । यसैमा द कार्सले महारथ प्राप्त गरे र यसै एक कारणले उनीहरूलाई सम्झे, पर्याप्त हुन्छ । उनीहरूकै प्रभावमा सन् अस्सी र नब्बेतिर अरू ब्यान्ड पनि बने । भनिन्छ, निर्वाणा र यसका फ्रन्टम्यान कर्क कोबिनमाथि द कार्सको खास प्रभाव थियो ।

प्रकाशित : वैशाख १४, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?